पौने ३ करोड लिएर भागेका सहकारी सञ्चालक पक्राउ
विराटनगरका सर्वसाधारणले बचत गरेको रु २ करोड ६९ लाख लिएर फरार रहेका सहकारी सञ्चालक ईश्वर श्रेष्ठ र विष्णुप्रसाद सुवेदीलाई मोरङ प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ ।
विराटनगर–९ बाटा रोडमा रहेको प्राइम बचत तथा ऋण सहकारीका सञ्चालक समितिका सचिव सचिव ईश्वर श्रेष्ठ पोखराबाट पक्राउ परेका हुन् ।
मोरङ प्रहरीका नायव उपरीक्षक निशान थापाद्वारा जारी विज्ञप्ति अनुसार, गत जेठमा पक्राउ परेका सञ्चालक इन्द्रलाल श्रेष्ठको बयानका आधारमा ईश्वर श्रेष्ठलाई १९ साउनमा पक्राउ गरिएको थियो । मोरङबाट गएको प्रहरीले उनलाई लेखनाथ नगरपालिका– ६ बाट पक्राउ गरेको थियो ।
अर्का सञ्चालक विष्णुप्रसाद सुवेदी पनि पक्राउ परेको प्रहरीले जनाएको छ । दुबैलाई जिल्ला अदालत मोरङबाट ७ दिनको म्याद थप गरेर हिरासतमा राखिएको छ ।
सहकारी बिरुद्ध १४३ बचतकर्ताले प्रहरीमा उजुरी दिएका थिए ।
-कमल रिमाल, विराटनगर