मिर्गौला प्रत्यारोपणको एक दशक: महाराजगञ्ज अस्पतालमा ५०६ जनामा प्रत्यारोपण
त्रिवि शिक्षण अस्पतालमा मात्रै दश वर्षको अवधिमा ५०६ जनामा सफलतापूर्वक मिर्गौला प्रत्यारोपण गरिएको छ ।
अस्पतालले पहिलोपटक २४ साउन २०६५ मा डा दिव्यासिंह शाह नेतृत्वमा मिर्गाला प्रत्यारोपण गरेको थियो । त्यसबेला डा शाहलाई अष्ट्रेलियाका प्राध्यापक डा डेभिड फ्रान्सिसले सहयोग गरेका थिए ।
प्रत्यारोपण भएकामध्ये ८५ प्रतिशत पुरुष र १५ प्रतिशत महिला छन् । यसैगरी १५ वर्षमुनिका बालबालिकाको सङ्ख्या ८ रहेको आज अस्पतालमा आयोजित कार्यक्रममा जानकारी दिइयो ।
हप्तामा दुईवटा प्रत्यारोपण कार्य शुरु गरेको अस्पतालले यसलाई निरन्तरता दिँदै आएको छ । प्रत्यारोपणका क्रममा १७ जनाको मृत्यु भएको छ । अस्पतालले आर्थिक अभावका कारण प्रत्यारोपणका लागि आवश्यक परीक्षण गर्ने प्रयोगशाला (एचएलए) स्थापना गर्न नसक्दा भारतमा पठाउनुपर्ने बाध्यता छ ।
प्रत्यारोपणको दशौँ वार्षिकोत्सवका अवसरमा अस्पतालद्वारा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले अस्पताललाई प्रत्यारोपणका लागि आवश्यक पर्ने आर्थिक एवं उपकरण सहयोग गर्ने जानकारी दिएका छन् ।
सरकारी अस्पतालमा राज्यको ठूलो लगानी रहेको तर स्वास्थ्य सेवा प्रभावकारी हुन नसकेको बताउँदै उनले आधारभूत स्वास्थ्य सेवा पाउने जनताको मौलिक अधिकारलाई प्रत्याभूत गर्न सरकार प्रतिबद्ध रहेको बताए ।
सो अवसरमा पहिलोपटक मिर्गौला प्रत्यारोपणमा महत्वपूर्ण योगदान पुर्याएका चिकित्सक तथा नर्सलाई सम्मान गरियो ।