‘पण्डितबाजेको लौरी’, ‘नथिया’ र ‘ऐलानी’ लाई आयोगको पत्र
राष्ट्रिय मानवअधिकार आयोगले चलचित्र “पण्डित बाजेको लौरी” र उपन्यास कृति “नथिया”र “ऐलानी”मा प्रयुक्त शव्द र सन्दर्भहरुले बादी समुदायको आत्मसम्मानमा ठेस पुगेको भन्दै निर्माता र लेखकसँग वादी समुदायप्रतिको धारणा माग गरेको छ ।
आयोगले सञ्चारमन्त्रालयसँग पनि सो सम्बन्धमा जानकारी मागेको छ ।
आयोगद्वारा जारी विज्ञप्तिमा बादी समुदायको सम्मानपूर्वक बाँच्न पाउने हक र मानव अधिकारको निर्वाध उपभोगको प्रत्याभूतिका सम्बन्धमा राष्ट्रिय बादी परिषद्का तर्फबाट राष्ट्रिय मानव अधिकार आयोगमा ध्यानाकर्षण पत्र प्राप्त भएको उल्लेख छ ।
विज्ञप्तिमा भनिएको छ, “नेपालको संविधानको धारा १६ (१) मा सम्मानपूर्वक बाँच्न पाउने हक र धारा २४ (३) मा छुवाछुत तथा जातीय विभेद विरुद्धको हकको व्यवस्था रहेको एवम् मुलुकी ऐन, अदलको महल १० (क) ले कसैलाई धर्म, वर्ण वा कामको आधारमा छुवाछुत, भेदभावपूर्ण व्यवहार र वहिष्कार वा निषेध गर्न नपाउने व्यवस्था प्रति गम्भीर रहन राष्ट्रिय मानव अधिकार आयोग आग्रह गर्दछ ।”
सम्बन्धित समाचार: ‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ प्रति वादी समुदायको आपत्ति