टिप्पणीशनिवार, श्रावण १२, २०७५

पाँचतले मन्दिरको पाठ

वसन्त महर्जन

हाम्रा सम्पदा कसरी बने, तिनको संरक्षणका लागि के कस्तो व्यवस्था थियो भन्ने कुरा भक्तपुरको पाँचतले मन्दिरबाट सिक्न सकिन्छ ।

विभिन्न कलाकृतिले युक्त मठमन्दिर, पाटीपौवा र राजप्रासादहरू नेपालको सांस्कृतिक सम्पदा हुन् । आजभोलि विदेशी दातृनिकाय एवं विज्ञ विना यस्ता सम्पदाको संरक्षण नहुने अनौठो बुझइको विकास हुँदैछ । यो बुझइले सम्पदा संरक्षणमा असर त पार्छ नै नयाँ निर्माणलाई पनि भुत्ते पार्छ । 

सम्पदा निर्माण र संरक्षण कसरी हुन्छ भनेर बुझउन भक्तपुरको टौमढी टोलमा पाँचतले मन्दिर खडा छ । स्थानीय बोलीमा ‘ङातापोल द्यःगः’ भनिने यो मन्दिर पूरै नेपालभित्र सबभन्दा अग्लो तीन–तीन वटा महाभूकम्पमा साबुत रहेको सम्पदा हो ।

यो भव्य मन्दिरको निर्माण मात्र ६ महीनाभित्र सम्पन्न भएको जान्दा तिलस्मी कथा जस्तो लाग्छ । राष्ट्रिय अभिलेखालयमा संग्रहित हस्तलिखित ग्रन्थहरूमा ‘सिद्धाग्नि कोट्याहुति देवल प्रतिष्ठा’ पत्ता लगाई त्यसको अध्ययन गर्ने डा. जनकलाल वैद्यबाट इतिहासको यो पाठ उपलब्ध भएको हो ।

त्यसअनुसार ने.सं. ८२२ कात्तिक शुक्ल ३ (वि.सं. १७५८) का दिन मन्दिर निर्माणार्थ जंगलमा काठ संकलन गर्न विधिवत् पठाइएको थियो भने माघ शुक्ल पञ्चमीका दिन जग हाल्ने (पादुका स्थापना) अनुष्ठान सम्पन्न भयो ।

निर्माण कार्यको प्रत्येक चरणमा तान्त्रिक कर्मकाण्ड सम्पन्न गराइकन वास्तुशास्त्रीय विधिको रीत पुर्‍याएर ६ महीनाभित्र सम्पूर्ण निर्माण कार्य सम्पन्न गरी आषाढ कृष्ण १२ शुक्रबारका दिन सिद्धाग्नि कोट्याहुति यज्ञमण्डपमा पूर्णाहुति गरिएको थियो ।

अभिलेख अनुसार, तत्कालीन भक्तपुरको जनसंख्या तीन हजार ८७७ थियो । त्यस राज्य अन्तर्गतका ठिमी, बोडे, नगदेश, नाला, साँगा, बनेपा, धुलिखेल, पनौती, चौकोट र श्रीखण्डपुरमा ६ हजार ६०९ जनसंख्या थियो ।

मन्दिर उद्घाटनमा ती पूरै क्षेत्र र ललितपुरका पनि जनता निम्त्याइएका थिए । भोजमा नाला, विहावर, रत्नपुर, भैंसे, रायगाम, बोतगाम, हरिहरपुर, धुलिखेल, पनौती, पाल्पा, गोरखा, मकवानपुर आदि स्थानबाट कार्की, बस्नेत, खत्री, थापा, घर्ती, अधिकारी, खड्का, राय, खनाल, जैसी आदि थरघरका ६९८ जना खसपञ्चहरू पनि सरिक भएका थिए ।

उनीहरू सिद्धाग्नि कोट्याहुति यज्ञका निम्ति फलफूल, तिल, बेलपत्र, समिधा, दाउरा, दूध, दही, घ्यू, मह तथा बलिका लागि चाहिने पशुपक्षी ‘सेवाकू’ लिएर आएका थिए । अभिलेखमा निम्तारुहरूको नामथर नै पाइनु कम रोचकको कुरा होइन ।

हाल पाँचतले मन्दिर रहेकै ठाउँमा पहिला ‘ङातापुल’ नामकै अर्को मन्दिर रहेको उल्लेख भएबाट राजा भूपतिन्द्र मल्लले सोही मन्दिरलाई विस्तार गरेको बुझन सकिन्छ । त्यसका लागि वरिपरिका घरजग्गा अधिग्रहण गरेर त्यहाँका जनतालाई टौमढी र दत्तात्रेय बीचको पलिख्यः टोलमा सारिएको थियो । मन्दिर निर्माण कालमा कान्तिपुर राज्यसँग भक्तपुरको सम्बन्ध राम्रो नभएको बुझिन्छ ।

पाटनका राजा योगनरेन्द्र मल्ल यज्ञको अग्नि स्थापन अनुष्ठानकृत्य हुने दिन, मन्दिरमा गजुर चढाई सिद्धिलक्ष्मीको प्रतिमा स्थापना गर्ने दिन र कोट्याहुति यज्ञको पूर्णाहुतिको दिन गरी तीन पटक प्रमुख राज अतिथिका रूपमा सरिक भएका तर कान्तिपुरका राजाबारे केही उल्लेख नहुनुले यस्तो अनुमान गर्न सकिन्छ । राज्य–राज्य बीचको वैमनस्यले जनताको धार्मिक भावनामा भने कत्ति पनि प्रभाव नपरेको माथि उल्लिखित जनसहभागिताबाट थाहा हुन्छ ।

मन्दिर निर्माण कार्यमा टाढाटाढाका आस्थावान् जनताको पनि योगदान थियो । कसले के काम गरेको, कुन ठाउँबाट के ल्याइएको र पारिश्रमिक लिनेहरूलाई कति दिनु पर्‍यो भन्ने जस्ता कुराहरू पनि अभिलेखमा उल्लेख छ । कलाकर्मीहरूको नाम समेत उल्लेख भएको त्यस अभिलेख अनुसार विशिष्ट कर्मीहरूलाई चाँदीका गरगहना पुरस्कार दिइएको थियो ।

२०५३ असोजदेखि २०५४ जेठसम्म नौ महीना लगाएर मर्मत गरिएको पाँचतले मन्दिरले १८९० र १९९० सालको महाभूकम्प थेग्यो । भक्तपुरमा ठूलो क्षति पुर्‍याएको २०४५ सालको भूकम्पले पनि यो मन्दिरलाई असर गरेन । २०७२ सालको महाभूकम्पले चुचुरोमा मात्र केही असर गर्नुले यो मन्दिरको ‘इन्जिनियरिङ’ कति मजबूत रहेछ भन्ने बुझउँछ ।

२०७२ वैशाखको महाभूकम्पपछि हनुमानढोका लगायतका सम्पदाहरूको मर्मत तथा पुनर्निर्माणमा चीन, अमेरिका, जापान, श्रीलंका, भारत आदि देशहरूको संलग्नता वास्तवमा अहिले नेपालप्रति दरिलो व्यङ्ग्य हो । भूकम्पले खसालेको पाटन दरबारस्थित राजा योगनरेन्द्र मल्लको स्तम्भमाथिको धातु मूर्ति पुनस्र्थापनामा खटेका विदेशीहरूको काम हेर्न पाटनवासी पुगिबस्थे ।

तिनमा कतिपय यस्तै काम गरेर कपाल फुलाएकाहरू थिए । उनीहरूले छक्क पर्दै ‘यस्तो गर्नुपर्नेमा किन त्यस्तो गरेको होला नि’ भन्दै आपसमा टिप्पणी गरेको थुप्रै पटक सुनियो । त्यस्तो टिप्पणी गर्नेहरू तिनै स्थानीय हुन्, जसका पुर्खाहरू ‘ङातापोल द्यःगः’ निर्माण गर्न ससम्मान निम्त्याइएका थिए ।

प्रतिकृया दिनुहोस