रिपोर्टआइतवार, श्रावण १३, २०७५

नोचा नाका: वारि र पारि बिग्रिएको सम्बन्ध

हिमालखबर

मोरङको नोचा आएका भारतीय नागरिक साजिद मियाँको दुर्घटनामा मृत्यु भएपछि सीमा वारी र पारीको सम्बन्ध बिग्रिएको छ।

कमल रिमाल, विराटनगरबाट

नोचा नाका र स्थानीय  । तस्वीरः कमल रिमाल

मोरङको धनपालथान गाउँपालिका–१, नोचा गाउँका इश्लाम मियाँ सीमापारि भारतको कुवाडी बजार गएका बेला भारतीयहरूबाट कुटिए ।

गएको फागुनयता किनमेलका लागि सीमापारिको बजार गएका इस्लामसहित कपिल मियाँ, बदरुल मियाँ, मुक्तार मियाँमाथि भारतीय नागरिकबाट कुटपिट र हत्याको धम्कीले नोचाका बासिन्दा भारततर्फ जान छाडेका छन् ।

“छुरी देखाएर कुटपिट गर्दै थिए, एसएसबी (भारतीय सशस्त्र सीमा बल) ले बचाएर दुई किलोमिटर वर सीमासम्म ल्याइदिए” इस्लाम भन्छन्, “अहिले छोराछोरी मावली र श्रीमती माइत जाने अवस्था छैन ।”

२०० घर रहेको सीमावर्ती गाउँ नोचाका अधिकांशका नातेदार सीमापारि भारतीय गाउँमा छन् । उनीहरुले नुन, तेल, मर–मसला खरीद गर्ने पनि पारीको बजारबाटै हो । बजार गएका बेला भारतीयले कुटपिट गर्न थालेपछि नोचावासी किनमेल गर्न र नातेदार भेट्न भारततर्फ जान छाडेका हुन् ।

“हामी जान छाडेपछि उताका हाम्रा नातेदार पनि पनि यता कमै आउँछन्” स्थानीय मोहम्मद मोफिद भन्छन्, “माइत जाने महिला जान थालेका छन्, तर पुरुषहरू ससुराली जान सकेका छैनन् ।”

समस्याको बीउ दुर्घटना
गिट्टी–बालुवा कारोबारी भारतीय नागरिक साजिद मियाँ नोचाका मोइम मियाँलाई भेट्न आएका बेला दुर्घटनामा परेका थिए ।

स्थानीयका अनुसार, मोइमले को २ त २५७५ नम्बरको ट्र्याक्टर ब्याक गर्दै थिए भने साजिद ट्रली जोड्दै थिए । “ट्याक्टर पछाडि गुड्यो, साजिद चेपिए” नोचाका ख्वाजा हुसेन भन्छन्, “विराटनगरको अस्पताल पुर्‍याउनेबित्तिकै १४ फागुनमा घाइते साजिदको मृत्यु भयो ।”

साजिदको मृत्युलाई भारतीय पक्षले हत्या भन्दै शव पोस्टमोर्टमको विरोध पनि गरे । दुर्घटनाकै भोलिपल्ट मोटरसाइकलमा विराटनगर आएका भारतीयले ट्याक्टर धनी मोइमलाई अपहरणको शैलीमा भारततर्फ लैजाँदै थिए ।

ट्राफिक चेकिङ भएका ठाउँमा मोइम कराएपछि नेपाल प्रहरीले उनको उद्धार मात्रै गरेन, दुई मोटरसाइकलमा सवार तीन भारतीयलाई पक्राउ पनि गर्‍यो । अरू भारतीयहरू भाग्न सफल भए ।

भारतीयको नेपालमा दुर्घटनामा मृत्यु हुनु र भारतीयहरू पक्राउ पर्नुले सीमापारिका बासिन्दा अझ आक्रामक भई नोचावासीलाई मार्ने धम्की समेत दिन थाले ।

स्थानीयवासीकै आग्रहमा मोरङ प्रहरीमा छलफल भएपछि मृतकका परिवारलाई भारु ४ लाख क्षतिपूर्ति दिने र पक्राउ परेका तीनै जनालाई रिहा गर्ने सहमति भयो ।

“दुर्घटना बीमाको पैसा प्रशासनमा छ, तर उताका मानिस लिन आउँदैनन्” धनपालथान गाउँपालिकाका अध्यक्ष हरिलाल सिंह भन्छन्, “यताका मानिस उता जाँदा थुनछेक गर्छन्, कुटपिट गरेर सामान खोस्छन् ।”

मिलाउने प्रयास विफल
दुवैतर्फका नागरिकबीच मैत्रीपूर्ण सम्बन्ध कायम गर्न भएको प्रयास सफल हुनसकेको छैन । अध्यक्ष सिंहले वडाध्यक्ष बलिराम भगतसहितको जनप्रतिनिधिको टोलीलाई भारतका जनप्रतिनिधिसँग छलफलका लागि पठाएका थिए ।

इलाका प्रहरी कार्यालय, रंगेलीका तत्कालीन प्रहरी निरीक्षक सञ्जीवबाबु खड्काले समकक्षी प्रहरी अधिकृतलाई समस्या मिलाइदिन आग्रह गरेका पनि थिए । यहीबीचमा सर्पले डसेर वडाध्यक्ष भगतको मृत्यु र प्रहरी निरीक्षक खड्का सरुवा हुनुले पनि समस्याको समाधान हुनसकेको छैन ।

नोचास्थित बोर्डर आउट पोस्टका सशस्त्र प्रहरी निरीक्षक विक्रममणि अधिकारीका अनुसार, भारतीय एसएसबीलाई आग्रह गरेर दुई देशका नागरिकबीच मेलमिलाप गराउने प्रयास सशस्त्र प्रहरीले पनि गरेको थियो ।

अधिकारी भन्छन्, “पारिपट्टिका एसएसबी कमान्डर र मैले दुवैतर्फका मानिसलाई दशगजामा भेला गरेर मेलमिलाप गराउने तयारी गरेका थियौं, तर उताका कमाण्डर सरुवा भएकाले सम्भव भएन ।”

जिल्ला प्रशासन कार्यालय, मोरङ मुद्दा शाखाका नायब सुब्बा रमेश दाहालका अनुसार, ट्याक्टर धनीले मृतक परिवारका लागि रु.५ लाख जिल्ला प्रशासन कार्यालयमा बुझएका छन् । दाहाल भन्छन्, “मृतकको परिवार आवश्यक कागजात लिएर आए हामी सो रकम बुझउन तयार छौं ।”

दाहालका अनुसार, यस घटनामा सवारी चालक अनुमतिपत्र नभएका मोइमलाई पनि प्रहरीले पक्राउ गरी रु.३५ हजार धरौटीमा रिहा गरेको छ । स्थानीयका अनुसार, मृतकका परिवारले भने क्षतिपूर्तिको रकम घरमै लगेर दिनुपर्ने अडान राखेका छन् ।

 

प्रतिकृया दिनुहोस