थप समाचारशनिवार, श्रावण १९, २०७५

एप्पलको बजार मूल्य १० खर्ब डलर

हिमालखबर

Apple-Inc-AP

आइपड, आइफोन र आइप्याडको उत्पादक कम्पनी एप्पल बजार मूल्य १० खर्ब अमेरिकी डलर पुग्ने निजी क्षेत्रको पहिलो कम्पनी भएको छ ।

१७ साउनको दिन वाल स्ट्रिटमा एप्पलको प्रति सेयर मूल्य २०७.३९ अमेरिकी डलर कायम भएको छ। अमेरिकाको क्यालिफोर्नियामा प्रधान कार्यालय रहेको प्रविधि कम्पनी एप्पलको पहिलो त्रैमासिकमा आम्दानी बढेको विवरण सार्वजनिक भएलगत्तै सेयर मूल्यले नयाँ उचाई छोएको हो।

यो ऐतिहासिक सफलता खासगरी सन् २०११ यता प्रमुख कार्यकारीका रुपमा नियुक्त भएका टीम कूकका लागि विशेष महत्वको छ । एप्पलका संस्थापक स्टीभ जब्स गम्भीर बिरामी भएपछि प्रमुख कार्यकारीको पदमा नियुक्त उनीमाथि कम्पनीलाई प्रतिस्पर्धी बनाउन चौतर्फी दबाब थियो। एप्पलका संस्थापक जब्सको अक्टोबर २०११ मा निधन भएको थियो।

स्टीभ जब्सको निधनपछि, विश्लेषकहरु र अरु उद्योग क्षेत्रका जानकारहरुले जब्सले झैं कूकले नयाँनयाँ र विशिष्ट प्रविधि भित्र्याउने कुरामा शंका व्यक्त गरेका थिए ।

तर कूकले ठोस वित्तीय नतिजासँगै विस्तारै लगानीकर्ताको मन जित्न सफल भए र एप्पलका उत्पादनहरु उनले चीन र अरु विदेशी बजारमा विस्तार गर्न सक्षम भए। यो स्तरमा पुग्ने एप्पल नै पहिलो निजी क्षेत्रको कम्पनी हो ।


अमेरिकी प्रविधि कम्पनीहरुले फैलिदो बजारमा आफ्नो प्रभावलाई राम्रैसँग स्थापित गरेका छन्, र अहिले सेयर मूल्यका आधारमा पाँच उत्कृष्ट कम्पनीमा पहिचान बनाएका छन् । एप्पलको पछिपछि एमेजोन, गुगल, माइक्रोसफ्ट र फेसबुक छन् ।

विश्व बैंकको सन् २०१६ को तथ्याङ्क अनुसार, १० खर्ब डलर भनेको इन्डोनेसियाको झण्डै वार्षिक कूल गार्हस्थ्य उत्पादन बराबर हो, र बेल्जियमको भन्दा दोब्बर ।
– एएफपी

प्रतिकृया दिनुहोस