बस र ट्रक जुध्दा चार जनाको मृत्यु
पूर्वबाट नारायणगढतर्फ आउँदै गरेको ना५ख ५९४१ नंको ट्रक र काठमाडौँबाट काँकडभिट्टातर्फ जाँदै गरेको मकालु यातायातको ना६ख १७४१ नंको बस एकापसमा ठोक्किँदा चार जनाको मृत्यु भएको छ । दुर्घटनामा सत्रजना घाइते भएका छन् ।
पूर्वपश्चिम राजमार्गको रत्ननगर नगरपालिका–१० भानुचोकमा भएको उक्त दुर्घटनामा परी मृत्यु हुनेमा रौतहट चपुरका ट्रक चालक मोहन घिसिङ (३४), सोही ठाउँका ट्रकका सहचालक बुद्धिमान लामा (३०), बसमा सवार काठमाडौँ थानकोटका ४८ वर्षीय विष्णुप्रसाद थापा (४८) र ताप्लेजुङ खुम्लिङ नगरपालिका– १ का तारा बराल (४२) रहेको प्रहरी नायब उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए ।
इँटा बोकेर फर्किँदै गरेको ट्रक बससित ठोक्किएको थियो । चारैजनाको उपचारका क्रममा मृत्यु भएको हो । घाइतेमध्ये १३ जनाको पुरानो मेडिकल कलेजमा तथा चार जनाको चितवन मेडिकल कलेमा उपचार भइरहेको छ । - रासस