क्रिकेट टोली स्वदेश फिर्ता
नेदरल्याण्ड्स विरुद्ध ऐतिहासिक एकदिवसीय क्रिकेट शृङ्खला खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज स्वदेश फर्किएको छ ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग संक्षिप्त कुरा गर्दै नेपाली क्रिकेट टोलीका कप्तान पारस खड्काले नेदरल्याण्ड्ससितको एकदिवसीय खेलमा नेपालको प्रदर्शन राम्रो रहेको बताए ।
पहिलो खेल कमजोर ब्याटिङका कारण गुमाए पनि दोस्रोमा उत्कृष्ट खेल प्रदर्शन गरेको बताए । नेपाली क्रिकेटको आगामी यात्रा एशिया कप भएकाले त्यसमा अझ राम्रो प्रदर्शन गर्ने विश्वास पनि व्यक्त गरे ।
एसीसी एशिया कप छनोट प्रतियोगिता आगामी भदौ ११ देखि २२ गतेसम्म मलेशियामा हुँदैछ । नेपाली टोली बेलायतको लर्डस्मा त्रिकोणात्मक टी–२० शृङ्खला र नेदरल्याण्ड्समा दुई खेलको एकदिवसीय शृङ्खला खेलेर स्वदेश फर्किएको हो ।
नेदरल्याण्ड्स जानुअघि बेलायतको लर्डस्मा आयोजक मेरिलेबोन क्रिकेट क्लब (एमसीसी) सँगको टी–२० खेलमा नेपाल विजयी भएको थियो । नेदरल्याण्ड्ससँगको एकदिवसीय शृङ्खलामा पहिलो खेलमा नेपाल ५५ रनले पराजित भएको थियो भने दोस्रोमा एक रनले विजयी भएको थियो ।
सन्दीप वेस्ट इण्डिजतर्फ
नेपाली टीमका युवा स्पिनर सन्दीप लामिछाने क्यारेबियन प्रिमियर लिग (सीपीएल) खेल्न आइतबार नेदरल्याण्ड्सबाटै वेस्ट इण्डिज गएका छन् ।
सन्दीप सीपीएल टिम सेन्ट किट्स एण्ड नभिस पाट्रिओट्ससँग आवद्ध भएका थिए । सीपीएल यही साउन २२ देखि भदौ ३१ गतेसम्म हुनेछ । सीपीएलमा ६ टोली सहभागी हुनेछन् ।