महाभियोग प्रकरण: देउवाको ध्यानाकर्षण
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख आयुक्त लोकमान सिंह कार्कीविरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव चाँडै पारित गराउन माग गर्दै विद्यार्थी नेताहरुले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई ध्यानाकर्षण गराएका छन् ।
विभिन्न १३ विद्यार्थी सङ्गठनले संयुक्तरुपमा देउवा निवासमा गइ सभापति देउवालाई बुझाएको ध्यानाकर्षण पत्रमा मुलुकमा न्यायिक सर्वोच्चता कायम राखी विधिको शासन कायम गर्न प्रस्ताव अविलम्ब पारित गराउन आग्रह गरिएको छ ।
पत्र बुझेपछि सभापति देउवाले कानुनी राज्य तथा जनताको सार्वभौम अधिकारलाई गरिमामय बनाउन आफूले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गरेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।
देउवाले पार्टी र संसदीय दलको बैठकमा उक्त प्रक्रियामा बारेमा छलफल गरी जनमतअनुसार निर्णय लिने विश्वास दिलाएका थिए । विद्यार्थी संगठनहरुले आज दिउँसो बानेश्वरमा संयुक्त दबाबमुलक विरोध प्रदर्शन गर्ने भएका छन् ।
संयुक्त विद्यार्थी सङ्गठनमा नेविसङ्घ, अनेरास्ववियु, क्रान्तिकारी, मधेशी विद्यार्थी सङ्गठनलगायत १३ वटा विद्यार्थी सङ्गठन सहभागी छन् ।
रासस