टिप्पणीमंगलवार, श्रावण १५, २०७५

टक्सार घरको बेवास्ता

मिलन बगाले

दोलखाका राजा जयेन्द्र सिंहदेव (वि. सं. १५९१–१६०५) ले चाँदीको मुद्रा छाप्ने गरेको भीमेश्वर नगरपालिका–२, डाँडाथोक दोलखास्थित ‘टक्सार घर’ जीर्ण अवस्थामा छ ।

तस्वीरहरुः मिलन बगाले

व्यक्तिका कतिपय पुराना घरले कला, सभ्यता र संस्कृतिको इतिहास बोल्छन् । त्यस्ता संरचना व्यक्तिको सँगै समाजको पनि सम्पत्ति हो । 

अहिले देशभर नै पुनर्निर्माणको लहर चलेका बेला दोलखा, भीमेश्वर नगरपालिका–२, डाँडाथोकस्थित मौलिक इतिहास बोकेको एउटा ‘टक्सार घर’ जीर्ण अवस्थामा छ । यही घरमा दोलखाका राजा जयेन्द्र सिंहदेव (वि.सं. १५९१–१६०५) ले चाँदीको मुद्रा छाप्ने गर्थे ।

२०७२ वैशाखको भूकम्पले दोलखा, चरिकोटका धेरै ऐतिहासिक सम्पदा भत्कायो, भीमसेन मन्दिर परिसरका भण्डार कक्ष र कुटीमा पनि क्षति पुगेको छ । भण्डार कक्षको पुनर्निर्माण शुरू भए पनि कुटी असरल्ल छ । यहाँका पुजारी माधव घिमिरे यी दुवैको पुनर्निर्माणको जिम्मा पुरातŒव विभागले लिएको र कुटीको पुनर्निर्माण कार्य पनि छिट्टै शुरू हुने बताउँछन् ।

२०७३ पुसमा चरिकोट पुग्दा यो पंक्तिकारले भीमसेन मन्दिर परिसर, त्यस वरिपरिका ऐतिहासिक घरबस्ती, मन्दिर र टक्सार घर लगायत संरचना नियालेको थियो । अहिले पुनः पुग्दा पनि त्यहाँको अवस्थामा खासै परिवर्तन देखिएन । अन्यत्रभन्दा सम्पदा पुनर्निर्माणमा सबैभन्दा सुस्त गति दोलखामै देखिन्छ । ढलान घरले गाउँबस्ती ढाकिन थालिसके । इतिहासको कालखण्ड सम्झाउने घर भने भत्केर सकिंदैछन् । टक्सार घरको दुर्गतिले दोलखालाई मात्रै होइन, समग्र पुनर्निर्माण प्रक्रियालाई नै गिज्याइरहेछ ।

जीर्ण टक्सार घरको आँगनमा भेटिए सोही घरका हिस्सेदार, रामकुमार श्रेष्ठ । आफू जन्मेको घरको दुर्दशा देख्दा मन दुखेको छ नै, सँगै यो लडेर वरिपरिका घरलाई किच्ला भन्ने डर पनि छ, उनलाई । यसको पुनर्निर्माण वा जीर्णोद्धारका लागि नक्शांकनको कुरै छाडौं, टेको लगाएर आड दिने प्रयास पनि भएको छैन । “खै वडामा निवेदन त दिएको हो, बचाउने पहल केही भएको छैन” दिक्क मान्दै रामकुमारले भने । टक्सार घर रामकुमारको परिवारको सामूहिक स्वामित्वमा रहेको पनि उनले बताए ।

चारतले यो घरको भुईंतलामा ढुंगाको गारो र माथिल्ला तलामा सर्लक्क परेका ईंटाको गारो लगाइएको छ । मोटो गारो, ठाउँ–ठाउँमा हालिएका काठका नस र चुकुलहरूको प्रयोगका कारण यो घर भूकम्पमा ढलेन, केही भाग मात्र भत्कियो, ठाउँ–ठाउँमा चर्कियो ।

घरको चारै दिशामा चार ढोका छन् । घरको पूर्वी मोहडामा ईंटामा सेतो रंग पोतिएको छ । पूर्वी र पश्चिमी मोहडामा ‘स झया’, ‘टिकी झया’ जस्ता कलात्मक झयाल छन् भने छानामा टीन हालिएको छ । घरको चुली गारो पूरै खसेको छ । पूर्वी मोहडातिर क्षति कम भए पनि पश्चिमी मोहडामा ठूल्ठूला चिराहरू प्रष्टै देखिन्छ । भवनको आकार–प्रकार, काठमा कुँदिएका बुट्टाले काठमाडौं उपत्यकाभित्रकै वास्तु–सभ्यताको झ्ल्को दिन्छ ।

पुरातŒव विभागको सम्पदा सूचीमा सूचीकृत हुन नसकेको तथा सम्पदा क्षेत्रको चार किल्ला तोक्ने काम हुन नसकेकाले दोलखाका सांस्कृतिक सम्पदाहरू पुनर्निर्माण प्राथमिकतामा पर्न नसकेको जिल्ला आयोजना कार्यान्वयन एकाइमा कार्यरत आर्किटेक्ट किरण कवान बताउँछन् ।

उनका अनुसार भीमेश्वर नगरपालिकाको सम्पदा बस्ती र क्षेत्रको सिमाना कोरेर पुरातत्व विभागमा पठाइसकिएको छ । चारकिल्ला तोक्ने कामसँगै भत्के–नभत्केका सबै सम्पदा घर तथा सार्वजनिक महत्वका संरचनाको तस्वीर सहितको लगत पनि बनाउन सके सम्पदा जोगाउन सघाउ पुग्थ्यो ।

पुरातात्विक महत्वका मठ–मन्दिर, पाटी, पौवा तथा अन्य सार्वजनिक संरचनाको जीर्णोद्धार तथा पुनर्निर्माणको दायित्वबाट केन्द्र तथा स्थानीय सरकार धेरै समय पन्छिन सक्दैनन्, ढिलो–चाँडो काम हुनैपर्छ । तर, स्वामित्वको समस्या आउने हुँदा ऐतिहासिक महत्वका निजी घरको संरक्षणतर्फ परिवार र राज्य दुवैतिरबाट बेवास्ता भएको देखिएको छ ।

टक्सार घर पनि यही चेपुवामा पर्ने डर छ । सम्बन्धित सरकारी निकायले नक्शांकन, प्रबलीकरण जस्ता प्राविधिक काममा सहजीकरण गरेर, आवश्यक परे ऋण–धन समेत दिएर परिवारका सदस्यलाई नै मर्मत तथा जीर्णोद्धारमा प्रोत्साहन गरी होमस्टे अथवा होटल चलाउन सके यस्ता मौलिक इतिहास बोकेका घरहरूले जीवन्तता पाउँछन् ।

यस्ता संरचनालाई राज्यले किनेर संग्रहालय बनाउनुभन्दा व्यक्तिले नै इतिहास झ्ल्कने गरी जोगाउन सके सम्पदा संरक्षणलाई जीवनसँग जोड्न सकिन्छ ।

नेपालकै एउटा महत्वपूर्ण सम्पदा भएकाले टक्सार भवनलाई मक्किन र सकिन दिनुहुँदैन । स्थानीय सरकार, परिवारका सदस्य र पुरातत्व विभागले हातेमालो गर्ने हो भने यो मासिंदैन । घरघरै संग्रहालय बनाउने रहरभन्दा माथि उठेर सम्पदालाई जीवन्त रूपले संरक्षण गर्ने रहर गर्नेको जय होस् !

प्रतिकृया दिनुहोस