एउटा कुकुर मर्दा किन दुःखी भए इटालीका हजारौं मानिस ?
अगस्ट २०१६ मा मध्य इटालीमा भूकम्प गयो। कैयौं घर क्षणभरमै तहसनहस भए । भत्किएका घरको खण्डहरमा च्यापिएका मानिसको उद्धारमा सयौं उद्धारकर्मीसँगै एउटा कुकुर पनि खटिएको थियो । काओस नाम गरेको त्यो कुकुरले भवनहरुमा च्यापिएका मानिसहरुको खोजी गर्दै कैयौंलाई बचायो।
धेरैको जीवन रक्षा गरेको काओसलाई इटालीका जनताले 'हिरो कुकुर' को संज्ञा दिएका थिए। दुई सय ५० भन्दा बढीको मृत्यु र चार हजारभन्दा बढी मानिस विस्थापित गराएको भूकम्पमा मानवीय क्षति कम गर्न सघाउँदै कुकुरले मानवीय संवेदना बटुल्यो।
दुई वर्षअघि हाईहाई गरिरहेका इटालीवासी गत २८ जुलाईमा त्यही कुकुरका लागि भावुक बने। भूकम्पमा धेरैलाई जीवन दिएको कुकुर मरेको खबर सामाजिक सञ्जाल फेसबुक र ट्विटरमा आएपछि उनीहरु शोकमा परेका हुन्।
कुकुरका मालिक फाबियानो इटोरले २८ जूलाईमा काओस (जर्मन शेफर्ड) मरेको भन्दै फेसबुकमा पुरानो भिडियो पोस्ट गरेका छन्। जसप्रति हजारौं मानिसले दुःख प्रकट गरेका छन् भने धेरैले भूकम्पपछिको उद्धारमा कुकुरको भूमिका सम्झिएका छन्। उक्त फेसबुक पोस्टलाई अहिलेसम्म ७१ हजारभन्दा बढीले सेयर गरिसकेका छन्।
कुकुरका मालिक फाबियानोका अनुसार, कसैले विष दिएका कारण कुकुर मरेको हो।
इटोरले भावुक भएर फेसबुकमा काओसलाई सम्बोधन गर्दै लेखेका छन्, "त्यहाँ पनि आफ्नो काम जारी राख्नू। जो मानिस हराएका छन्, उनीहरुको खोजी गरिरहनू र जिन्दगीहरु बचाइरहनू।" उनले कुकुरलाई अन्त्येष्टि गरेको ठाउँमा फूल चढाएको तस्बिर पनि फेसबुकमा शेयर गरेका छन्।
कुकुर मर्नु एक दिनअघि २७ जुलाईमा मालिक इटोरले कुकुर हराएको भनी फेसबुकमा सूचना राख्दै कसैले देखे/भेटेमा खबर गर्न आग्रह गरेका थिए।
त्यसको केही घन्टापछि उनले काओसको मृत्यु भएको भन्दै फेसबुकमा लेखेका थिए। इटोरले श्रद्धाञ्जली दिँदै लेखेका छन्, "तिमी एक वफादार मित्र थियौं। मेरो मित्र, दौड। रोकिने होइन!"
फेसबुकका साथै ट्विटरमा पनि मानिसहरुले 'हिरो डग' लाई सम्झिएका छन्। करीब ५० हजार ट्विटर प्रयोगकर्ताले उसलाई सम्झिँदै ट्विट गरेका छन् भने करीब १२ हजारले दुई वर्षअघिको भूकम्पको विनाश र भूकम्पपछिको उद्धारमा काओसको उदाहरणीय कामको स्मरण गरेका छन्।
एजेन्सी