नेदरल्याण्ड्सविरुद्ध वानडेः नेपाललाई बराबरी गर्ने मौका
नेपालले आज, १८ साउनमा नेदरल्याण्ड्सविरुद्ध दोस्रो एकदिवसीय खेलमा प्रतिस्पर्धा गर्दैछ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग पराजय भोगेको नेपाल यो खेलमा जित हात पार्न सकेको खण्डमा पहिलो एकदिवसीय शृंखला बराबरीमा टुंग्याउन सफल हुनेछ । कप्तान पारस खड्काले भनेका छन्, “हामी दोस्रो खेलमा जितका लागि मैदानमा उत्रिनेछौं ।”
नेदरल्याण्ड्सविरुद्धको पहिलो एक दिवसीय खेलमा उत्कृष्ट बलिङ र फिल्डिङको प्रदर्शन गरे पनि नेपाल फेरि एकपल्ट व्याटिङमा फितलो देखिएको थियो ।
नेदरल्याण्ड्सलाई १८९ रनको मध्यम योगफलमा रोक्न सेकेको नेपालले ४१.५ ओभरमा सबै विकेट गुमाई १३४ रनमा सीमित भएकोे थियो ।
बलिङतर्फ कप्तान पारस खड्काले ४, सोमपाल कामीले ३, संदीप लामिछाने, करण केसी र बसन्त रेग्मीले १–१ विकेट लिएका थिए ।
ब्याटिङमा राम्रो शुरुवात गरेको नेपालले पहिलो विकेट अनिलकुमार साहलाई गुमाउँदा ५८ रन जोडेको थियो । तर मध्यक्रम टिक्न नसक्दा नेपालले हार व्यहोर्नु पर्यो ।
ओपनर ज्ञानेन्द्र मल्लले ५१, अनिलकुमार साहले २१, कप्तान खड्काले १२, दिपेन्द्रसिंह ऐरीले ३३ रन बनाए पनि बाँकी ब्याट्सम्यानले दोहोरो अंक बनाउन सकेनन् ।
सोमपाल कामी, वसन्त रेग्मी, आरिम शेख र करण केसी शून्यमै आउट भए ।
दोस्रो खेलमा नेपाली टिममा केही हेरफेर हुने सम्भावना छ । चोटका कारण शरद भेषवाकर खेल्ने छैनन् । शरद र शक्ति गौचनको ठाउँमा सुवास खकुरेल र रोहितकुमार पौडेलले खेल्ने सम्भावना छ ।