बाङ्लादेशी फोटोग्राफर एवम् अभियन्ता शहीदुललाई रिहा गर्न अपील
ढाका प्रहरीले नियन्त्रणमा लिएका फोटोग्राफर एवम् सांस्कृतिक अभियन्ता शहीदुल आलमलाई तुरुन्त रिहा गर्न नेपाली पत्रकारहरुले अपील गरेका छन् ।
बाङलादेशको राजधानी ढाकामा सडक सुरक्षा माग गर्दै भइरहेका विरोध प्रदर्शनलाई दबाउन त्यहाँको सरकारले गरेको बलप्रयोगको विरोध गरिरहेका आलमले एक अन्तर्राष्ट्रिय टेलिभिजनलाई अन्तर्वार्ता दिएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो ।
“शहीदुलको पक्राउ यो उपमहाद्विपको ठूलो भागमा जारी असहमतिका स्वरहरुलाई दबाउने प्रवृत्तिको निरन्तरता हो, र यो प्रवृत्ति सबै ठाउँबाट अन्त्य गरिनुपर्छ,” अपीलमा भनिएको छ, “हामी शेख हसिना सरकारलाई शहीदुलले बाङ्लादेशभित्र र बाहिरका जनताका लागि के अर्थ राख्छन् भन्ने बुझ्न आग्रह गर्दछौं ।”
सांस्कृतिक अभियन्ता आलम ड्रिक, तस्वीर पुस्तकालय र पाठशाला, दक्षिण एशियाली फोटोग्राफी इन्स्टिच्यूटका संस्थापक हुन् । उनी अन्तर्राष्ट्रिय फोटोग्राफी महोत्सव ‘छवि मेला’ का निर्देशक समेत हुन् ।
अपील जारी गर्नेहरुमा भारतदत्त कोइराला, राजेन्द्र दाहाल, सुधीर शर्मा, नारायण वाग्ले, प्रतीक प्रधान, कुन्द दीक्षित, अखिलेश उपाध्याय, विकास रौनियार, चन्द्रशेखर कार्की, कनकमणि दीक्षित, किरण नेपाल, जेबी पुन मगर, मणि लामा, नयनतार गुरुङ कक्षपति, राजेश केसी, सुवास घिमिरे, सुविना श्रेष्ठ र उषा तितिक्षु छन् ।