टिप्पणीशनिवार, श्रावण १९, २०७५

विशृङ्खलित इतिहास

वसन्त महर्जन

आधुनिक नेपाल निर्माण हुनुअघि काठमाडौं उपत्यकामा कान्तिपुर, भक्तपुर र ललितपुर गरी तीन वटा मल्ल राज्य र गोरखा पश्चिम बाइसी–चौबिसी राज्य थिए भनेर बुझ्नु गल्ती नै त होइन, तर अधकल्चो भने अवश्य हो ।

दैलेखको पादुकास्थानस्थित खस राजा अशोक चल्लकालीन अभिलेख सहितको खम्बा जसमा अक्षोभ्य बुद्धको मूर्ति कुँदिएको छ । नेपाली भाषामा प्राप्त हालसम्मको सबैभन्दा पुरानो भनी मानिएको चर्चित यो अभिलेख इतिहास अध्ययनका लागि महत्वपूर्ण छ । तस्वीर: वसन्त महर्जन

नेपाली इतिहासको चर्चा गर्दा प्रायको बुझइ काठमाडौं उपत्यकाकेन्द्रित हुने गर्छ । यो बुझाइलाई अलि विस्तृत गर्दा पृथ्वीनारायण शाह र गोरखा राज्यसम्म पुग्छ । गोरखा राज्यबारे धेरथोर जानकारी राख्नेहरू पनि लिगलिगकोटको दौड प्रतियोगिता जितेर राजा बनेका लमजुङका राजकुमार द्रव्य शाहले त्यसलगत्तै घले शासित गोरखामा चढाइँ गरेर अधीन पारेको र गोरखा राज्यको इतिहास शुरू भएकोसम्म बुझ्छन् । तर, गोरखाको इतिहास लिच्छविकालीन नेपालसँग सम्बन्धित भएको तथ्य भुल्न मिल्दैन । 

बाइसी–चौबिसी राज्य भन्नाले ४६ वटा राज्य बुझ्नुहुँदैन । समयक्रममा ती राज्यहरूको संख्यामा थपघट भएका छन् । फेरि, यो राजनीतिक भूगोल काठमाडौं उपत्यकाभन्दा पश्चिमको मात्र हो । बाह्रौंदेखि पन्ध्रौं शताब्दीसम्म सिंजा उपत्यका र दुल्लु गरी दुई वटा राजधानी बनाई विकास भएको विशाल खस साम्राज्य विघटन भएपछि मात्र बाइसी, चौबिसी राज्यहरू देखा परेका हुन् । १२औं शताब्दी अघिको त्यस क्षेत्रको इतिहास अध्ययनमा खासै काम भएको छैन । त्यस क्षेत्रको वस्तुस्थिति हेर्दा इतिहास अध्ययनका सामग्रीहरू पाइन सक्ने संभावना भने जीवितै छ ।

तत्कालीन नेपाल (काठमाडौंं उपत्यका र वरिपरिका क्षेत्र) भन्दा पश्चिमतिरको इतिहास खोज्नेहरूमा दन्त्यकथालाई इतिहास भन्नेहरूको होहल्ला बढी छ । सिमरौनगढमाथि दिल्लीका बादशाह गयासुद्दिन तुगलगको आक्रमण (विसं १३८१) पछि कर्नाटवंंशी राजाहरूको पतन र सिमरौनगढ राज्य विभाजनको चर्चा केही पुस्तक र इतिहास अध्ययनमा जीवन अर्पेका केही व्यक्तिहरूको जानकारीमा सीमित छ ।

समग्र नेपालको इतिहासको सन्दर्भमा ‘डोमिनेटेड एरिया’ को रूपमा देखापर्ने तत्कालीन नेपालको पुरातात्विक अवशेष पनि लिच्छविकालीन भन्दा अघिको भेट्टाउन सकिएको छैन । गौतम बुद्ध (ई.पू.५६३ ४८३) लाई नेपाली माने पनि कपिलवस्तुको इतिहासलाई नेपालको इतिहास भनेर स्वीकार्न नसक्नु ताजुबको विषय बनेको छ ।

बौद्ध ग्रन्थ, चिनियाँ यात्रीका वर्णन तथा अन्य स्रोतले उल्लेख गरेका कुराहरू कपिलवस्तु र वरपरका ठाउँहरूमा अझै पाइनु र गौतम बुद्धको जन्मस्थल चिनाउन इ.पू.२४९ मा गाडिएको अभिलेख सहितको अशोकस्तम्भ लुम्बिनीमा पाइनु चाहिं सुखद पक्ष हो । नेपाली इतिहासको सिलसिलाबद्ध खोजी भने अझै हुनसकेको छैन । इतिहास अध्ययनमा लामो समयदेखि कायम नकारात्मक सोच र उदासीनका कारण विशृङ्खलित र अपुरो इतिहासमा चित्त बुझाएर बस्नुपर्ने अवस्था छ ।

नेपाली इतिहास अध्ययनको शुरूआत विदेशीहरूबाट भए पनि त्यसलाई निरन्तरता दिने काम भने स्वदेशीबाट नै भयो । शासकहरूले इतिहासलाई आफ्नो गुणगान गर्ने शास्त्रको रूपमा बुझेर दुरुपयोग गरे । नेपाली इतिहासको समग्र अध्ययनलाई पर्गेल्ने हो भने यसमाथि बढी लगानी स्वेच्छिक रूपमा जनस्तरबाट भएको पाइन्छ ।

त्रिभुवन विश्वविद्यालय (त्रिवि) को नेपाल तथा एशिया अनुसन्धान केन्द्र (सिनास) मा बनेको राष्ट्रिय इतिहास लेखन परियोजना केही समयपछि नै सेलायो । यस्तो परियोजना पुनः थाल्नु आवश्यक छ ।

अचम्म के भने, शासकहरू ‘इतिहास बिर्सनुहुँदैन, पुर्खाको नासो’ आदि शब्दावली प्रयोग गर्दै सही इतिहास मास्न उद्यत भए । वास्तविक इतिहास अध्ययनमा शासकहरू प्रमुख बाधक बने । विकासका नाममा इतिहास मास्ने काम अहिले पनि जारी छ । इतिहास अध्येताहरूको कुरामा सुनुवाइ हुँदैन । भोटको राजनीति गर्नेहरू नै सर्वज्ञानी बन्ने डरलाग्दो प्रवृत्ति हावी भएको देखिन्छ ।

त्रिविमा इतिहास केन्द्रीय विभाग छ, तर विद्यार्थी छैनन् । इतिहासप्रतिको सामाजिक उदासीनता देखाउन त्रिविको इतिहास विभागको शून्यता काफी छ । यसलाई निकट भविष्यमा आउने खतराको ‘साइरन’ को रूपमा बुझ्नुपर्छ । इतिहासको अध्ययन भूतकाल थाहा पाउन मात्र गरिंदैन, वर्तमान चलाउन र भविष्य बनाउन पनि यो शास्त्रको अध्ययन आवश्यक छ । यो मान्यतालाई आत्मसात् गर्न नसकेसम्म इतिहासको अध्ययन उपेक्षित हुनुका साथै दुरुपयोग हुने पक्का छ ।

प्रतिकृया दिनुहोस