कला/साहित्यसोमवार, श्रावण २१, २०७५

सफलताको मूल्य चुकाउनुपर्छ: रणवीर सिंह

हिमालखबर

अभिनेता रणवीर सिंहले बलिउडमा ८ वर्ष लामो यात्रा तय गरिसकेका छन् । यस अवधिमा उनले 'गोलियों की रासलीला राम-लीला', 'बाजीराव मस्तानी' र 'पद्मावत' जस्ता ब्लकबस्टर फिल्मबाट सफलता हासिल गरे । रणवीरको भनाइमा यस्तो उपलब्धि केही गुमाएपछि हात लाग्छ ।  

रणवीरले सन् २०१० मा फिल्म 'ब्याण्ड बाजा बारात' बाट बलिउडमा डेब्यू गरेका थिए, जुन व्यावसायिकरुपमा सफल भएको थियो । यसपछि उनले 'लेडिज भर्सेस रिकी बहल', 'लुटेरा' र 'दिल धडकने दो' जस्ता फिल्महरुमा काम गरे ।

सुरुवातमा एउटा चकलेटी हिरो हुँदै बलशाली अभिनेताका रुपमा आफूलाई प्रमाणित गरेका रणवीरले पछिल्लो समय आफ्नो स्टारडम बनाएका छन् । उनको नजरमा स्टारडमका लागि मूल्य चुकाउनैपर्छ त ? यसबारे उनी भन्छन्, "हो, मेरो विचारमा यसको केही मूल्य चुकाउनुपर्छ । तर, म ती भाग्यमानीहरुमा पर्छु, जो रोजीरोटीका लागि त्यो काम गर्छन्, जुन उनीहरु मनदेखि नै रुचाउँछन् ।" 

पछिल्लो समय 'सिम्बा', 'गली ब्वाई' र '८३' जस्ता ठूला फिल्महरु गरिरहेका यी ३३ वर्षीय अभिनेतालाई अभिनय यात्रामा कुनै कुरामा गुनासो छैन । 

जीवनमा केही चीजसँग सम्झौता गर्नुपरे पनि त्यसप्रति गुनासो गरेर आफू नबस्ने उनको भनाइ छ ।

उनी भन्छन्, "म राम्रो काम गरिरहेको छु । म सबैभन्दा राम्रा निर्माताहरुसँग जोडिएको छु । केही रोमाञ्चक कथाहरुको हिस्सा बन्न पाएको छु र केही ठूला प्रोजेक्टसँग गाँसिएको छु । यसैले सन्तुष्ट छु ।"

यति धेरै सफलता पाउँदा पनि अहम् नबढ्नुको कारणबारे सोध्दा उनी भन्छन्, "मसँग मेरो परिवार, बुवा-आमा, साथीहरु र टिमको बलियो साथ छ, जसले मेरो जिन्दगीका कैयौं उतारचढाव देखेका छन् । उनीहरु जब मसँग कुराकानी गर्छन्, कुनै स्टारसँग नभई एउटा सामान्य मानिससँग जसरी कुरा गर्छन् । म निकै सौभाग्यशाली छु, तिनैको कारण आफ्नो धरातल बिर्सिन्नँ ।"

'किल दिल', 'गुण्डे' र 'बेफिक्रे' जस्ता फ्लप फिल्म दिएका रणवीरका अनुसार, आलोचना स्वीकार गर्न उनलाई कुनै अप्ठेरो लाग्दैन ।  

जीवनमा उनको सूत्र छ, "आज छ, भोलि कहिल्यै आउँदैन । यसैले तपाईंले आफूले पाएका अवसरहरुको सम्मान गर्दै बढीभन्दा बढी मिहिनेत गर्नुपर्छ ।"

एजेन्सी

प्रतिकृया दिनुहोस