टिप्पणीशनिवार, श्रावण १९, २०७५

दुर्लभ रैथाने गुराँस

हिमालखबर

कमल मादेन

सुन्दर फूल फुल्ने रैथाने गुराँस ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को संरक्षण नगर्ने हो भने यो हेर्नकै लागि बेलायत पुग्नुपर्ने हुन सक्छ ।

रोडोडेन्ड्रोन लेपिडोटम ल्वोन्डेसी । तस्वीर: कमल मादेन

गुराँसको एक प्रजाति लालीगुराँसलाई संविधानले राष्ट्रिय फूलको मान्यता प्रदान गरेको छ । यसैले आम नेपालीमाझ लालीगुराँस परिचित फूल हो । तर, पहाडी र हिमाली भेगमा मात्र पाइने लालीगुराँस तराईका बासिन्दाले भने टेलिभिजन वा तस्वीरमै हेरेर चित्त बुझाउनुपर्छ । वास्तविक स्वरुप प्रत्यक्ष अनुभूत गर्ने भए प्राकृतिक वासस्थानसम्म पुग्नुपर्छ । 

तराईका बासिन्दाको निम्ति लालीगुराँस दुर्लभ भए झैं गुराँसबारे अध्ययन अनुसन्धान गर्नेका निम्ति नेपालमा पाइने सबै ३३ प्रजाति देख्ने अवसर हम्मेसी जुर्दैन । त्यसमा पनि नेपालबाहेक अन्त कतै नपाइने रैथाने गुराँसका प्रजाति अवलोकन गर्ने अवसर निश्चित अनुसन्धानकर्ताले मात्रै पाएका छन् ।

ती दुई प्रजातिमध्ये एकको वनस्पतीय नाम ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ हो । यो प्रजाति मध्य तथा पश्चिम नेपालका केही जिल्लामा सीमित मात्रामा पाइन्छ । यसअघि बोट मात्रै देखेको पंक्तिकारले गएको जेठमा म्याग्दी जिल्लामा फुलेकै अवस्थामा यो प्रजाति हेर्ने अवसर पायो ।

म्याग्दी जिल्लास्थित मिरिष्टी खोला हाइड्रो–इलेक्ट्रिक प्रोजेक्टले त्यस क्षेत्रको जैविक विविधताबारे एउटा टोली बनाएर अनुसन्धान गर्दैछ । यसै सिलसिलामा पंक्तिकार सहित कुलप्रसाद लिम्बू (विराटनगर) र राजेन्द्र बसौला (पोखरा) को टोली जेठको अन्तिम साता मिरिष्टी खोलाको किनारैकिनार अन्नपूर्ण प्रथमको आधारशिविर नजिक पुगेको थियो ।

अस्थायी पुलबाट खोला नाघेर, ठाडो भीरको डिलैडिल वनस्पति तथा जन्तुका तस्वीर खिच्दै, नमूना संकलन गर्दै जाँदा तीन रात ओडारको बास भयो । चौथो दिन हुम खोलाको झोलुङ्गे पुलनेर ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ देखियो । ठूलो ढुङ्गामाथि पलाएका झारहरूसँगै यो गुराँस फुलेको देखेपछि थकान यसै हरायो । सिजन सकिएकाले होला, बोटमा दुईचार वटा मात्रै फूल थिए । सहयोगी झपेन्द्र बुदुजा पुनको सहयोगमा तस्वीर खिचियो– माइक्रो लेन्सले ।

सानो फूल, ठूला पात
बेलायतका डिजे लोन्डेस्ले सर्वप्रथम सन् १९५० मा मनाङ जिल्लास्थित अन्नपूर्ण प्रथम हिमालको उत्तरतर्फ मस्र्याङ्दी उपत्यकाको खाङसार, तिलिचो लगायतका स्थानमा ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ फेला पारेका थिए । उनले यो प्रजातिको गुराँस दुई इन्च जति अग्लो बोटमा एक वा दुई वटासम्म हल्का पहेंलो फुलेको भेट्टाएको उल्लेख गरेका छन् ।

लोन्डेस्ले उक्त प्रजाति सबैभन्दा पहिले फेला पारे पनि नामकरण भने विश्वकै गुराँस ज्ञाता एचएच डेभिडियनले गरे । सन् १९५२ मा उनले उक्त गुराँसको नाम जुराइदिए– ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ । 

मिरिष्टी खोलाको उद्गमस्थल अन्नपूर्ण प्रथम हो । यसकै एउटा हाँगो हो हुम खोला । जेठको अन्तिम साता हुम खोला किनारमा पाइएको ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को बोट जमीनमाथि ४ इन्च जति उठेको थियो । काण्डको एक इन्च जति भाग जमीनमै लत्रेको थियो । पातको लम्बाइ ०.६ इन्च र चौडाइ ०.२ इन्च थियो । पातको वरिपरि धार (मार्जिन) मा करीब १ मिलिमिटर जति लम्बाइका मसिना रौं थिए । यस्तो रौं काण्डमा समेत रहेको प्रष्टै थाहा पाइन्थ्यो ।

‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को पूmल पातको तुलनामा निकै ठूलो हुन्छ । हल्का सेतो पहेंलो रंगको फूल ०.८ इन्च चौडासम्मको पाइयो । फूलको पछिल्तिरको पुष्पपत्र र त्यससँग जोडिएका दुई पुष्पपत्रमा प्रष्ट देखिने गाढा पहेंलो बुट्टा थियो । झ्वाट्ट हेर्दा यो फूल गुराँसकै अर्को प्रजाति ‘रोडोडेन्ड्रन लेपिडोटम्’ सँग मिल्छ ।

तर, दुवै प्रजातिका पात र बोटमा भने स्पष्ट भिन्नता हुन्छ । ‘रोडोडेन्ड्रन लेपिडोटम्’ को पात तथा काण्डमा रौं हुँदैन र फूल हल्का रातो हुन्छ । यसको पुङ्केसर ८ देखि १० वटासम्म हुन्छ भने ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को १० वटा । यसैगरी अघिल्लोको पुङ्केसरको तल्लो भागमा बाक्लो रौं हुन्छ भने पछिल्लोको त्यही भाग चिल्लो हुन्छ ।

दुर्लभ वनस्पति
केशवराज राजभण्डारी र मार्क एफ. वाट्सनद्वारा सन् २००५ मा लिखित रोडोडेन्ड्रन्स अफ नेपाल पुस्तकका अनुसार ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ विशेषतः मुस्ताङ, मनाङ जिल्लाबाट संकलन भएको छ । मुस्ताङको मार्फा–आलुबारी, मुक्तिनाथ, टुकुचा, टाग्लुङका अतिरिक्त अन्नपूर्ण तेस्रोको उत्तरी मोहडा र लमजुङ हिमालमा पनि यो पाइएको उल्लेख छ ।

यसैगरी पश्चिम नेपालका जिल्ला नखुलेको ठाउँहरू– बरबुङ खोला, लुलो खोला र डोल्पाको फोक्सुन्डो खोला क्षेत्रबाट पनि ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को विवरण संकलन गरिएको भेटिन्छ । यी तथ्यहरूबाट भन्न सकिन्छ, ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ पश्चिम र मध्य नेपालका सीमित जिल्लामा कतैकतै पाइन्छ । 

नेपालको उच्च हिमाली भेगमा पाइने धेरै वनस्पति बेलायतमा पनि उमारिएका छन् । ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ पनि बेलायत र स्कटल्याण्डमा आधा शताब्दी अघि नै नेपालबाट बीउ लगेर हुर्काइएको छ । अन्यत्र उमारेर हुर्काइए पनि यो प्रजाति प्राकृतिक रूपमा नेपालमा मात्र पाइने हुँदा, नेपालको इन्डेमिक अर्थात् रैथाने भनेर चिनिन्छ ।

अन्नपूर्ण प्रथमको आधारशिविर नजिक एक रात बास बसेको ओडार ।

नेपालका वनबारे अध्ययन गरेका बेलायती नागरिक जेडिए स्टेन्टनले सन् १९५४ मा माथिल्लो कालीगण्डकी क्षेत्रबाट ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ को बीउ बेलायत पुर्‍याएका हुन् । उनले अन्य वनस्पतिका बीउ पनि प्रशस्तै संकलन गरे होलान् । त्यसबारे भने अभिलेख छैन । यद्यपि सन् १९७८ मा प्रकाशित हिरोसी हारा, डब्ल्यूटी स्टर्न र एलएचजे विलियम्स सम्पादित एन इनुमरेसन अफ द फ्लावरिङ प्लान्टस् अफ नेपाल–१ अनुसार बेलायतमा ‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ सहित नेपालका अन्य १५ प्रजातिका गुराँस रोपिएका थिए ।

नेपालबाट वनस्पतिका बीउ संकलन गरेर लैजानेमध्येका मुख्य हुन्, बेलायतका रोय लान्कास्टर । सन् १९७१ मा उनी सहितको टोलीले पूर्वी नेपालको उच्च हिमाली भेगमा तीन महीना बीउ संकलन गरेर बेलायत लगेको लान्कास्टर लिखित अ प्लान्टस्म्यान इन नेपाल (सन् १९९५) पुस्तकमा उल्लेख छ ।

‘रोडोडेन्ड्रन ल्वोन्डेसी’ केही जिल्लामा, कतैकतै मात्रै पाइने भएकाले दुर्लभ वनस्पति त हो नै, यसको विभिन्न कोणमा खिचिएको तस्वीर पनि शायदै छापिएको छ । केशवराज राजभण्डारी र मार्क एफ. वाट्सन लिखित रोडोडेन्ड्रन्स अफ नेपाल (सन् २००५) पुस्तकमा एउटा मात्र तस्वीर छापिएको छ ।

नेपाल सरकारको वन नीति २०७१ ले ‘संकटापन्न, दुर्लभ, लोपोन्मुख वनस्पति र वन्यजन्तुको स्व–स्थानीय र पर–स्थानीय संरक्षण गरिनेछ’ भनेको छ । तर, अहिलेसम्म यस्ता वनस्पतिको संरक्षण कहाँ कहाँ गरियो, जानकारी छैन । यसतर्फ वन मन्त्रालयले ध्यान दिनुपर्छ । अन्यथा, सुन्दर फूल फुल्ने नेपालको एकथरी रैथाने गुराँस हेर्न बेलायत नै पुग्नुपर्ने हुनसक्छ ।

प्रतिकृया दिनुहोस