टिप्पणीमंगलवार, श्रावण २२, २०७५

यौन हिंसाको रिपोर्टिङमा नेपाली मिडिया

हिमालखबर

पत्रकार महिला एक चौथाईभन्दा पनि कम भएका न्यूजरुममा लैंगिक हिंसाप्रतिको दृष्टिकोण उदेकलाग्दो छ ।

-भृकुटी राई

कञ्चनपुरकी १३ वर्षीया बालिकाको बलात्कारपछिको हत्या नेपाली मिडियामा आउने देशभरका अपराध शृंखलाको पछिल्लो चर्चित घटना थियो ।अपराधका समाचारको दिक्कलाग्दो ‘कभरेज’ नियमित कर्मकाण्ड जस्तै छ, मिडियामा ।

कञ्चनपुर घटनाको कभरेज गरेको एउटा राष्ट्रिय दैनिकले समाचारसँगै खेतमा असरल्ल बालिकाको शवको तस्वीर प्रकाशन गर्‍यो । सामाजिक सञ्जालमा निकै फैलिएको त्यो तस्वीर हटाउन गरिएको अनुरोध पनि सुनिएन । यो घटनाबारेका विभिन्न समाचार, लेख र टिप्पणी मिडियामा जसरी आए त्यसले गर्दा आम–आक्रोश स्थानीय प्रशासन, सुरक्षाकर्मीतर्फमात्र होइन मिडियातर्फ पनि सोझियो ।

दक्षिण एशियाका अधिकांश न्यूजरुम जस्तै नेपालमा पनि जब बलात्कार र यौन हिंसाका रिपोर्टिङमा पत्रकारिताको आचार र नैतिक मानकबारे छलफल हुन्छ, मिडिया कमजोर देखिन्छ । पीडित र उसको परिवारबारे कतिसम्म जानकारी सार्वजनिक गर्नु आवश्यक हुन्छ ? पुष्टि नहुने आरोप लगाउँदा कति क्षति हुन्छ ? यस्ता अपराधबारे रिपोर्टिङ कसरी गर्ने ? जस्ता विषय थाहा नहुँदा ‘कभरेज’ प्रत्युत्पादक हुन्छ भन्ने बुझेको पाइँदैन ।

अझ कतिपय घटनामा त पीडित माथि नै आरोप लगाएको देखिन्छ । केही महीनाअघि दरबारमार्ग बलात्कार घटनामा रिपोर्टरहरुले युवतीको शरीर, उनको व्यक्तिगत जीवन र सम्बन्ध, पुरुष साथीहरुसँगै बसेर ‘पिएको’ जस्ता विषयहरु उछालेर अपराधलाई ओझेलमा पार्ने प्रयास गरे ।

नेपाल प्रहरीको तथ्याङ्क अनुसार नेपालमा बलात्कार र बलात्कारको प्रयासका घटनाहरु एक दशकमा चार गुणाले बढेका छन् । गतवर्ष मात्रै १,१०० यस्ता उजुरीहरु दर्ता भएका थिए, जबकी कैयौं यस्ता घटनाहरु प्रहरीसम्म पुग्नै पाउँदैनन् ।

यौन हिंसाका समाचारहरु पत्र–पत्रिका र टेलिभिजनमा आम भइरहँदा अधिकांशको प्रस्तुती सहज हुँदैन । धेरैमा सनसनीपूर्ण शिर्षक राखिन्छ तर, पीडितको आवाज हुँदैन, संवेदनाहिन भाषाको प्रयोगले उत्पीडन र यौनहिंसाबारे परम्परागत पितृसत्तात्मक सोचकै पक्षपोषण गर्छ ।

अवसादग्रस्त देखिने र च्यातियका लुगा लगाइदिएका सांकेतिक तस्वीरले पीडितमाथि नै अन्याय हुनपुग्छ भन्ने हेक्का राखेको पाइँदैन ।

विश्व लैंगिक समानता सूचिमा १४४ देशमध्ये नेपालको स्थान १११ औं छ । बोक्सीको आरोपमा हुने हिंसा, घरेलु हिंसा, यौन हिंसा जस्ता धेरै हिंसाले थिचिएका छन् नेपाली महिला ।  र, यस्ता विषयमा पुरुषबहुल न्यूजरुमले गर्ने रिपोर्टिङ एउटा निश्चित खाकाभित्र हुन्छ– जो पीडितप्रति संवेदनशील देखिंदैन ।

अधिकांश यस्ता समाचारहरु प्रहरीको सूचनामा आधारित हुनुले पनि यसबारे यथेष्ट रिपोर्टिङ नभएको प्रष्ट हुन्छ । अपराधको रिपोर्टिङ गर्दा सबैभन्दा चुनौतिपूर्ण भनेको पीडितको विश्वास आर्जन गरेर यथार्थसँगै  ‘साइड स्टोरी’ बाहिर ल्याउनु हो, जुन धेरै पत्रकारले गरेको पाइँदैन ।

धेरै जसो समाचारहरु कर्मकाण्डीय हुन्छन्, निश्चित घटनामा मात्र केन्द्रित । आम प्रवृत्तिबारे अध्ययन् नगरिकनै लेखिएका समाचारमा संस्थागत असफलताबारे अनुसन्धान गरिएको हुँदैन र परम्परागत पुरुष सोच हावी भैदिन्छ ।

अधिकांश बलात्कारका घटनाबारे किन उजुरी पर्दैनन् ? हाम्रो अपराध अनुसन्धान शैली कस्तो छ ? दण्ड–सजायको दर किन निकै कम छ ? अझ महत्वपूर्ण त समाचार प्रकाशन/प्रशारणले पीडितको जीवनमा कस्तो परिवर्तन ल्याउला ? जस्ता विषयमा मिडियाहरुको ध्यान पुगेको देखिंदैन ।

बलात्कार र यौन हिंसाबारे नेपाली मिडियामा भएका रिपोर्टिङबारे बोल्दा–बोल्दा थाकेपछि हामीले हाम्रो पडकास्ट ‘बोजुबज्यै’को हालैको शृंखलामा काठमाडौंका रिपोर्टर र सम्पादकसँग छलफल गर्‍यौं । सबैजना यो मुद्दामा न्यूजरुम ढिलोमात्रै संवेदनशील भएको स्वीकार्छन्, यद्यपि न्यूज कभरेजमा भने संवेदनशीलता देखिएन ।

पीडितको परिचय नखोल्ने बाहेक कुनै पनि न्यूजरुममा थप ‘गाइडलाइन’ छैन । अधिकांशले स्टोरीसँगैको तस्वीरमा पीडितको अनुहार देखिएको छ/छैन भन्नेमात्रै ख्याल राखिएको बताउँछन् । केहीले काठमाडौं र वरपरका समाचारले बढी प्राथमिकता पाउने गरेको बताइरहँदा एक सम्पादकले भने, “बारा होस वा दरबार मार्ग सबैतिरका समाचारले उत्तिकै प्राथमिकता पाउनुपर्छ ।”

पत्रकार महिला एक चौथाईभन्दा पनि कम भएका यि न्यूजरुममा लैंगिक हिंसाप्रतिको दृष्टिकोण झन उदेकलाग्दो थियो । धेरै रिपोर्टरहरुले महिलाको मृत्यु नहुँदासम्म कुटपिटका घटनाले प्राथमिकता नपाउने सुनाए । वरिष्ठ रिपोर्टरहरु त यस्ता ‘हल्का’ विषय ‘कभर’ गरिरहनु जरुरी नभएको भन्दा रहेछन् ।

महिलाविरुद्ध हुने हिंसाको रिपोर्टिङमा सुधार तबमात्रै हुन्छ जब पत्रकारहरुले महिलालाई वस्तु ठान्ने रूढिवादी धारणामा परिवर्तन ल्याउँछन्, महिला र पुरुषबारे लेख्दा वा अन्तरवार्ता लिँदा फरक मापदण्ड राख्न छोड्छन् र घरेलु हिंसालाई सामान्य ठान्ने सोचलाई बदलन्छन् । 

बोजुबज्यै शृंखलाको नयाँ भाग यहाँ सुन्न सकिन्छ:

यौन हिंसाबारे कसरी रिपोर्टिङ् गर्ने बारे मार्ग निर्देशन तल दिइएका लिंकहरुमा पनि उपलब्ध छन् ।

बीबीसी एडिटोरियल गाइड लाइन्स

यौन हिंसाको रिपोर्टिङ्, डार्ट सेन्टर

न्यूयोर्क टाइम्सकी जेन्डर एडिटरका सुझाव

प्रतिकृया दिनुहोस