सर्वोच्चले छिट्टै नयाँ नेतृत्व पाउँछः दाहाल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहालले सर्वोच्च अदालतले छिट्टै नयाँ नेतृत्व पाउने बताएका छन् ।
आज बाराको सिमरा विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै दाहालले सर्वोच्च अदालतले इमान्दार र कर्तव्यनिष्ट नेतृत्व पाउने बताएका हुन् ।
दाहालले भने– “बुधबार, २३ साउनमा प्रधानमन्त्रीज्यूले संवैधानिक परिषद्को बैठक बोलाउनु भएको छ, त्यसले वरिष्ठताका आधारमा नाम सिफारिस गर्ने र संसदीय सुनुवाइ समितिले छिट्टै टुङ्गो लगाउनेछ ।”
न्यायपालिकालाई लामो समय नेतृत्वविहिन राख्न नहुने उनको भनाइ थियो । सर्वोच्च अदालतका कामु प्रधानन्यायाधीशको बारेमा सोधिएको प्रश्नमा भने दाहालले जवाफ दिएनन् ।
त्यस्तै, संवैधानिक परिषद्को सिफारिसलाई संसदीय सुनुवाइ समितिले अस्वीकृत गर्नुले संसद्को सर्वोच्चता स्थापित भएको दाहालको भनाइ थियो ।
नेपाल उद्योग वाणिज्य महासंघको आयोजनामा २१ साउनबाट वीरगञ्जमा शुरु भएकोे जिल्ला तथा नगर उद्योग वाणिज्य संघको जिल्ला भेलामा सहभागी हुन दाहाल बारा आएका छन् ।
श्याम गुप्ता, बारा