नेपाल आज ‘डेब्यू वान–डे’मा नेदरल्याण्ड्ससँग भिड्दै
नेपाली क्रिकेट टीम १६ साउनमा एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा ‘डेब्यू’ गर्दैछ । नेपाली क्रिकेटकै अहिलेसम्मको उच्चतम उपलब्धि मानिएको एकदिवसीय अन्तर्राष्ट्रियको मान्यता पाएपछिको पहिलो खेलमा नेपालले नेदरल्याण्ड्सको सामना गर्न लागेको हो ।
नेपाली समय अनुसार अहिले २:४५ बजे नेदरल्याण्ड्सको एमस्टलभिनस्थित भीआर क्रिकेट मैदानमा हुने यो खेल नेपाली क्रिकेटका निम्ति ऐतिहासिक कोशेढुंगा हुनेछ । एकदिवसीय अन्तर्राष्ट्रिय खेल्ने राष्ट्रको मान्यता पाएको सबभन्दा कान्छो, १६ औं राष्ट्र नेपाल डेब्यू खेलमै जित निकालेर यो ऐतिहासिक अवसरलाई थप अविष्मरणीय बनाउने प्रयासमा हुनेछ ।
आठ वर्षअघि अन्तर्राष्ट्रिय क्रिकेट लिग डिभिजन ५ मा रहेको नेपाल केही महिनाअघि विश्वकप छनोट प्रतियोगिता खेल्ने क्रममा एकदिवसीय मान्यता पाउने १६ राष्ट्रभित्र पर्न सफल भएको थियो । एकदिवसीय मान्यता पाएका १६ मध्ये १२ राष्ट्रले टेस्ट खेलिरहेका छन् भने नेपाललगायत नेदरल्याण्ड्स, यूएई र स्कटल्याण्ड एक दिवसीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त टेस्ट नखेल्ने राष्ट्र हुन् ।
दुइ वान डे खेल्न नेदरल्याण्ड्स पुगेको नेपाली टिमको मनोबल उच्च छ । नेदरल्याण्ड्स भ्रमणमा जानुअघि बेलायतको प्रतिष्ठित लर्डस मैदानमा त्रिकोणात्मक टी–२० सिरिज खेलेको नेपालले मार्लबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको थियो भने नेदरल्याण्ड्ससँगको खेल बर्षाका कारण नतीजाविहीन बनेको थियो । नेदरल्याण्ड्सले पनि एमसीसीबिरुद्ध १० रनको जित निकालेको थियो ।
नेदरल्याण्ड्समा नेपालले आफ्ना नियमित कप्तान पारस खड्काको नेतृत्वमा खेल्नेछ । पारसकै नेतृत्वमा नेपालले सन् २०१४ मा बाङ्लादेशमा आयोजित टी–२० विश्वकप खेलेको थियो । आफ्नो पहिलो टी २० विश्वकपमा समूह चरणका दुइ खेल जिते पनि नेपाल दोस्रो चरणमा पुग्न भने असफल भएको थियो ।
नेपालले नेदरल्याण्ड्सबिरुद्ध दोस्रो वान–डे १८ साउन साँझ सवा ६ बजे खेल्नेछ ।