एमसीसीमाथि नेपाल ९ विकेटले विजयी, नेदरल्याण्ड्सँगको खेल रद्ध
विश्वकै प्रतिष्ठित क्रिकेट मैदान, बेलायतको लर्डस्मा त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत १३ साउनमा भएको पहिलो खेलमा नेपाल विजयी भएको छ । नेपालले मार्लबोन क्रिकेट क्लब (एमसीसी) लाई ९ विकेटले पराजित गरेको हो ।
बर्षाका कारण ६ ओभरमा छोट्याइएको खेलमा एमसीसीले पहिले व्याटिङ गर्दै ४ विकेट गुमाएर ४० रन बनाएको थियो । ४१ रनको लक्ष्य पछ्याउने क्रममा नेपालले ८ बल बाँकी छँदै जित हात पारेको थियो ।
नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेल भने बर्षाका कारण रद्ध भएको छ । कप्तान पारस खड्काले टस जितेर नेदरल्याण्ड्सलाई पहिले व्याटिङको निम्तो दिएका थिए । बर्षाले खेल रोकिनुअघि नेदरल्याण्ड्सले १६ ओभर ४ बलमा चार विकेट गुमाएर १७४ रन बनायो । बर्षा नरोकिएपछि अन्ततः खेल रद्ध भयो ।
अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) ले नेदरल्याण्ड्सविरुद्धको खेललाई टी–२० अन्तराष्ट्रियको मान्यता दिएको थियो । यो सन् २०१५ पछि नेपालले खेलेको पहिलो टी–२० अन्तराष्ट्रिय खेल थियो ।
नेपालले अब १६ र १८ साउनमा नेदरल्याण्ड्ससँग दुई एक दिवसीय खेल खेल्नेछ । एकदिवसीय अन्तर्राष्ट्रिय राष्ट्रको मान्यता पाएपछि नेपालले खेल्न लागेको यो पहिलो एकदिवसीय खेल हुनेछ ।