ब्लगशनिवार, श्रावण १९, २०७५

‘हिजो राति डा. गिरीले राजा भेट्यो’

भैरव रिसाल

त्यो दिन सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’

“हिजो राति डा. गिरीले राजा भेट्यो” सूर्यप्रसाद उपाध्यायले भने, “त्यसो भन्ने मान्छे सरकारी गुप्तचर थियो ।” 

गुप्तचर विभाग गृहमन्त्री मातहत थियो भने उपाध्याय गृह र कानूनमन्त्री थिए । प्रधानमन्त्री थिए, विश्वेश्वरप्रसाद कोइराला । डा. तुलसी गिरीले २०१७ भदौ ३० गते नै परराष्ट्रमन्त्री पदबाट राजीनामा दिएका थिए, ‘सरकारले जति काम गर्न सक्थ्यो त्यति गरेन’ भनेर ।

राजनीतिको अन्तर्यमा अनिष्टका अनेक शंका–उपशंका उब्जिसकेका थिए । राजा महेन्द्रले संसदीय पद्धति विरुद्ध केही गर्दैछन् भन्ने गाइँगुइँ कूटनीतिक क्षेत्रमा थियो । डा. गिरीले सरकारको काम–कारबाहीप्रति असन्तुष्टि देखाई राजीनामा दिनु र गोप्य रूपमा राजालाई भेट्नु आँधीबेरी आउनुअघि आकाशमा देखिएका अनिष्ट जस्तै थिए । नभन्दै राजदरबारमा कोइराला सरकार ढाल्ने खिचडी पाक्दै रहेछ ।

सूचनाको साँचो
राजदरबारले गर्ने सरकार विरुद्धको षड्यन्त्र स्वयं सरकारलाई नै थाहा नहुने रहेछ । डा. गिरीले राजालाई भेटेको त्यो सूचनाले सरकारको आँखा खुल्न लागेछ । उपाध्याय भन्दैथिए, “त्यो पाँच शब्दको सूचनाले धेरै कुराको संकेत दियो ।”

डा. तुलसी गिरी । तस्वीर: हिमाल आर्काइभ

गुप्तचरको पोशाक बेढंगको हुन्थ्यो– धोतीमाथि कमिज र कोट, कोटमाथि उपर्ना, टाउकोमा टोपी, बगलीभरि पशुपतिनाथको चन्दन र फूल–प्रसाद ।

ती गुप्तचर सधैंजसो बिहान पशुपतिबाट टीका र फूल–प्रसाद लिई राजदरबारको पश्चिम ढोकामा गई सेनाका अफिसरदेखि जवानसम्मलाई प्रसाद दिने, टीका लाइदिने गर्थे । सानादेखि ठूलासम्मलाई आशीर्वाद पनि दिन्थे, ठूलो स्वरमा भट्याईभट्याई । क्षण–क्षणमा उनले सिपाहीहरूसँग विना सिलसिला, विना प्रसङ्ग र बेतुकका कुरा पनि गर्थे ।

यदाकदा हल्का खालका अपशब्द पनि प्रयोग गर्ने बानी थियो तिनको । सेनाका जवानहरूलाई मनोरञ्जन दिई दरबारका कुरा थाहा पाउनु उनको ड्यूटी रहेछ । त्यो दिन उनलाई सेनाका जवानले भनेछन्, ‘बाजे, थाहा पायौ ? हिजो राति डा. तुलसी गिरीले सरकारको दर्शन गरे नि !’

तिनै गुप्तचरले गृहमन्त्रीलाई यो सूचना दिएका रहेछन् । वास्तवमा सरकारका लागि त्यो सानो सूचना ठूलो सूचनाको ढोका खोल्ने साँचो थियो । गुप्तचरी विधिमा त्यस्तै छोटा वाक्यले अरू धेरै सूचना खोज्न ढोका खोलिदिन्छ ।

राजालाई भेट गर्दा को को थिए, या एक्लै थिए, कतिबेर कुरा गरे, फर्कंदा अनुहार (प्रसन्न वा खिन्न) कस्तो थियो– यस्ता सूचनाले धेरै संकेत गर्छ । गुप्तचरीमा विस्तृत कुरा पत्ता लगाउन एकभन्दा बढी स्रोत परिचालन गर्नुपर्ने भन्दै सूर्यबाबुले गुप्तचर प्रणालीको विस्तृत सूचना नै दिए । उनी निकै सहयोगी थिए, हामी पत्रकारका लागि ।

गिरी र थापा फकिएछन्
त्यतिबेला नेपाली कांग्रेसमा विश्वेश्वरप्रसाद, सुवर्णशमशेर, गणेशमान सिंह, सूर्यप्रसाद उपाध्याय, कृष्णप्रसाद भट्टराई, डा. तुलसी गिरी, विश्वबन्धु थापा, श्रीभद्र शर्मा, महेन्द्रनारायण निधि, परशुनारायण चौधरी लगायत नेताहरू आ–आफ्नोपनका लागि महत्वपूर्ण मानिन्थे । यीमध्ये अरूलाई आफ्नो पक्षमा ल्याउन नसक्ने देखेपछि महेन्द्रले डा. गिरी र थापाको मनपेट बुझी जाल हानेछन् ।

गिरीले पछिसम्म साथ दिने कुरामा ढुक्क हुन नसकेपछि गिरीको अग्निपरीक्षा गर्न मन्त्रीबाट राजीनामा गर्न पनि भनेछन् । शायद पछि प्रधानमन्त्री बनाउने सुर्केनी पनि हाले होलान् । प्रधानमन्त्री नै हुने लोभमा डा. गिरीले कोइराला सरकारको परराष्ट्रमन्त्री पदबाट राजीनामा गरेको अनुमान गरियो ।

विश्वबन्धु थापा प्रतिनिधिसभामा नेपाली कांग्रेसका ‘चीफ ह्विप’ नै थिए । उनी अमेरिकामा हुने संयुक्त राष्ट्रसंघको १५औं अधिवेशनमा भाग लिंदै थिए, २०१७ असोज १५ देखि । यता, राजाको पुस १ को ‘कु’ पछि डा. गिरी पनि थुनिएका थिए, जो ५ पुसमा छुटे । त्यो काण्डको पक्राउपछि छुट्नेमा उनी पहिलो हुन् । ७ पुसमा अमेरिकाबाट फर्कंदै गरेका विश्वबन्धु त्रिभुवन विमानस्थलमै पक्राउ परी केही घण्टामै छुटे ।

असोजदेखि नेपालमा नभएका विश्वबन्धुसँग दरबारले शायद सम्पर्क गर्‍यो र उनी नेपाल फर्केका हुन सक्छन् । यद्यपि विश्वबन्धुले मुख नखोली यो मुद्दा टुङ्गिदैन ।

राजा महेन्द्रले २०१७ पुस १२ गते १० सदस्यीय मन्त्रिपरिषद् बनाए, जसमा डा. गिरी परराष्ट्र, रक्षा, नहर, निर्माण तथा संचार, विद्युत् तथा राजदरबार र विश्वबन्धु गृह, विकास र स्थानीय स्वायत्त शासनमन्त्री भए । पछि डा. गिरी मन्त्रिपरिषद्का उपाध्यक्ष, अध्यक्षमा र विश्वबन्धु पनि उपाध्यक्षमा बढुवा भए ।

डायरी पाउने भए !
‘डा. गिरीले राजा भेटेको’ गुप्तचरको सूचनापछि गृहमन्त्री उपाध्यायले के गरे भन्ने उनको डायरीमा हुनुपर्ने हो । उपाध्याय पक्कै पनि डायरी लेख्थे होलान्, जो प्राप्त छैन । त्यस्ता व्यक्तिका परिवारले डायरी प्रकाशित गर्ने चलन बसेको छैन, हामीकहाँ । त्यसकारण इतिहासमा पर्दापछाडि के के घटना–परिघटना भए भन्ने हामीलाई थाहा हुँदैन । उक्त गुप्तचरको सूचनापछि पनि के भयो भन्ने अन्धकारमा छ ।

गृहमन्त्रीले पत्रकारलाई कति विश्वासमा लिन्थे, हामी कति विश्वासपात्र थियौं, यसको राम्रो उदाहरण हो माथिको घटना । गुप्तचरीय शास्त्र र संहिताको दुनियाँ गम्भीर एवं रहस्यमयी रहेछ भन्ने सूर्यबाबुले हामीलाई बुझाए ।

प्रतिकृया दिनुहोस