अन्तर्वार्ता/विचारमंगलवार, श्रावण १५, २०७५

सार्वजनिक यातायातबाट देखिने राजधानी

बदलिंदो काठमाडौंको कथा

हिमालखबर

किशोर थापा

सडक, सार्वजनिक सवारीको अवस्था र चालक/सहचालकको व्यवहार आदि हेर्दा काठमाडौं अस्तव्यस्त शहर भएको छनक मिल्छ ।


तस्वीरहरुः बिक्रम राई

सार्वजनिक यातायातमा चढ्दा जुन दृश्य देखिन्छ र आवाज सुनिन्छ, त्यसले समग्रमा देश र जनताको अवस्थाका साथै शासन व्यवस्थाको प्रतिनिधिमूलक चित्र देखाउँछ ।

अहिलेको अवस्थामा सार्वजनिक यातायात सास्तीको यात्रा बनिरहेको छ । यसको सेवा पैसा तिरेर किनिएको हुन्छ । तर, त्यो सुविधाका लागि भन्दा पनि सास्तीका लागि हो । दैनिकरुपमा सास्ती, दुर्व्यवहार र अपमान सहेर सार्वजनिक यातायातको सेवा उपभोग गर्नुपरे पनि नागरिकसँग अर्को विकल्प पनि छैन ।

आम नागरिकलाई सार्वजनिक यातायातको सेवा कस्तो हुनुपर्छ भन्ने ज्ञान पनि छैन । विदेशको सार्वजनिक यातायात देखेकाहरुले यस्तो हुनुपर्छ भनेर तुलना गर्न सके पनि अधिकांश नागरिक यो देशमा यस्तै हो, भोग्नु नै छ भनेर अभ्यस्त बनिसकेको पाइन्छ ।

मैले पनि तिनै अभ्यस्त भइसकेकाहरुको भीडमा मिसिएर दैनिक सार्वजनिक यातायात प्रयोग गर्दै आएको छु ।

सार्वजनिक यातायातमा यात्रुले भोग्नुपर्ने समस्या अथाह छ । त्यसमा पनि महिला, बालबालिका, वृद्ध र रोगीले यात्रामा बढी पिल्सिनुपर्ने अवस्था छ ।

आइतबार, १३ साउनको मात्रको कुरा हो, म श्रीमतीलाई लिएर अपस्तालबाट फर्किँदै थिएँ, बसका सहचालकको अनावश्यक होहल्ला, यात्रुलाई भेडाबाख्रासरह गरेको व्यवहारको भुक्तभोगी भएँ । चालक/सहचालकलाई अनुशासनमा राखेर सार्वजनिक यातायात सुविधायुक्त बनाउने दायित्व सरकारको हो । तर, सरकारको उपस्थिति र भूमिका चित्तबुझ्दो छैन । सडकमा ट्राफिक प्रहरीसँगै अन्य व्यवस्थापनमा पनि ध्यान दिनुपर्ने हो, जुन हुन सकेको देखिँदैन ।

सडक, सार्वजनिक सवारीसाधनको अवस्था र चालक/सहचालकको व्यवहार आदि हेर्दा काठमाडौं अस्तव्यस्त शहर भएको छनक मिल्छ । यसले शहरको व्यवस्थापन ठीक छैन र शहरवासीले पाउनुपर्ने न्यूनतम सुविधा समेत पाएका छैनन् भन्ने देखाउँछ ।

सार्वजनिक यातायातको सास्ती हेर्दा सित्तैमा समेत यात्रु चढ्न नमान्ने खालको छ । तर, बाध्यता भएपछि कष्ट सहेर पनि यात्रा गर्नुको विकल्प छैन । यत्रो सास्ती भोग्दा पनि यात्रुहरुले सजिलै शुल्क तिरिरहेका हुन्छन् । त्यो रकम सार्वजनिक यातायातका व्यवसायी बाहेक बिचौलिया, नेता कसको खल्तीमा गइरहेको छ, थाहा छैन ।

को चढ्छन् सार्वजनिक यातायातमा ?
काठमाडौंको सार्वजनिक यातायातमा बढीजसो विद्यार्थी र कर्मचारीहरु चढेको देख्छु । यसका साथै विभिन्न जिल्लाबाट आएका र छिमेकी मुलुक भारतबाट आएका कामदारहरु पनि देखिन्छन् ।

आफूले यात्रा गरिरहँदा के याद गरेको छु भने, पहिले–पहिले सार्वजनिक यातायातमा एकै खालका मानिस देखिन्थे, पछिल्लो समय भने भेषभूषा र लवज नै फरक भएकाहरु पनि चढ्ने गरेको देख्छु । काठमाडौंमा पैसा थुप्रिएको छ, जसलाई टिप्ने अवसर छोप्न भारतसहित विभिन्न देशबाट मानिस ओइरिइरहेका छन् ।

काठमाडौंमा करिब ४० लाख मानिस बस्लान् । त्यसमध्ये १० लाख जति बाहिरबाट आएर ज्याला–मजदुरी, व्यवसायलगायतका काम गर्नेहरु छन् । काठमाडौंमा कामको अवसर पर्याप्त भए पनि सामाजिक तालमेल भने मिलेको देखिँदैन ।

उदाहरणका लागि, भारतका बिहारी नागरिकले यहाँ जुन काम गरेर पैसा कमाउँछ, त्यो हाम्रा नागरिकहरुले गर्दैनन् । किनभने नेपालीलाई त्यो काम गर्न लाज हुन्छ । त्यसैले, कवाडी सामग्री संकलन, साइकलमा तरकारी, फलफूल, माछा बिक्री गर्नेजस्ता काममा भारतीय नागरिकहरु धेरै देखिन्छन् ।

निर्माणका अन्य काममा भारतीय नागरिक भए पनि भवनमा रङ लगाउने काममा भने नेपाली नागरिक नै देखिन्छन् ।  निर्माणसहितका क्षेत्रमा काम गर्न अहिले पर्याप्त मान्छे नै छैनन् । म आफैंले पनि दैनिक रु. १ हजार २ सयदेखि १ हजार ५ सयसम्म तिर्छु भन्दा कामदार भेटिरहेको छैन ।

काठमाडौंमा निर्माण पर्याप्त भइरहेको छ । त्यसको सूचक भनेको साँगा, दक्षिणकाली, थानकोट र बालाजु नाकाबाट मेरो अनुमानमा दैनिक २ हजारजति टिप्परले ढुंगा, गिट्टी, बालुवा काठमाडौं उपत्यकामा भित्र्याइरहेका हुन्छन् । यसले यहाँ घर, सडकसहितका निर्माण बढ्दै छ र काठमाडौं झन् बढ्दै छ भन्ने देखाउँछ । यसमा अधिकांश ज्यामी भारतीय छन् ।

पहिला काठमाडौंका केही क्षेत्रमा मात्र देखिने भारतीय कामदारहरु अहिले काँठ क्षेत्र र कुनाकुनासम्म पुगिरहेका देखिन्छन् । बिहानै साइकलमा सामान बोकेर जाने र बेलुका अबेर फर्कने यस्ता कामदारको ताँती देख्न सकिन्छ ।

भारतमा रेमिटेन्स पठाउने मुलुकहरुको सूचीमा नेपाल सातौं स्थानमा छ । सन् २०१७ मा रु. ३ खर्ब ४० अर्ब रेमिटेन्स भारत गएको छ । यसको अर्थ, नेपालमा भारतीय कामदारहरुको उपस्थिति बढिरहेको छ ।

कसरी बदलियो ?
काठमाडौं सुरुदेखि नै भीडभाडयुक्त होइन । २०३६ सालअघि काठमाडौंमा तीन छुट्टाछुट्टै शहर थिए, जुन कालान्तरमा जोडिएर एउटै भयो । काठमाडौंमा नगई केही हुँदैन भन्ने मानसिकताको विकास चाहिँ राणाकाल सकिएपछि भएको हो । राणाकालमा तोकिएका गौंडाहरूमा बडाहाकिमले गर्ने निर्णय र शक्तिको अभ्यास २००७ पछि काठमाडौं सर्‍यो ।

जनमत संग्रह भएको २०३६ सालपछि मारवाडी र थकाली समुदायका व्यापारीहरूले काठमाडौंमा घरजग्गा किन्न थालेपछि काठमाडौंको विकल्प छैन भन्ने मान्यता स्थापित भयो । यी दुवै समुदाय पहिले काठमाडौंमा घरजग्गा किन्दैनथे, भाडामा बस्थे । बाहिरबाट आएर व्यवसायमा जमेका यी समूह काठमाडौंमा स्थायी रुपमा बस्न घरजग्गा किन्न थालेपछि यसले नयाँ गति पैदा गर्‍यो ।

२०४६ सालमा प्रजातन्त्र आएपछि भूमिगत रहेका, गाउँबाट राजनीति गर्ने वा भारतबाट नेतृत्व गर्ने राजनीतिक दलका नेता–कार्यकर्ता धमाधम काठमाडौं आए । शासन र राजनीति काठमाडौं केन्द्रित भएपछि यसरी बाहिरबाट आएका नेता–कार्यकर्ता यतै स्थायी रुपमा बस्न थाले । उनीहरुका परिवार पनि काठमाडौं नै आएर बस्न थाले । नेताका नजिकका कार्यकर्ता पनि राजनीतिमार्फत पाइने लाभ उठाउन काठमाडौंमै थुप्रिन थाले ।

२०५२ मा माओवादी विद्रोह सुरु भएसँगै गाउँगाउँबाट अन्य दलका नेता–कार्यकर्ता, व्यापारी आदि सुरुमा जिल्ला सदरमुकाम र पछि राजधानीतिर थुप्रिए । २०५९ सालमा स्थानीय निकाय खत्तम भएपछि तत्कालीन जिल्ला र गाउँस्तरीय नेताहरु पनि सुरक्षालगायतका कारणले काठमाडौं आएर बस्न थाले । ठूला नेतासँगको सम्पर्क, सम्बन्धबाट लाभ मिल्ने र जिल्लामा बस्नेभन्दा हैसियत ठूलो भएपछि उनीहरु फर्कने कुरै थिएन ।

त्यसअघि नै गार्मेन्ट र गलैंचा कारखानामा काम गर्न राजधानीमा ठूलो समूह पसिसकेको थियो । २०६२/६३ को जनआन्दोलनपछि त काठमाडौं सबै कुराको केन्द्र भन्ने मान्यता विकसित हुनपुग्यो । सबैभन्दा अचम्मलाग्दो चाहिँ, काठमाडौंको सत्ताविरुद्ध लडेका र रोल्पा–रुकुमलाई वैकल्पिक शक्तिकेन्द्र बनाउन खोजेका माओवादीहरूले पनि काठमाडौंलाई निर्विकल्प स्वीकार गरेर यहीँ शक्तिको अभ्यास गर्न थाले ।

पढ्न आएकाहरू पनि पढाइ पूरा गरेपछि जागिरका लागि यतै अडिने पुरानै चलन हो । २०४६ पछि पासपोर्ट बनाउन र वैदेशिक रोजगारीका लागि गाउँका युवाको ओइरोसँगै काठमाडौंमा म्यानपावर, ट्राभल्स एन्ड टुर्स, होटल–रेस्टुँरा, क्याबिन–दोहोरी व्यवसायको ठूलो विकास भयो ।

विदेश जान र आउन काठमाडौंको विकल्प अझै छैन । यसले विदेशमा कमाएको पैसा यहीको घरजग्गामा खन्याउने प्रवृत्ति बढायो ।

कर्मचारीहरुको काठमाडौं मोह पनि पहिलेभन्दा बढ्दै गयो । बाहिरै घर हुने कर्मचारी पनि काठमाडौं नै ताक्न थाले । छोराछोरी यतै बसेर पढ्ने, श्रीमान्–श्रीमतीको जागिर यतै हुने, आफन्तको बसाइ र व्यवसाय यतै भएपछि काठमाडौंमा चाप बढ्नु स्वाभाविक थियो । 

फलफूल–तरकारी व्यापार, कवाडी सामान संकलनदेखि निर्माण क्षेत्रमा मजदूरी र सिलाइ–कटाइसम्ममा संलग्न भारतीय कामदारको समेत ठूलो संख्या काठमाडौं भित्रिएको छ । काठमाडौं किन सबैका लागि प्यारो भयो ? किनभने, यहाँ शहरी जीवनको आकर्षण छ, पैसा कमाउने अवसर छ, राजनीतिक शक्ति अभ्यास यहीँ हुन्छ, अन्तर्राष्ट्रिय सम्बन्धको प्रवेशद्वार यहीँ छ, राम्रो स्वास्थ्य र शिक्षाको अवसर यहीँ छ ।

यी आर्थिक–सामाजिक कारणले काठमाडौं विस्तार हुँदै गएको हो । राम्रा अस्पताल, स्कुल/कजेज, ब्यांक तथा वित्तीय संस्था, दूरसञ्चार, होटल, रेस्टुरेन्ट लगायतका सुविधाहरु काठमाडौं केन्द्रित भएपछि यहीँ आउनुपर्ने बाध्यता बढ्यो ।

महँगो जीवनयापन, धूवाँ–धूलो, बेथिति, कष्टकर सार्वजनिक यातायात, खानेपानी अभाव लगायतका यावत् समस्याका कारण काठमाडौंमा बस्न सजिलो छैन । तर, सबैभन्दा अचम्म लाग्ने कुरो चाहिँ यहाँ बस्न सकिएन, बाहिर बसाइँ सरेँ वा आफ्नो थातथलोतिरै फर्किएँ भन्ने मानिस आजसम्म भेटेको र सुनेको छैन ।

उकुसमुकुसपूर्ण जीवन भए पनि काठमाडौंमै बस्ने आकर्षण के हो, यो अचम्मलाग्दो छ ।

(थापा नेपाल सरकारका पूर्व सचिव हुन् ।)

 

प्रतिकृया दिनुहोस