व्यक्तित्वबुधवार, श्रावण १६, २०७५

नरेशमान शाक्यः जसले रोके कृष्णभीरको पहिरो

मुकेश पोखरेल

२७ साउन २०५७ मा पृथ्वीराजमार्ग अन्तर्गत कृष्णभीरमा गएको पहिरोले काठमाडौं प्रवेशको मुख्य मार्ग ११ दिनसम्म बन्द भयो ।

इन्जिनियर नरेशमान शाक्य ।

लामो समय काठमाडौं र बाहिरी जिल्लाको सम्पर्क टुटेपछि काठमाडौंमा बस्ने नीति–निर्मातादेखि इन्जिनियर र भूगर्भविद्हरुको ध्यान कृष्णभीरले खिच्यो ।

राजमार्गलाई सुचारु गर्ने र पहिरो नियन्त्रण गर्ने चुनौती सरकार सामु थियो । नेपालमा यति ठूलो पहिरोको सामना नगरेका इन्जिनियरका लागि पनि पहिरो नियन्त्रणको चुनौती थियो । ११ जेठ २०५७ मा पहिलोपटक २५० मीटर अग्लो र २०० मीटर चौडाईको पहिरो गएपछि त्यहाँ पहिरो जाने क्रम शुरु भएको हो ।

२०५७ मा कृष्णभीरमा गएको पहिरो । तस्वीरः नरेशमान शाक्य

पहिलोपटक पहिरो जाँदा १३ घण्टा र त्यसपछि ११ दिनसम्म राजमार्ग बन्द भएपछि सरकारले कृष्णभीरको पहिरो नियन्त्रणका लागि अन्तर्राष्ट्रिय प्रस्ताव आह्वान गर्‍यो ।

तर, तत्कालीन अवस्थामा सडक विभागको वार्षिक बजेटको झ्ण्डै ६० प्रतिशत बजेट एउटै पहिरो नियन्त्रणमा खर्चिनुपर्ने खालका महँगा प्रस्ताव आए । त्यतिवेला सडक विभागको वार्षिक बजेट रु.५ अर्ब थियो, झन्डै रु.३ अर्ब लाग्ने प्रस्ताव आएपछि सरकार पछि हट्यो ।

पहिरो नियन्त्रणका लागि गरिएका बाह्य प्रस्ताव असफल भएपछि सडक विभाग आफैँ काम गर्ने निष्कर्षमा पुग्यो । पहिरोमा काम गर्ने जिम्मेवारी पाएका थिए, विभागकै इन्जिनियर नरेशमान शाक्यले ।

शाक्य भन्छन् “पहिला सल्लाहकारको भूमिकामा थिएँ, पछि मलाई सम्पूर्ण अधिकारसहित पहिरो नियन्त्रणको जिम्मा दिइयो ।” उनले जमिनभित्र ड्रिल गरेर त्यहाँको समस्या पहिचान गरिसकेका थिए । त्यहाँ २० मीटरसम्म माटो मात्र थियो, ढुंगा थिएनन् ।

एक दिन भौतिक योजना तथा निर्माण मन्त्रालयका तत्कालीन सचिव भारती शर्मा कृष्णभीर पहिरोको स्थलगत अध्ययनका लागि गएका थिए । उनीसँगै थिए, नरेशमान शाक्य पनि ।

“यो बर्खामा बाटो बन्द नहुने गरी पहिरो रोक्ने काम थाल्नुस्, बजेट जति चाहिन्छ म दिन्छु,” सचिव शर्माले शाक्यसँग प्रस्ताव गरे । “यो वर्ष घटाउँछु, अर्को वर्षदेखि बन्द नै गराउँछु” शाक्यले विश्वास दिलाउँदै भने ।

गुरुयोजना नै बनाएर काम गर्ने जिम्मा पाएपछि उनी पहिरो नियन्त्रणमा लागे । पहिरो नियन्त्रणका लागि विश्वमा धेरै प्रकारका प्रविधि आएका थिए ।

तर, ती महँगो भएका कारण उनले आफ्नै सीप र प्रविधिलाई प्रयोग गरेर काम सुरु गरे । सुरुमा पानी व्यवस्थापनको चुनौती थियो ।

पानीले माटो बगाएर थप पहिरो जाने सम्भावना थियो, पानी व्यवस्थापनका लागि उनले पहिरोलाई चार भागमा विभाजन गरी कुलोमा प्लास्टिक बिच्छ्याएर पानीको सहज व्यवस्थापन गरे ।

त्यसपछि विभिन्न ठाउँमा पर्खाल लगाउँदै पहिरो नियन्त्रण गरियो । बग्ने माटोलाई नियन्त्रणमा लिन बाबियो, अम्रिसो, बाँस, बकाइनो, खयर रोपियो ।

ठूला रूख लगाउन सक्ने भू–बनोट थिएन । एक वर्षमै पहिरो गएको ठाउँ हरियाली भयो र पहिरो पनि रोकियो । कृष्णभीरको पहिरो नियन्त्रण गर्न सफल इन्जिनियर शाक्यलाई उक्त कामले अन्तर्राष्ट्रिय स्तरसम्म चिनायो ।

संसारका विभिन्न देशमा हुने प्रवचनमा उनलाई बोलाइन्छ । उनले त्यहाँ आफ्नो अनुभव सेयर गर्छन् । भुटानबाट त उनीसँग पढ्नकै लागि विद्यार्थी आउँछन् ।

 

 

प्रतिकृया दिनुहोस