नेपालको एतिहासिक एक दिवसीय श्रृंखला बराबरीमा, नेदरल्याण्ड्समाथि १ रनको रोमाञ्चक जित
नेदरल्याण्ड्ससँग भएको दोस्रो एक दिवसीय खेलमा नेपालले रोमाञ्चक जीत हात पारेको छ । अन्तिम बलसम्म पुगेको खेल नेपालले १ रनले जितेको हो ।
यो जितसँगै नेपालले एकदिवसी मान्यता पाएपछिको पहिलो श्रृंखला १–१ को बराबरीमा टुंग्याएको छ।
टस जितेर पहिले व्याटिङ रोजेको नेपालले ४८.५ ओभरमा सबै विकेट गुमाउँदै २१६ रनको योगफल तयार पारेको थियो । नेपालका लागि सोमपाल कामीले सर्वाधिक ६१ र कप्तान पारस खड्काले ५१ रन बनाए।
२१७ रनको लक्ष्य पछ्याएको नेदरल्याण्ड्स ३० रनभित्र दुइ विकेट गुमाए पनि तेस्रो विकेटमा ८४ रनको साझेदारी गर्दै जिततर्फ अग्रसर भएको थियो । तर, सन्दीप लामिछानेले तीन बलमा दुई विकेट लिँदै नेपाललाई खेलमा फर्काएका थिए।
अन्तिम ओभरमा नेदरल्याण्ड्सलाई ६ बलमा ६ रन आवश्यक रहेका बेला बलिङमा आएका कप्तान पारसले १ बलमा २ रन आवश्यक हुँदा एफजे क्लासेनलाई रनआउट गर्दै श्रृंखलालाई सुखद समाप्तिमा पुर्याए।
बलिङतर्फ नेपालका सन्दीप लामिछानेले ३, ललितसिंह भण्डारीले २ तथा कप्तान पारस, सोमपाल कामी, बसन्त रेग्मी र दीपेन्द्रसिंह ऐरीले एकएक विकेट लिए । शानदार अलराउण्ड प्रदर्शन गरेका सोमपाल म्याद अफ द म्याच घोषित भए।