खेलकुदबिहिवार, श्रावण २४, २०७५

यु–१५ महिला साफ च्याम्पियनसिप शुरु

हिमालखबर

१५ वर्षमुनिको (यु–१५) साफ च्याम्पियनसिप महिला फूटबल प्रतियोगिता आज २४ साउनदेखि शुरु भएको छ । उद्घाटन खेल भारत र श्रीलङ्का बीच हुँदैछ । प्रतियोगितामा आयोजक भुटानसँगै नेपाल, बङ्गलादेश, श्रीलङ्का, भारत र पाकिस्तान गरी छ राष्ट्रको सहभागिता छ ।

खेल थिम्पुको चाङ्ली मिथाङ रङ्गशालामा स्थानीय समयानुसार दिउँसो ४ बजे हुनेछ । प्रतियोगिताको समूह ए मा रहेका दुवै टोली विजय लक्ष्यका साथ मैदानमा उत्रँदैछन् ।

उक्त प्रतियोगिताको यो दोस्रो संस्करण हो । त्यस्तै श्रीलङ्काले भने प्रतियोगितामा पहिलो पटक सहभागिता जनाउदैछ । यसअघि बंगलादेशमा भएको पहिलो संस्करणको खेलमा भारत उपविजेता बनेको थियो । त्यतिबेलाको फाइनल खेलमा बङ्गलादेशसँग १–० गोलअन्तरले पराजित भएपछि भारत उपविजेतामा सीमित बनेको थियो ।

त्यस्तै समूह चरणको खेलमा भारतले भुटानलाई ३–० र नेपाललाई १०–० गोलअन्तरले पराजित गरेको थियो भने बङ्गलादेशसँग ३–० को हार बेहोरेको थियो । गत वर्ष सम्पन्न पहिलो संस्करणको खेलमा आयोजक बङ्गलादेशसहित नेपाल, भुटान र भारत गरी चार राष्ट्र सहभागी थिए ।

आजै हुने दोस्रो खेल स्थानीय समयानुसार बेलुका ७ बजे समूह बीअन्तर्गतका बङ्गलादेश र पाकिस्तान आमनेसामने हुँदैछन् । बङ्गलादेश साविक विजेता हो भने पाकिस्तानको प्रतियोगितामा पहिलो सहभागिता हो ।

प्रतियोगितामा आगामी भदौ २ गतेसम्म सञ्चालन हुने छ । - रासस

प्रतिकृया दिनुहोस