कला/साहित्यबिहिवार, श्रावण २४, २०७५

'धडक' पछि श्रीदेवीकी छोरीलाई मल्टिस्टारर फिल्मको अवसर

हिमालखबर

डेब्यू फिल्मबाटै जाह्नवी कपूरले यतिबेला बलिउडमा तारिफ बटुलिरहेकी छन् । 'धडक' फिल्मका लागि राम्रो प्रतिक्रिया पाएकी उनको पोल्टोमा अर्को ठूलो प्रोजेक्ट आएको छ ।

करण जौहरले निर्देशन गर्ने ऐतिहासिक विषयको फिल्म 'तख्त' मा जाह्नवी अनुबन्धित भएकी हुन् । फिल्ममा रणवीर सिंह, करिना कपूर खान, आलिया भट्ट र अनिल कपूर जस्ता स्टार कलाकारहरु देखिनेछन् । यस्तै, भूमि पेडनेकर, विक्की कौशल पनि मुख्य भूमिकामा देखिनेछन् ।

करणले बिहीबार ट्विट गर्दै लेखेका छन्, "तख्तमा रणवीर सिंह, करिना कपूर खान, आलिया भट्ट, विक्की कौशल, भूमि पेडनेकर, जाह्नवी कपूर, अनिल कपूर जस्ता मुख्य कलाकारको जमघटका कारण म निकै उत्साहित छु ।"

जाह्नवीले 'तख्त' फिल्मको हिस्सा बन्न पाउँदा खुसी प्रकट गर्दै यति ठूलो फिल्मसँग जोडिन पाउँदा आफूलाई भाग्यमानी सम्झेको बताएकी छन् । त्यसो त 'धडक' को निर्माण पनि करणले गरेका थिए ।

'बाजीराव मस्तानी' र 'पद्मावत' जस्ता फिल्ममा काम गरेर आफूलाई अब्बत साबित गरिसकेका रणवीरले भनेका छन्, "करण जौहरको मल्टिस्टारर ऐतिहासिक फिल्मको हिस्सा बन्न पाउँदा गर्व महसुस गरिरहेको छु ।"

सन् २०१२ मा करणले निर्देशन गरेको फिल्म 'स्टुडेन्ट अफ द इयर' बाट बलिउडमा डेब्यू गरेकी आलियाले फेरि करणकै निर्देशनमा बन्ने फिल्ममा जोडिन पाउँदा उत्साहित भएको बताएकी छन् । "जहाँबाट शुरु गरेकी थिएँ, फेरि त्यहीँ फिर्ता आइपुगेँ । अर्थात् आफ्नो जरामा आइपुगेँ ।"  

'तख्त' २०२० मा रिलिज हुनेछ ।

एजेन्सी

प्रतिकृया दिनुहोस