रिपोर्टमंगलवार, श्रावण १५, २०७५

कोशी टप्पुका गर्भिणी ढोई

हिमालखबर

कमल रिमाल

लक्ष्मीकलीले २०७६ मंसीरमा, सरस्वतीकलीले २०७६ कात्तिकमा र डमडमकलीले २०७६ भदौमा छावालाई जन्म दिंदैछन् ।

सरस्वतीकली । तस्वीरहरुः कमल रिमाल

यसपालि कोशी टप्पु वन्यजन्तु आरक्षका चार ढोई लक्ष्मीकली (१०), शोभाकली (६०), सरस्वतीकली (१३) र डमडमकली (१३) जंगली हात्तीसँगको संसर्गबाट गर्भिणी बनेका छन् । एकसाथ चार हात्ती माउ बन्ने भएपछि आरक्ष प्रशासन र हात्तीसार शाखाका कर्मचारी खुशी छन् ।

“शोभाकलीले आउँदो भदौमा छावालाई जन्म दिंदैछे”, आरक्षका सहायक संरक्षण अधिकृत गणेशप्रसाद तिवारी भन्छन्, “गर्भाधारण गरेको पुष्टि भएसँगै खुशियाली मनाउने तयारी गर्दैछौं, छावा जन्मिएपछि सरकारबाट बजेट माग गर्छौं ।”

आरक्षमा भएका १० मध्ये पाँच ढोई कोशीमा र पाँच चितवनमा छन् । २०७६ को भदौमा डमडमकलीले, कात्तिकमा सरस्वतीकलीले र मंसीरमा लक्ष्मीकलीले छावा जन्माउने अनुमान आरक्ष अधिकारीहरूको छ ।

जंगल र हात्तीसारभित्र कुन बेलाको संसर्गबाट चार ढोई गर्भिणी भए भन्ने आरक्ष प्रशासनलाई हेक्का छैन । तर, जंगली हात्तीसँग संसर्गमा पुगेको मिति माहुतेले बताएका आधारमा छावा जन्माउने समय अनुमान गरिएको प्रमुख संरक्षण अधिकृत श्याम साहको भनाइ छ । हात्तीले गर्भधारण गरेको २२ देखि २४ महीनामा छावा जन्माउने गर्छ ।

शोभाकलीले १० वर्षअघि लक्ष्मीकलीलाई जन्म दिएकी थिई भने २०७२ मा उसको १८ महीनाको गर्भ तुहिएको थियो । शोभाकलीले जन्माएको बराहगज २०७० मा चितवनमा विषालु सर्पको डसाइबाट १३ वर्षको उमेरमा मरेको थियो । पटकपटक जंगली हात्तीको संसर्गमा पुगे पनि अमेरिकाकली (६०) ले अहिलेसम्म गर्भाधारण गरेकी छैन ।

गर्भिणीलाई जंगलीको डर
जंगली हात्ती आक्रामक हुने भएकाले ढोई हात्तीलाई चरनका लागि लैजान चुनौती भएको माहुते राजकुमार विश्वास बताउँछन् । उनी भन्छन् “आरक्षभित्र रहेका ११ जंगली भाले हात्तीमध्ये तीन वटा भारततर्फ आउने–जाने गर्छन्, नियमित आरक्षमा रहने ८ हात्तीदेखि गर्भिणी ढोईलाई जोगाउँदै चरनका लागि लैजाने गरेका छौं ।”

डमडमकली, सरस्वतीकली र लक्ष्मीकली (बायाँबाट क्रमशः) र जंगली हात्ती छिर्न नदिन लगाइएको तारबार ।

२०७३ माघमा जंगली हात्तीको संसर्गमा पुग्दा अमेरिकाकलीको यौनाङ्ग नै क्षत–विक्षत भएको थियो । हात्तीसारका खरिदार सुनिल तामाङका अनुसार १५ दिनको औषधोपचारले अमेरिकाकलीलाई निको भएको थियो । खरिदार तामाङ भन्छन्, “यी ढोई फेरि जंगली हात्तीको संसर्गमा पुगे शोभाकलीको जस्तै गर्भ तुहिन सक्छ ।”

कोशी टप्पुबाट अर्ना चितवन सार्नै क्रममा सप्तरीको पथरी लगिएका ढोई हात्ती हरेक रात आक्रामक जंगली हात्तीको संसर्गमा पुग्न बाध्य हुन्थे । त्यस बेला एक माहुतेले भनेका थिए, “हाम्रा हात्ती मान्दैनन्, ठूलो शरीर भएका जंगली हात्तीले दाराले घोचेर जबर्जस्ती उठाउँछन् र बलात्कार गर्छन्, उन्मत्त भएका हात्तीलाई लखेट्नै सकिंदैन ।”

आरक्षको हात्तीसार ।

स्नातकोत्तर क्याम्पस विराटनगर, प्राणीशास्त्र विभागका उप–प्राध्यापक रामचन्द्र अधिकारी आरक्षका ढोईहरू जंगली हात्तीको मारमा पर्न सक्ने बताउँछन् । उनी भन्छन्, “भाले जनावरहरू पोथीको चाहना र हर्मोनका कारण उत्तेजित हुन्छन् । तर, हात्ती, घोडा, गधा र भ्यागुतामा यो लागू हुँदैन । यिनीहरू पोथीलाई भेटेपछि उत्तेजित र आक्रामक हुन्छन् ।”

हात्तीसारमा जंगली हात्ती नछिरुन् भनेर विद्युतीय तारको घेरा बनाइएको छ भने २४सै घण्टा नेपाली सेनाले गस्ती गर्छ । पश्चिम कुशाहा लौकही मध्यवर्ती क्षेत्र उपभोक्ता समितिका अध्यक्ष राजकुमार सिंह जंगली हात्ती निकै चलाख हुने बताउँछन् । उनी भन्छन्, “तारमाथि सुकेको रूख लडाएर त्यहीं टेकेर जंगली हात्ती आरक्षबाहिर निस्कन्छन् ।”

गर्भिणीको स्याहार
हात्तीका लागि सरकारले दैनिक १५ किलो धान, डेढ किलो सक्खर र १५० देखि २५० किलो घाँस तोकेको छ । गर्भिणी भएपछि उनीहरूलाई धान र हरियो घाँसको मात्रा केही बढाइएको छ भने स्वास्थ्य परीक्षणमा पनि ध्यान दिइएको छ ।

आरक्षभित्र जंगली हात्ती ।

प्रमुख संरक्षण अधिकृत साह भन्छन्, “छावा जन्माएपछि धानको बदला चामल र सक्खर पकाएर खीरजस्तो बनाएर दिन्छौं ।”

कोशी टप्पु वन्यजन्तु आरक्षमा आउने पर्यटकलाई प्रतिघण्टा रु.५०० लिएर हात्तीमा सयर गराइन्छ । चार ढोई गर्भिणी भएकाले अहिले पर्यटकलाई अमेरिकाकलीमा मात्रै सयर गराइन्छ ।

साहका अनुसार आर्थिक वर्ष २०७३/७४ मा ८ हजार पर्यटक आएको कोशी टप्पुमा २०७४/७५ मा २१ हजार ७९९ पर्यटक आएका थिए । यीमध्ये ५ प्रतिशत पर्यटकले हात्तीमा सयर गर्न चाहने साहको भनाइ छ । आरक्षमा नयाँ छावा थपिए पर्यटक बढ्ने आशा गरिएको छ । 

प्रतिकृया दिनुहोस