कला/साहित्यबुधवार, श्रावण २३, २०७५

'आइटम गीत लेख्नुअघि गीतकारले पटक-पटक सोचून् !'

हिमालखबर

बलिउड फिल्महरुमा आइटम गीतलाई विशेष महत्त्व दिने गरिएको छ। गीतको लेखन, संगीतदेखि छायांकनको चरणसम्म फिल्म निर्माण टोलीको जोड देखिन्छ। बलिउडकी दिग्गज अभिनेत्री शबाना आजमी भने यस्ता आइटम गीतको विरुद्धमा उभिँदै आएकी छन्।   

मंगलबार एक टेलिभिजन च्यानलले आयोजना गरेको कार्यक्रममा शबानाले गीतकारले यस्तो गीत लेख्नुअघि दुई पटक सोच्नुपर्ने बताइन्। उनले भनिन्, "फिल्ममा आइटम गीत प्रयोग गर्ने चलनको म विरोध गर्छु। यी गीतहरुमा जुन शब्दहरु प्रयोग गरिन्छन्, ती अपमानजनक र महिलाको छवि धमिल्याउने खालका छन्।"

शबानाले सलमान खानको फिल्म 'दबंग २' को गीत 'फेविकोल से' लाई उदाहरणका रुपमा प्रस्तुत गरेकी थिइन्। उनले भनिन्, "कुनै पनि फिल्ममा यस्ता गीत राख्नुपर्छ भन्ने जरुरी मलाई लाग्दैन। यी गीत फिल्मको कथासँग सम्बन्धित पनि हुँदैनन्। गीतकारहरुले यस्ता गीत लेख्नुअघि दुई पटक सोच्नुपर्छ।"
शबानाका पति दिग्गज गीतकार जावेद अख्तर हुन्। उनले फिल्महरुमा पछिल्लो समय महिलाको भूमिकालाई बलियो रुपमा प्रस्तुत गरिन थालेको समेत बताइन्। – एजेन्सी

प्रतिकृया दिनुहोस