नेपालको संविधानबारे अन्तर्राष्ट्रिय सम्मेलन हुँदै
नेपालको संविधानको अन्तरवस्तु र कार्यान्वयनबारे अन्तर्राष्ट्रिय सम्मेलन शनिबार, २६ साउनदेखि काठमाडौंमा शुरु हुने भएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने उक्त सम्मेलनको समापन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।
सम्मेलनमा नेपाल लगायत विभिन्न देशका संविधानविद्, वकिल, राजनीतिज्ञ, समाजशास्त्री र अभियन्ताहरुको सहभागिता रहनेछ । त्यसैगरी प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसद, तत्कालीन संविधानसभाका सदस्य र सातै प्रदेशका प्रतिनिधिहरुको पनि सम्मेलनमा सहभागिता रहने जनाइएको छ ।
उदघाटन सत्रलाई तत्कालीन संविधानसभाका अध्यक्ष सुवास चन्द्र नेम्वाङ र बाङ्लादेशको संविधान निर्माता एवम् न्यायविद् कमाल हुसैनले पनि संवोधन गर्नेछन् ।
सम्मेलनमा संविधानवाद र विधिशास्त्रका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विशेषज्ञहरु पनि सहभागी हुनेछन् ।
सम्मेलन काठमाडौं विश्वविद्यालय स्कूल अफ ल र साउथ एशिया ट्रष्टको संयुक्त आयोजनामा हुने भएको हो ।
काठमाडौं विश्वविद्यालयका उपकुलपति डा रामकण्ठ माकजु भन्छन, “यो सम्मेलनले नयाँ संविधानको अक्षर र भावनालाई अझ राम्रो तरिकाले बुझ्न सहयोग पुग्नेछ, ताकी सूचित अभ्यास, कानूनको कार्यान्वयन, वौद्धिक विमर्श र जनसूचनाका आधारमा यसको कार्यान्वयनलाई प्रवद्र्धन गर्न सकियोस् ।”
सम्मेलनका संयोजक एवम् काठमाडौं विश्वविद्यालय, स्कूल अफ लका डीन डा. विपिन अधिकारी नयाँ संविधानबारेको विमर्शलाई प्रवद्र्धन गर्न आगामी दिनमा विभिन्न क्रियाकलाप र प्रकाशनका शृंखलाहरु शुरु गर्ने योजना रहेको बताउँछन् । उनी भन्छन, “संविधानबारेको यो विमर्शले हामीलाई सरकारको सहयोगमा संविधान र संविधानवादको केन्द्र स्थापनाका लागि अग्रसर बनाउने छ ।”