कला/साहित्यसोमवार, श्रावण २१, २०७५

'भारत' पछि प्रियंकाले छाडिन् भन्सालीको फिल्म

हिमालखबर

पछिल्लो समय प्रियंका चोपडा व्यक्तिगत र व्यावसायिक दुवै कारणले बलिउडमा चर्चामा छाएकी छन्। सलमान खानको फिल्म 'भारत' छोडेपछि उनले अर्को बलिउड प्रोजेक्टबाट पनि हात झिकेको खबर आएको छ। 

कुरा हो, सञ्जय लीला भन्सालीको ग्याङस्टर फिल्म 'गंगुबाई कोठेवाली' को । भन्सालीले प्रियंकालाई लिएर उक्त फिल्म बनाउने चर्चा १ वर्षअघि चलेको थियो । तर, अहिले आएर प्रियंकाले 'भारत' जस्तै यो फिल्म पनि अन्तिम समयमा छोडिदिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रियंकाको आकस्मिक निर्णयबाट निर्माता तथा निर्देशक भन्साली आश्चर्यमा परेको जनाइएको छ। भारतीय सञ्चार माध्यम अनुसार, निर्देशक भन्सालीले फिल्म बनाउने तयारी गरिरहँदा प्रियंका हलिउड फिल्म 'काउब्वाई निन्जा भाइकिङ' मा अनुबन्धित भएका कारण उक्त प्रोजेक्टबाट पनि पन्छिएकी हुन्।

प्रियंका फिल्मबाट पछि हटेसँगै भन्सालीले 'गंगुबाई कोठेवाली' निर्माणको योजना तत्कालका लागि थाती राखेका छन्। हलिउड फिल्म तथा टिभी सिरियलमा व्यस्त भएपछि प्रियंका पछिल्ला वर्षहरुमा बलिउडदेखि टाढिँदै गएकी छन्। यद्यपि उनले सोनाली बोसको निर्देशनमा बन्ने 'द स्काई इज पिंक' मा भने काम गर्नेछिन् । 'भारत' बाट बलिउडमा पुनरागमन गर्ने अपेक्षा गरिएकी उनी अब सोनालीको फिल्मबाट फर्किने भएकी छन्।
– एजेन्सी

प्रतिकृया दिनुहोस