जापान सरकारविरुद्ध न्यायको लडाइँमा नेपाली महिला
प्रहरीे हिरासतमा आफ्नो श्रीमान्को मृत्यु भएपछि टोक्योमा एक नेपाली महिलाले जापानी सरकारबाट क्षतिपूर्ति माग गर्दै मुद्दा दायर गरेकी छन् ।
जापानका मानवअधिकारवादीसँग मिलेर अम्बिका सिंह (३९) ले जापान सरकार र टोक्यो नगरपालिकासँग श्रीमान् अर्जुनबहादुर सिंहको मृत्युको कारण पनि मागेकी छन् ।
त्यसविरुद्ध उनले सात मिलियन येन अर्थात् (६३ हजार डलर) क्षतिपूर्ति पाउनुपर्ने बताएकी छन् । अर्जुनको मार्च २०१७ मा प्रहरी हिरासतमा मृत्यु भएको थियो ।
टोक्योमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अम्बिकाले भनिन्– “म मेरो श्रीमान् कसरी मरेका हुन् जान्न चाहन्छु । यदि उनी मारिएका हुन् भने त्यसमा कसको हात छ ? त्यो पनि म जान्न चाहन्छु ।”
बाजुराका अर्जुन नेपाली रेष्टुरेन्टमा कुकको काम गर्नको लागि सन् २०११ मा जापान आएका थिए । पाँच वर्षपछि टिबीका कारण अस्पतालमा बस्नुपर्ने भएपछि उनी नेपाल फर्किए ।
नेपालमा केही काम नपाएपछि उनलाई करीब २२ लाख ऋण लाग्यो र पुनः जापान फर्किए । जापानमा उनले नयाँ जागिर पाउन सकेनन् र सडकमै बास हुन थाल्यो ।
कसैको हराएको क्रेडिट कार्ड उनको साथमा फेला परेपछि प्रहरी गस्तीले उनलाई पक्राउ गर्यो । वकिलहरुले कार्ड उनले बाटोमा फेला पारेको र कहिल्यै प्रयोग नगरेको बताउँदै आएका छन् ।
प्रहरीले भने टोक्योको सिन्जुकु क्षेत्रमा प्रहरी अधिकारीहरुलाई सिंहले आक्रमण समेत गरेको दावी गरेको छ । प्रहरीले नियन्त्रणमा लिएर केरकार गर्दा उनी निकै काँपिरहेका थिए ।
लगत्तै प्रहरीले उनलाई अस्पताल पुर्यायो जहाँ उनलाई मृत घोषणा गरियो । डाक्टरहरुले समेत सिंहको मृत्युको कारण पत्ता लगाउन सकेका छैनन् ।
जापानका मानवअधिकारीवादी थोरु ताकाहासीले अम्बिकाको अभियानमा साथ दिंदै अनुसन्धानले प्रहरीबाट गम्भीर प्रकारको दुव्र्यवहार भएको पुष्टि गरेको बताएका छन् ।
प्रमाणको लागि सिंहको शवलाई ताकाहासी र उनका समकक्षी अजुमा तोयोहिसाले नयोगामा रहेको जेन मन्दिरमा लिएर थप परीक्षण गरेका थिए ।
हिमाल मिडियाको अंग्रेजी संस्करण नेपाली टाइम्ससँगताकाहासीले भने – “प्रमाणका लागि शव थियो, त्यसैले यसलाई जलाउनबाट हामिले यसलाई रोक्नु थियो । किनकि मरेको मानिसको पनि मानव अधिकार हुन्छ ।”
पुजारी र नयोगामा रहेका नेपालीको सहायताले ताकाहासी र तोयोहिसाले शव परीक्षणको रकम तिर्नुको साथै अम्बिकालाई नेपालबाट जापान बोलाएका थिए ।
जुन २०१७ मा दाहसंस्कारका लागि अम्बिका जापान आएकी थिइन् र अहिले उनी मुद्दाको लागि जापानमै छिन् ।
नेपाली टाइम्सले गत डिसेम्बरमा अम्बिका सिंहसँग काठमाडौंमा अन्तर्वार्ता गरेको थियो । त्यसक्रममा उनले टोक्योमा रहेको नेपाली दूतावासले सहयोग नगरेको गुनासो गरेकी थिइन् । सँगै सहयोगको लागि जापानी स्वयम्सेवकहरुलाई आभार व्यक्त गरेकी थिइन् ।
उनले भनेकी थिइन्– “यदि जापानीहरुले मलाई मद्दत गरेका थिएनन् भने म कहिले पनि मेरो श्रीमान्काे खरानी नेपाल ल्याउन सक्ने थिइन् । म आशा गर्छु मलाई जस्तो कसैलाई नहोस् । म व्यक्त गर्नै सक्दिन म वास्तविकतामा बाँचेकी छु की दुःस्वप्नमा ।”
जापानी अभियान्ताहरुले अम्बिकालाई जापानी प्रवासी मजदुरको लागि न्याय र संघर्षको प्रतिक भएको बताएका छन् ।
मुद्दामा सहभागी एक जना वकिल रुईतारो अगोवाले जापान टाइम्सलाई भनेका छन्– “यो घटनाले प्रवासी मजदुरहरुले काम गुमाएपछि कसैको साथ नपाउने तथ्य सिकाएको छ ।”