ओलम्पियनलाई आजीवन मासिक भत्ता
राष्ट्रिय खेलकूद परिषद् (राखेप)ले हालसम्मका नेपाली ओलम्पियनलाई साउनदेखि आजीवन मासिक भत्ता उपलब्ध गराउने भएको छ ।
आइतबार आयोजित कार्यक्रममा पहिलो महीना अर्थात् साउनको भत्ता ८० जना ओलम्पियनलाई जनही रु तीन हजारका दरले उपलब्ध गराइएको हो ।
नेपालले सन् १९६४ मा जापानको टोक्योमा भएको ओलम्पिकदेखि सहभागिता जनाउन शुरु गरेको थियो ।
त्यस्तै पहिलो दक्षिण एशियाली खेलकूद (साग) देखि १२औं सागका स्वर्ण विजेतालाई पनि सोही कार्यक्रममा पुरस्कृत गरिएको थियो ।
त्यसैगरी राखेपको आयोजनामा भएको राखेप च्याम्पियनसिपका विभिन्न खेलका उत्कृष्ट पुरुष र महिला खेलाडी पनि पुरस्कृत भएका छन् । गत माघको पहिलो साता सम्पन्न प्रतियोगितामा विभिन्न ३० खेल समावेश गरिएका थिए ।
३० खेलकै उत्कृष्ट पुरुष/महिला खेलाडीले जनही रु १५ हजार पाएका छन् ।
त्यसैगरी प्रदेश–५ मा आगामी मंसिरमा हुने आठौँ राष्ट्रिय खेलकूदको लोगो र मस्कट डिजाइनर तथा गीत र नाराका रचनाकारलाई पनि सम्मान गरिएको छ ।