पाकिस्तान : इमरान खानको पार्टी सबैभन्दा ठूलो, सरकार बनाउन २३ सिट पुगेन
पाकिस्तानमा सम्पन्न आम निर्वाचनको आज सार्वजनिक मतपरिणाम अनुसार पूर्व क्रिकेटर इमरान खानको पार्टी तेहरिक–ए–इन्साफले ११४ स्थानमा जितेर सबैभन्दा ठूलो पार्टी भएको छ । यद्यपि, खानको पार्टीले सरकार गठनका लागि आवश्यक १३७ स्थान भने प्राप्त गर्न सकेन ।
९ साउनमा भएको निर्वाचनको मतगणनामा ढिलाई भएको भन्दै चौतर्फी आलोचना भइरहेको बेला निर्वाचन आयोगले अन्तिम परिणाम आज, ११ साउनमा सार्वजनिक गरेको हो । प्राप्त विवरण अनुसार, प्रमुख तीन दल तेहरिक–ए–इन्साफले ११४, पूर्व प्रधानमन्त्री नवाज शरिफको पार्टी पाकिस्तान मुस्लिम लीगले ६३ र पाकिस्तान पिपुल्स पार्टीले ३९ स्थान जितेका छन् ।
कूल ३४२ स्थान रहेको पाकिस्तानी संसदमा २७२ स्थानका लागि प्रत्यक्ष निर्वाचन हुने गर्दछ । बाँकी सदस्यहरु महिला र अल्पसंख्यक समुदायहरुका लागि आरक्षित छन् ।
सरकार गठनका लागि आवश्यक बहुमत (१३७ स्थान) प्राप्त नगरेका कारण इमरान खानले अन्य साना दलसँग गठबन्धन निर्माण गर्नुपर्ने परिस्थिति उत्पन्न भएको छ ।
खानको दलका प्रवक्ता फवाद चौधरीले गठबन्धन सरकार निर्माणका लागि साना दल र सहयोगी दलहरुसँग वार्ता शुरु भइसकेको बताएका छन् ।
“पाकिस्तानी जनताका अघिल्तिर म प्रण गर्दछु कि पाकिस्तानको बागडोर मैले सम्हाले लगत्तै विगतमा भन्दा बिल्कुल भिन्न किसिमबाट म मुलुकलाई अघि लैजानेछु,” खानले भने । उनले मुलुकबाट भ्रष्टाचार निर्मूल गर्ने, कामै नलाग्ने अवस्थामा पुगेका सरकारी निकायको क्षमता सुदृढ गर्ने तथा सम्मान र समानताका आधारमा परराष्ट्र सम्बन्ध विकास गर्ने बताएका छन् ।
उनका विपक्षी र मानव अधिकार समूहहरुले चुनावमा व्यापक धाँधली भएको आरोप लगाएका छन् । उनीहरुले चुनावमा पाकिस्तानको शक्तिशाली सेना र गुप्तचर निकाय आइएसआईको संलग्नता रहेको दाबी गरेका छन् । खानले भने मुलुकको ७१ वर्षको इतिहासमा पहिलोपटक सबैभन्दा पारदर्शी चुनाव भएको बताएका छन् ।
एपी/रासस