लोकमानविरुद्धको महाभियोग आज संसदमा पेश हुँदै
चार दिनअघि संसद सचिवालयमा दर्ता भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमानसिं कार्की विरुद्धको महाभियोग प्रस्ताव आज व्यवस्थापिका संसद बैठकमा पेश हुँदैछ ।
उक्त प्रस्ताव विहीबार नै संसदमै पेश गर्ने भनिए पनि विशेष कारण भन्दै संसद बैठक नै स्थगित भएपछि आज पेश गर्न लागिएको संसद सचिवालयले जनाएको छ ।
आज संसदमा पेश हुने उक्त प्रस्तावमा छलफलका लागि सभामुखले मिति तोकेपछिमात्रै छलफल अघि बढ्नेछ ।
महाभियोग प्रस्ताव पारित गर्न संसद्को दुई तिहाइ बहुमत आवश्यक पर्ने भएकोले नेपाली कांग्रेसको आधिकारिक धारणा नआएसम्म महाभियोगको प्रक्रिया लम्बिने छ ।
हिजो शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल र कांग्रेस सभापति शेरबहादुर देउवाबीच महाभियोग प्रस्तावलाई अघि बढाउने सहमति भएको बुझिएको छ । यद्दपी कांग्रेसले यसबारे छलफलका लागि आफ्नो केन्द्रीय कार्यसमिति बैठक सोमबार मात्रै डाकेको छ ।
महाभियोगमाथि संसदमा सामान्य छलफलपछि उक्त प्रस्ताव महाभियोग सिफारिस समितिमा पठाइने छ भने समितिले काम शुरु गरेको ३० दिनभित्र अनुसन्धान गरी प्रतिवेदन पेश गर्नुपर्ने छ ।