रिपोर्टबुधवार, श्रावण १६, २०७५

सेनाको व्यापार मोफसलमा पनि विस्तार

दीपक ज्ञवाली

व्यापार मुनाफामा मुग्ध नेपाली सेनाले राजधानीकेन्द्रित व्यापार–व्यवसायलाई जिल्लातिर विस्तार गर्न थालेको छ ।

बुटवलको अमरपथमा रहेको टक्सार कम्प्लेक्स । तस्वीरहरूः दीपक ज्ञवाली

नेपाली सेनाले गएको ६ असारमा एउटा बोलपत्र आह्वान गर्‍यो, जसमा बुटवलको अमरपथस्थित नवनिर्मित व्यापारिक भवन भाडामा दिन लागिएको उल्लेख थियो ।

बोलपत्रमा चारतले आधुनिक व्यापारिक भवन भाडामा लिन इच्छुक व्यवसायीले जंगीअड्डा, काठमाडौंस्थित सेनाको कल्याणकारी योजना निर्देशनालय र बुटवलस्थित २२ नम्बर बाहिनी अड्डाबाट फारम खरीद गर्न सक्ने उल्लेख छ । 

नाफामूलक आर्थिक र व्यापारिक गतिविधिमा सक्रियता बढाउँदै गएको सेनाले आफ्नो आयको दायरा बढाउन काठमाडौं बाहिर समेत व्यवसाय विस्तार गरेको उदाहरण हो, यो । रोचक के भने बुटवलमा व्यापारिक भवन निर्माण गर्न सेनाले राणाकालीन इतिहास बोकेको टक्सार भत्काएको छ ।

उहिले टक (मुद्रा, सिक्का) काटिने मेशीन सहितको संरचना भएको टक्सारमा चारतले बिल्डिङ ठड्याएको सेना अहिले अधिकतम भाडा तिर्ने व्यापारी छनोटमा व्यस्त छ । त्यसनिम्ति सेनाले ४ साउनसम्मको म्याद राखेर ६ असारमा बोलपत्र आह्वान गरेको थियो ।

प्रदेश–५ को अस्थायी राजधानी बुटवलको प्रमुख व्यापारिक क्षेत्र अमरपथमा सैनिक कल्याणकारी कोषको रु.७ करोड लगानीमा निर्मित नयाँ भवनको नाम पनि सेनाले ‘टक्सार कम्प्लेक्स’ नै राखेको छ । स्थानीयले पत्तै नपाई निर्माण सम्पन्न भएको उक्त भवन १६ हजार ८७८ वर्गफिट क्षेत्रफलमा बनेको छ ।

सेनाका निमित्त प्रवक्ता कर्णेल विजय थापाले व्यस्त बजार क्षेत्रमा सेनाले नै रेखदेख गर्दै आएको उक्त जग्गा अतिक्रमणमा पर्दै गएपछि अत्याधुनिक भवन बनाएको बताए । भवन निर्माण गरेर भाडामा दिंदा कल्याणकारी कोषमा आय वृद्धिसँगै जमीनको संरक्षण पनि हुने उनी बताउँछन् ।

सेनाको बुटवलस्थित मध्यपश्चिम पृतना कार्यालयका प्रमुख सेनानी झ्मानसिंह थापाले सो भवन सैनिक कल्याणकारी योजना निर्देशनालयले बनाएकाले त्यसबारेमा विस्तृत जानकारी आफूलाई नभएको बताए ।

प्रदेश–५ का सभासद एवम् बुटवल उपमहानरपालिकाका पूर्व प्रमुख भोजप्रसाद श्रेष्ठ भने आफू प्रमुख हुँदादेखि नै इतिहास सम्झउने टक्सारलाई तारबार गरेर संरक्षण गर्न थालेको बताउँछन् । 

स्रोतका अनुसार, सेनाले आयमूलक परियोजना अन्तर्गत बुटवलमा विद्यालय र क्षेत्रीयस्तरको अस्पताल समेत सञ्चालन गर्ने तयारी गरिरहेको छ । व्यापार–व्यवसाय विस्तार गरिरहेको नेपाली सेनाले बुटवलको रामनगरस्थित २२ नम्बर वाहिनी परिसरमा ‘रिपुमर्दिनी पेट्रोल स्टेशन’ चलाएको एक वर्ष भयो ।

प्रहरीमा पनि उस्तै
काठमाडौं, सुनौली, पोखरा र नेपालगञ्ज जाने सडक छुट्टिने बुटवलको चौराहामा रहेको दुईतले, तर फराकिलो भवनको नाम हो– प्रहरी कम्प्लेक्स । १९ धुर जग्गामा बनेको यो कम्प्लेक्सको तल्लो तलामा वरिपरि २४ वटा सटर छन् ।

बुटवलको चौराहामा प्रहरी कम्प्लेक्स ।

तीमध्ये २२ वटा भाडामा लागेका छन् भने दुई वटा मर्मत गर्नुपर्ने भएकाले खाली राखिएको छ । २०५१ माघमा बनेको यो कम्प्लेक्सबाट नेपाल प्रहरीलाई मासिक रु.३ लाख ८५ हजार आम्दानी भइरहेको छ ।

नेपाल प्रहरीको कल्याण महाशाखाका सदस्य सचिव रहेका एसएसपी प्रकाशजंग कार्कीका अनुसार यो कम्प्लेक्सको रेखदेख पश्चिम क्षेत्रीय प्रहरी तालिम केन्द्र, बुटवलले गर्छ । यसको आय प्रहरी कल्याणमै खर्च हुने उनले बताए । लागतबारे चाहिं प्रहरी अधिकृतहरूलाई हेक्का छैन ।

राणाकालीन सिक्का बनाउने मेशीन ।

भवनको संरचना कमजोर भएकोले पुनर्निर्माण आवश्यक भएको तालिम केन्द्र, बुटवलका एसएसपी उत्तम सुवेदी बताउँछन् । “यत्रो भवनमा पिलर नै रहेनछन्” उनी भन्छन्, “जोखिमपूर्ण भएकाले पुनर्निर्माणको प्रस्ताव केन्द्रमा पठाएका छौं ।”

चितवन, नेपालगञ्ज, कावासोती लगायतका स्थानमा पनि प्रहरीका शपिङ कम्प्लेक्स, पेट्रोल पम्प, विद्यालय लगायतका व्यापारिक प्रतिष्ठानहरू सञ्चालनमा छन् । तिनको आम्दानी प्रहरी र प्रहरी परिवारको कल्याणमा प्रयोग भइरहेको प्रहरी कल्याण महाशाखाका सदस्य सचिव एसएसपी कार्की बताउँछन् ।

उद्योग वाणिज्य संघ, बुटवलका अध्यक्ष खेम हमाल सेना, प्रहरी जस्ता निकाय यसरी व्यापार–व्यवसायमा रत्तिन थाल्नुलाई राम्रो लक्षण मान्दैनन् । देशका महत्वपूर्ण निकायहरू आ–आफ्ना जिम्मेवारीमा केन्द्रित हुनुपर्ने उनी बताउँछन् । “त्यसक्रममा स्रोतसाधनको कमी भए सरकारसँग माग्नुपर्छ, सरकारले दिनुपर्छ” उनी भन्छन्, “भोलि सेना–प्रहरीलाई व्यापार र व्यापारीलाई फौजी काम गराउने सोच हो भने बेग्लै कुरा !”

प्रतिकृया दिनुहोस