समाचारबुधवार, श्रावण २३, २०७५

पहिरोको कारण डिजाइनमै त्रुटी

मुकेश पोखरेल

कृष्णभीरको पहिरो । तस्वीर: हिमाल अर्काइभ

नारायणगढ–मुग्लिन सडक खण्डमा पहिरोले पुरिएर पछिल्लो दुई वर्षमा ९ जनाको मृत्यु भएको छ भने, १५ जना घाइते भएका छन् । इलाका प्रहरी कार्यालय मुग्लिनका अनुसार, ५० ठाउँमा गएको पहिरोबाट ३३ वटा सवारी साधनमा क्षति पुगेको छ ।

इलाका प्रहरी मुग्लिनका प्रहरी निरिक्षक धर्मभक्त केसी भन्छन् “पहिरोका कारण हुने सडक अवरोधको त रेकर्ड रख्नै सम्भव नहुने भयो ।”

तीनवर्ष अघि शुरु गरिएको सडक विस्तारका क्रममा भित्तो काट्दा धेरै पहिरो गएको नारायणगढ–मुग्लिन सडक आयोजनाका प्रमुख रोहित कुमार विसुराल बताउँछन् ।

त्रिभुवन विश्वविद्यालयका सह–प्रध्यापक एवम् इन्जिनियरिङ्ग भूगर्वविद रञ्जनकुमार दाहालका अनुसार नारायणगढदेखि दासढुँगासम्म पहिरोको उच्च जोखिम रहेका ३५ ठाउँमा रोकथामका लागि विशेष उपाय नलगाउँदासम्म सँधै पहिरोको त्रास रहने बताउँछन् ।

त्यसैगरी पहिरोले बन्द भइरहने अर्को सडक हो सिद्धार्थ राजमार्गको वुटवल–पाल्पा खण्ड । जिल्ला ट्राफिक प्रहरी कार्यालय पाल्पाका अनुसार यो खण्डको सिद्धबाबा क्षेत्रमा गएको पहिरोमा पुरिएर २०७० सालदेखि अहिलेसम्म २० जनाले ज्यान गुमाइसकेका छन् भने १२ जना घाइते भएका छन् ।

यी दुई सडकबाहेक अन्य सडकमा पनि पहिरोले पुरिएर ज्यान जाने र सडक अवरुद्ध हुने घटना भइरहेका छन् ।

पहिरो पन्छाउन बार्षिक करोड !
देशभरका सडकमा पहिरो पन्छाउन मात्रै कति बजेट खर्च हुन्छ, त्यसको एकमुष्ट विवरण सडक विभागसँग छैन । पहिरो पन्छाउने काम नजिकका डिभिजन सडक कार्यालयको भएकाले विभागसँग त्यसको विवरण नहुने सडक विभागका प्रवक्ता मुक्ति गौतम बताउँछन् ।

मुग्लिन नारायणगढ सडक आयोजनाका अनुसार उक्त सडक खण्डमा खस्ने पहिरो पन्छाउन मात्रै वार्षिक करिब रु. १ करोड खर्च हुन्छ । त्यसैगरी सिद्धार्थ राजमार्ग अन्र्तगत वुटवल–पाल्पा सडक खण्डको सिद्धबाबामा मात्रै वार्षिक करिब रु ५ लाख खर्च भइरहेको छ ।

सडक विस्तारसँगै गलत इन्जिनियरिङ्गका कारण सडकमा पहिरो खस्ने क्रम बढ्दै जान थालेको छ । सडक विभागका अनुसार, १५ वर्षअघिसम्म देशभर २० हजार किलोमिटर सडक रहेकोमा अहिले बढेर ६० हजार किलोमिटर पुगेको छ । सह–प्राध्यापक दाहाल सडक बनाउने क्षेत्रको भौगोलिक अवस्था अध्ययन नगरिकनै सडक बनाउँदा पहिरोको जोखिम बढेको बताउँछन् ।

उनको भनाईमा सडक विभागका इन्जिनियर नरेशमान शाक्य पनि सहमत छन् । “फरक–फरक ठाउँमा फरक–फरक भौगोलिक अवस्था छ, भौगोलिक अवस्थाको विस्तृत अध्ययन हुन सकेको छैन,” उनी भन्छन्, “भौगोलिक अध्ययनका आधारमा सडकको डिजाइन गर्दा जोखिम कम गर्न सकिन्छ ।”

सह–प्राध्यापक दाहालका अनुसार नारायणगढ–मुग्लिन सडकखण्ड विस्तारका क्रममा भौगोलिक अध्ययनलाई बेवास्ता गर्दा नै समस्या निम्तिाएको हो । “नारायणगढ मुग्लिन सडकको डिजाइन मै समस्या छ, कटिङ्ग मिलेको छैन,” दाहाल भन्छन् “विस्तृत भौगोलिक अध्ययन गरेर पहिरो जाने सम्भावित ठाउँ पहिचान गरी पहिल्यै नै रोकथामका उपाय गर्न सकिन्छ ।”

यसकारण अध्ययन
सह–प्राध्यापक एवम् भूगर्भविद् दाहाल सडक बनाउँदा सडक भन्दामाथि र तलको जमिनको विस्तृत अध्ययन गरी पहिरो जाने सम्भावना ९५ प्रतिशत कम गराउन सकिने बताउँछन् ।

“इन्जिनियरिङ्गको काम मात्र गरे हुन्छ, भन्ने सोचाइ छ, यो विल्कुलै गलत हो,” उनी भन्छन् “हाम्रो भूबनोट सबै ठाउँमा एकनासको छैन, त्यसकारण पनि अध्ययन आवश्यक छ ।”  

“हामीकहाँ सडक बनाउन शुरु गर्नुअघि अध्ययन गरेर भौगोलिक नक्सा तयार पारिंदैन,” शाक्य भन्छन् “कुन जमिन कस्तो अवस्थाको छ भन्ने थाहा पाएपछि त्यसै अनुसार रोकथामका उपाय अपनाउन सकिन्छ ।”

दाहालका अनुसार मुग्लिन–नारायणघाट, बुटवल–तानसेन, कोहलपुर–सुर्खेत, इलाम–फिदिम सहित मध्यपहाडी लोकमार्ग पहिरोको उच्च जोखिमका सडक हुन् ।

प्रतिकृया दिनुहोस