‘नथिया’, ‘ऐलानी’ र ‘पण्डित बाजेको लौरी’ प्रति वादी समुदायको आपत्ति
राष्ट्रिय वादी परिषदले थमनकुमार भण्डारीद्वारा निर्माण गरिएको चलचित्र 'पण्डित बाजेको लौरी' मा वादी समुदायलाई कपोलकल्पित लान्छना लगाइएको, सरस्वती प्रतिक्षाको उपन्यास ‘नथिया’ र विवेक ओझाको ‘ऐलानी’ मा वादी समुदायलाई ठेस पुग्ने खालका अभिव्यक्ति र शब्दहरुको प्रयोग गरिएको भन्दै आपत्ति प्रकट गरेको छ ।
उपरोक्त उपन्यास र चलचित्रमा केही सकारात्मक सन्देश दिने प्रयास भए पनि ‘नेपाल सरकारबाटै बन्देज लगाइएका र वादी समुदायलाई प्रत्यक्ष ठेस लाग्ने, भेदभाव देखिने र समुदायलाई प्रतिकूल असर पर्ने शब्दहरुको प्रयोगबाट भावी पिढीमा समेत नकारात्मक मनोसामाजिक असर पर्ने’ परिषदका तर्फबाट अध्यक्ष केशव नेपालीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
वादी समुदाय समाजमा प्रतिस्थापित भई सम्मानित जीवन यापनप्रति उन्मुख भइरहेको अवस्थामा चलचित्र निर्माता, लेखक, साहित्यकारहरुलाई संवेदनशील भइदिन परिषदले आग्रह गरेको छ ।
“यसरी विभिन्न चलचित्र, कथा, उपन्यास प्रकाशन, प्रदर्शन गरी समग्र वादी समुदायलाई प्रत्यक्षरुपमा नकारात्मक प्रभाव पारी विभेद, लान्छना, शोषण गरेको पाइएकोले यस कार्यको समग्र वादी समुदाय घोर भर्त्सना गर्दछ,” विज्ञप्तिमा उल्लेख छ ।
परिषदले वादी समुदायका केही अविवाहित महिलामात्र निकै सानो संख्यामा वाध्यतावश यौन पेशामा संलग्न भएको/शोषणमा परेको भन्दै समुदायभित्रका विवाहित महिलाहरु यस्तो कार्यमा संलग्न हुने चलन नभएको जानकारी गराएको छ ।
विभिन्न अध्ययन र नेपाल सरकारको अध्ययन प्रतिवेदन अनुसार पनि वादी समुदायका ६ प्रतिशत परिवारका अविवाहित युवतीमात्र यौन पेशामा संलग्न रहेको पाइएको र बाँकी ९४ प्रतिशत वादी परिवार सम्मानित पेशमा संलग्न रहेको तथ्यतर्फ पनि परिषदले सबैको ध्यानाकर्षण गराएको छ ।
चलचित्र निर्माता थमनकुमार भण्डारीलाई उनको फिल्म ‘पण्डित बाजेको लौरी’ यथाशिघ्र स्थगन गर्न र लेखक सरस्वती प्रतिक्षा र लेखक विवेक ओझालाई उपन्यासमा उल्लेख भएका वादी समुदायलाई प्रत्यक्ष ठेस पुग्ने शब्दहरु यथाशिघ्र संशोधन गरी अर्को संस्करण प्रकाशन गर्न परिषदले आग्रह गरेको छ ।
परिषदको अनुरोधलाई बेवास्ता गरिएमा जस्तो सुकै प्रतिकार गर्न पनि वादी समुदाय पछि नपर्ने विज्ञप्तिमा उल्लेख छ ।