उपराष्ट्रपति कपको उपाधिका लागि एपिएफ र आर्मी भिड्ने
उपराष्ट्रपति कप राष्ट्रिय महिला फूटबल लिगको उपाधिका लागि आज दुई विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) र त्रिभुवन आर्मी क्लब भिड्ने भएका छन् ।
सातदोबाटोस्थित अखिल नेपाल फूटबल संघ (एन्फा)को खेल मैदानमा आज दिउँसो फाइनल खेल हुनेछ ।
समान तीन÷तीन खेल खेलका दुवै टिम अपराजित छन् ।
अघिल्ला तीन खेलमा दुवै टोलीले नेपाल पुलिस क्लब, काठमाडौं फूटबल संघ र रौतहट फूटबल संघलाई पराजित गरेका थिए ।
दुई खेलमा जित हात पारेको रौतहट ६ अंकका साथ लिगको तेस्रो स्थानमा छ ।
उपाधि विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख तथा तेस्रो हुने टिमले रु ५० हजार पुरस्कार प्राप्त गर्नेछ ।
लिगको सर्वोत्कृष्ट खेलाडीलाई रु २५ हजार तथा उत्कृष्ट विधाका खेलाडी र प्रशिक्षकलाई जनही रु १० हजार पुरस्कार प्रदान गरिनेछ । रासस