रिपोर्टसोमवार, श्रावण २१, २०७५

जोखिममा रारा विमानस्थल

हिमालखबर

अच्युतराज भण्डारी

आवश्यक पूर्वाधार र उपकरणको पूर्ति नभए, समयमै मर्मत–सम्भार, घेरबार तथा खोलामा तटबन्ध निर्माण नगरिए रारा विमानस्थलमा पहिरोसँगै दुर्घटनाको पनि जोखिम देखिन्छ ।

रारा विमानस्थलको धावनमार्ग । तस्वीरहरुः अच्युतराज भण्डारी

हिमाली जिल्ला मुगुस्थित राराताल नजिकै २०३८ सालमा तत्कालीन सांसद तेजबहादुर भामको सक्रियतामा सञ्चालनमा आएको रारा (ताल्चा) विमानस्थलको तीन दशक बितिसक्दा पनि निर्माणकार्य सम्पन्न भएको छैन ।

सञ्चालनको ३३ वर्षपछि २०७३ फागुनमा ५७० मिटर लामो धावनमार्ग कालोपत्रे गरिएको जिल्लाको एक मात्र यस विमानस्थलको चारैतिर गोरेटो छ भने विमानस्थल क्षेत्रलाई घेरबार गरिएको छैन ।

जहाज उडान र अवतरणका बेला सुरक्षाकर्मी खटिएर मानिस, जनावर लगायतलाई विमानस्थलमा छिर्न नदिने गरेको विमानस्थल सुरक्षा प्रमुख प्रहरी नायब निरीक्षक अनु एरी बताउँछन् । “घेरबार नहुँदा विमानस्थल स्थानीय नागरिक तथा चौपायाको ओहोरदोहोर गर्ने चौबाटो बनेको छ” उनी भन्छन्, “जहाज आएका बेला मानिस वा कुनै जनावर विमानस्थलमा दौडिदियो भने दुर्घटना हुने सम्भावना हुन्छ ।”

रारा विमानस्थल प्रमुख विशाल पाण्डेका अनुसार यहाँ सातामा एक उडान नेपाल एअरलाइन्सको छ भने तारा एअरको नियमित दैनिक एक वा दुई फ्लाइट छ । त्यस्तै, सीता, गोमा, मकालु एअरले पनि उडान भर्दै आएका छन् ।

खोलाको कटानको जोखिम
विमानस्थलको धावनमार्गदेखि १० मिटर नजिकै पश्चिमतर्फ पाटपटेनी खोलाले वर्षेनि कटान गर्दै आएको छ । कटानसँगै विमानस्थलको तल्लो भागतिर पहिरो खस्न थालेको छ । समयमै मर्मत–सम्भार, घेरबार तथा खोलामा तटबन्ध निर्माण नगरिए यहाँ पहिरोसँगै दुर्घटनाको पनि जोखिम देखिन्छ ।

विमानस्थल नजिकैको पाटपटेनी खोलाको कटान ।

अर्कोतिर, विमानस्थलछेउ बनाइएको ५०० मिटर लामो नालीबाट पानी खोलामा मिसिंदा पनि वर्षात्मा कटान बढेको छ । विमानस्थल तल पाटपटेनी गाउँमा ३० घरधुरीलाई माथिबाट बगेर आउने पानी र पहिरोले वर्षेनि पिरोल्ने गरेको छ ।

छायानाथ रारा नगरपालिका–५ पाटपटेनीका गणेश कामी भन्छन्, “विमानस्थल अग्लो स्थानमा हुँदा माथिबाट आएको पानी र पहिरो सबै हाम्रा घरभित्र पस्ने गरेको छ ।”

आवश्यक पूर्वाधारको अभाव
विमानस्थल प्रमुख विशाल पाण्डे साँघुरो एकतले काठको टहरोभित्र पर्याप्त प्राविधिक उपकरण विनै सामान्य मेशीनका भरमा काम गरिरहेको बताउँछन् । उनी भन्छन्, “टेलिफोन टावर, मेन डिस्प्ले मेशीन, इन्टरनेट सेवा, सुविधासम्पन्न टर्मिनल भवन, डिपार्चर भवन नहुँदा काम गर्न निकै अप्ठेरो भएको छ ।” आवश्यक उपकरण र पूर्वाधारका लागि सम्बन्धित निकायमा पहल गरिएको उनको भनाइ छ ।

साँघुरो काठको टहराभित्र रहेको टर्मिनल भवनको कार्यकक्षमा काम गर्दै विमानस्थल प्रमुख ।

विमानस्थल नजिकै टेलिफोन टावर छैन भने सदरमुकाम गमगढीको टावरले सीमित ठाउँमा मात्र फाट्टफुट्ट काम गर्छ । विमानस्थल प्रमुख पाण्डे भन्छन्, “टेलिफोन टावर र इन्टरनेटको सुविधा भए देशैभरिका नागरिक उड्डयन कार्यालयको गतिविधि थाहा पाउन सकिन्थ्यो । विमानस्थल जस्तो संवेदनशील ठाउँमा टेलिफोन र इन्टरनेट अत्यावश्यक हुन्छ ।”

त्यस्तै, यहाँ एउटा काठको टहरामा सुरक्षाजाँच कक्ष छ । यात्रुको माल–सामान चेकजाँच गर्ने, तौल लिने र ट्याग लगाउने काम यही टहराभित्र गरिन्छ ।

अँध्यारो साँघुरो टहराभित्र काठको सामान्य बेन्चमा बसेर यात्रुले उडान कुर्नुपर्ने बाध्यता रहेको सोरु गाउँपालिका–६ सिड्डी गाउँका हरिभक्त रोकाया बताउँछन् । जहाज आउने समय भएपछि मात्र सामान चेकजाँच गरेर यात्रुलाई टहराभित्र प्रवेश गराइन्छ । त्यसअघि यात्रुहरू बाहिर खुला चौरमा बस्ने गर्छन् । घामपानीमा ओत लाग्ने ठाउँको समस्या भएको यात्रुहरू बताउँछन् ।

आरामदायी कक्ष नहुँदा ज्येष्ठ नागरिक, बिरामी, अपाङ्ग–असहाय लगायत यात्रुले सास्ती खेप्नुपरेको छ । सुरक्षा प्रमुख एरीका अनुसार, आवश्यक पूर्वाधार, उपकरण अभावले यो असुरक्षित विमानस्थलभित्र पर्ने र समयमै नसोचिए ठूलो दुर्घटना हुनसक्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस