कला/साहित्यमंगलवार, श्रावण २२, २०७५

सलमानको 'सुल्तान' चीनमा ११ हजार स्क्रिनमा लाग्ने

हिमालखबर

बलिउड अभिनेता सलमान खान र अभिनेत्री अनुष्का शर्मा अभिनीत ‘सुल्तान’ चीनमा ३१ अगस्तमा रिलिज हुने भएको छ। यो फिल्म भारतमा दुई वर्षअघि रिलिज भएको थियो।

चीनमा सुल्तान रिलिज गर्न यशराज फिल्मले ई-स्टार्स चाइनासँग साझेदारी गरेको छ । यसअघि आमिर खानको ‘दंगल’ र ‘सिक्रेट सुपरस्टार’ र इरफान खान अभिनीत ‘हिन्दी मिडियम’ को व्यापारिक सफलतापछि चीनलाई हिन्दी फिल्मको राम्रो बजार मान्न थालिएको छ।

एक विज्ञप्ति अनुसार ‘सुल्तान’ चीनको ११ हजारभन्दा बढी स्क्रिनमा रिलिज गरिनेछ । यसको उद्देश्य फिल्म एक दिनमा ४० हजार शो चलाउने रहेको छ।  अली अब्बास जफरको निर्देशनमा बनेको 'सुल्तान' एक पहलवानको विषयमा केन्द्रित छ, जो आफ्नो गुमेको प्रेम फिर्ता ल्याउन कुश्तीमा फेरि फर्कन्छ।

चीनको बक्स-अफिसमा यसअघि आमिरको फिल्मले आफ्नो जादू देखाइसकेको छ। आमिरको 'दंगल'ले चीनमा कमाइको सबै रेकर्ड तोड्दै १२ सय करोड भारुको व्यापार गरेको थियो। यस्तै, आमिरकै 'सिक्रेट सुपरस्टार' ले ७५० करोड भारु कमाएको थियो।

'सुल्तान' अघि सलमानको 'बजरंगी भाईजान' पनि चीनमा रिलिज भएको थियो । जसले २३३ करोड भारु कमाएको थियो।

एजेन्सी

प्रतिकृया दिनुहोस