समाचारबिहिवार, श्रावण २४, २०७५

नेपालगञ्जलाई महानगरपालिका बनाउन अध्ययन

हिमालखबर

नेपालगञ्ज उपमहानगरपालिकालाई ‘महानगरपालिका’ बनाउन सम्भाव्यता अध्ययन थालिएको छ।

“महानगरपालिका बनाउन के कस्ता पूर्वाधार आवश्यक पर्छन्, भौगोलिक क्षेत्र कति बढाउनु पर्छ, जनसङ्ख्या कति हुनुपर्छ, भौतिक पूर्वाधारको विस्तार लगायतका सम्भावनाबारे छलफल चलाएका छौँ”, नगर प्रमुख डा. धवलशम्शेर राणाले बताए।

महानगरपालिका बनाउन यसअघि बसेको नगरसभाबाट प्रस्ताव पारित भएको र सम्भाव्यता अध्ययनका लागि रु २५ लाखसमेत छुट्याइएको छ। प्रदेश नं ५ सरकारले यस प्रदेशमा तीन महानगरपालिका बनाउन योजना अगाडि सारेको छ। सोही अवधारणा अनुसार नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाउन सम्भाव्यता अध्ययन थालिएको हो । प्रदेश नं ५ सरकारले बुटवल र भैरहवा, तुलसीपुर र घोराही तथा नेपालगञ्ज, कोहलपुर र खजुरालाई मिलाएर तीन महानगरपालिका बनाउने अवधारणा अघि सारेको छ।

“अबको स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका बनाइसक्ने गरी पूर्वाधार जुटाइ छौँ”,  राणाले भने। बाँकेको कोहलपुर, जमुनहा, मानखोला र राप्ती नदीवारिसम्मको क्षेत्रलाई समेटेर महानगरपालिका बनाउन सकिने आधारमा अध्ययन थालिएको हो। महानगरपालिका बनाउन कोहलपुर नगरपालिका, बैजनाथ, खजुरा, जानकी र डुडुवा गाउँपालिकालाई गाभ्ने योजना छ, राणाले बताए।
- रासस

 

प्रतिकृया दिनुहोस