कला/साहित्यबुधवार, श्रावण १६, २०७५

ऋतिक र टाइगर एक्सन फिल्ममा एकसाथ देखिँदै, हलिउडका दुई द्वन्द्व निर्देशक निर्माण टोलीमा

हिमालखबर

ऋतिक रोशन र टाइगर श्राफ एकसाथ फिल्ममा देखिने भएका छन् । यशराज फिल्म्सले बनाउने फिल्ममा नृत्य र द्वन्द्व कलामा निपुण यी दुई अभिनेता रोजाइमा परेका हुन् । फिल्मको सुटिङ विभिन्न ६ देशका १४ वटा ठूला शहरमा गरिने भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बलिउडको सबैभन्दा ठूलो एक्सन फिल्म बनाउने तयारीमा रहेको यशराज फिल्म्सले यसका लागि कुनै कसर बाँकी नछाड्ने संकेत गरेको छ । यसै क्रममा हालै यस फिल्मका लागि अन्तर्राष्ट्रिय स्तरका दुई जना स्टन्ट डाइरेक्टर अनुबन्धित भएको खबर आएको छ । यो खबरको पुष्टि गर्दै फिल्मका निर्देशक सिद्धार्थ आनन्दले एक्सन कोरियोग्राफरहरु एण्डी आर्मस्ट्रंग र मिस्टर ओहलाई फिल्ममा लिएको बताएका छन् ।

उनले बताए, ‘बलिउडमा एक्सन फिल्मको स्टाण्डर्ड बढाउने हाम्रो कोशिश हो । यसैले फिल्मका लागि हामीले सबैभन्दा ठूला एक्सन कोरियोग्राफरलाई टिममा लिएका छौं ।'

यी दुई स्टन्ट डाइरेक्टरमध्ये एण्डीले हलिउड फिल्महरु ‘द अमेजिङ स्पाइडर म्यान’, ‘द अमेजिङ स्पाइडर म्यान २’, ‘प्लानेट अफ एप्स’ र ‘चार्लिज एन्जेल्स’ मा स्टन्ट निर्देशन गरेका छन्। यस्तै, मिस्टर ओहले ‘एवेन्जर्स: एज अफ अल्ट्रन’ मा एक्सन कोरियोग्राफी गरेका छन्।

अहिलेसम्म नाम नखुलाइएको फिल्ममा ऋतिक टाइगरको गुरुको भूमिकामा देखिने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । फिल्म फिल्मको सुटिङ आउँदो सेप्टेम्बरमा सुरु गरी २०१९ को फेब्रुअरीमा पूरा गर्ने निर्माण युनिटको योजना छ । फिल्म २०१९ को अक्टोबर २ अर्थात् गान्धी जयन्तीमा रिलिज हुने बताइएको छ।

एजेन्सी

प्रतिकृया दिनुहोस