टिप्पणीशनिवार, कार्तिक ६, २०७३

एउटा असफल कथा

शेखर खरेल

सन् १९९० को दशकको मध्यतिर सिंगापुरमा गुमनामप्रायः जीवन बिताइरहेका एक नामचीन व्यक्तिसँग संयोगवश मेरो भेट भयो । देशमा बहुदलीय व्यवस्था पुनस्र्थापित भएलगत्तै पञ्चायतका सर्वाधिक शक्तिशाली ती पात्र ‘मणि हराएको नाग’ झै सिंगापुरको च्याङ्गी अन्तर्राष्ट्रिय विमानस्थल, लिटल इण्डिया भनिने साराङ्गून रोड र चाइना टाउनको एउटा नेपाली रेस्टुराँबीच चलायमान देखिन्थे ।

मेरो बाल्यकाल र किशोरावस्था उनका कर्तुतका किस्साहरूले भरिएका थिए । नहुन पनि किन, उनी देशका ‘किङ्गमेकर’ र ‘न्यूजमेकर’ दुवै थिए । खेलकुदका ठूला प्रतियोगिता आयोजना हुने दशरथ रङ्गशालाको छानोसहितको प्यारापिटको राजसिंहासनमुनि उनी रामायणमा देखिने हनुमान झै राजपरिवारका सदस्यका पाउमुन्तिर यन्त्रवत् घुँडा टेकेर बसेको उनको तस्वीर पत्रपत्रिकामा प्रशस्त छापिन्थे । आलोचक कतिपय उनलाई हनुमान वा हाब्रे भनी खिसिटिउरी गर्दथे, रिझउनेहरूबीच चाहिं उनी शरद राजा कहलिन्थे । मैले कुनै बेला नेपालमा हावाको दिशासमेत बदल्न सक्ने शक्तिशाली शरदचन्द्र शाहलाई सिङ्गापुरमा हुरीमा थर्थराउने पात झै भेटेको थिएँ ।

सिङ्गापुरको पर्यटकको हैसियतको छोटो बसाइमा उनीसँगको सङ्गत सघन भएको थियो । शाह चाइना टाउनस्थित आफ्नो नेपाली रेस्टुराँमा बोलाउँथे, वेटरको कुनै परवाह नगरी आफैं परिकारहरू बोकेर ल्याउँथे र भन्थे, “बाबु मेरो लागि खेलकुद परिषद् यही हो, यी यो भारत्तोलन (हातमा बोकेका प्लेटहरूतिर इशारा गर्दै) र यो (हिंडाइ) चाहिं ट्र्याक एण्ड फिल्ड ।” भेटमा उनी हँसिमजाक गर्न भुल्दैनथे । उनीसँगको बसिबियाँलो कहिल्यै पट्यारलाग्दो हुँदैनथ्यो । अनुभव, सूचना र कथन (न्यारेटिभ) का उनी अथाह खानी थिए ।

पञ्चायतका सबैभन्दा ठूला भारदार शाह सम्वत् २०४६ को जनआन्दोलनको तारो बन्न पुगेका थिए । पञ्चायत फाल्न निस्केको हूलले उनको डिल्लीबजारस्थित घरमा आगजनी र लूटपाट गरेको थियो । पञ्चायतका मानस पुत्र शाह मातारूपी व्यवस्थाको अवशानपछि विदेश पलायन भएका थिए । हुन त पञ्चायतका हितैषी र हिमायती उनी मात्रै थिएनन्, तर अरू भने व्यवस्थासँगै बदलिए । शाहको पलायनको एउटै कारण थियो, ‘एब्स्योलूट अथोरिटी’ अर्थात् असीमित अख्तियारीको प्रयोगबाट अकस्मात् च्यूत हुन पुग्नु । शायद, भूमिका र अख्तियारी बेगरको जीवन उनलाई सहज भएन ।

सिङ्गापुर भेटको धेरैपछि उनै शाह मेरा एक नातेदारका छोराको ब्रतबन्धको भोजमा देखिए, जुन बेला पञ्चायत मात्र होइन, शाह पल्लवित राजसंस्था पनि नारायणहिटी दरबारबाट इतिहासको पानामा छिरिसकेको थियो । भेटमा मैले सोधें, “जीवनमा यति धेरै उतार–चढाव भोगेको, सत्ताभित्र र बाहिरका अनेकौं रङ देखेको मान्छे तपाईं किन आत्मकथा लेख्नुहुन्न ?” मुस्कुराउँदै उनले अंग्रेजीमा जवाफ दिए, “आइ डोन्ट लाइक टु राइट अ फेल्ड स्टोरी । इफ यू राइट अ सक्सेसफूल स्टोरी यू टेक क्रेडिट, बट इफ यू राइट अ फेल्ड स्टोरी यू ब्लेम अदर्स्, आइ डोन्ट लाइक टु ब्लेम अदर्स् (म असफल कथा लेख्न चाहन्न, किनकि यदि तपाईं सफलताको कथा लेख्नुहुन्छ भने त्यसको जस लिनुहुन्छ । तर, यदि असफलताको कथा लेख्नुहुन्छ भने अरूलाई दोष दिनुहुन्छ, र म अरूलाई दोष दिन चाहन्न) । भेटको केही समयपछि उनी कसैलाई दोष नदिई गुमनाम संसारबाट विदा भए ।

लोकमानको रावणपथ

भनिन्थ्यो लङ्का सुनको थियो । र, लङ्कापति रावण सारा संसार मात्र नभएर स्वर्ग समेतका अधिपति थिए । रावण पुत्र मेघनादले देवताका राजा इन्द्रलाई जितेपछि उनलाई इन्द्रजित नामले पुकारिन थालियो । तर, रूपसी अप्सराहरू सेवामा हुँदाहुँदै पनि रावणलाई अहम्ले छाडेन । त्यसैले उनी वनवासमा रहेका अयोध्याका राजकुमार रामकी पत्नी सीतालाई अपहरण गर्न पुगे । रावणको दुर्दिन सीताको अपहरणसँगै शुरू भयो । सुनको लङ्कासँगै उनी पनि पतन भए ।

रावणको कथा शक्तिको उन्माद र अख्तियारीको दुरुपयोगको नीति कथा हो । रामायणको मिथ मात्र होइन हामीले आधुनिक विश्वका अनगिन्ती अभिमानी, दुराचारी र शक्ति उन्मादी शासकहरू धूलिसात् भएको देखेका छौं, सुनेका छौं । एक्काइसौं शताब्दीमा लोकतन्त्रको उन्नत पद्धतिलाई कानूनी शासनद्वारा अङ्गीकार गरेको नेपालमा केही समययता मध्ययुगमा समेत असंभव शक्तिको उन्माद अख्तियार दुरुपयोग अनुसन्धान आयोग (अदुअआ) का निलम्बित प्रमुख लोकमानसिंह कार्कीले मञ्चन गर्दै आएका थिए । ‘मेगालोमेनियाक’ (अहंकारोन्मादी) लोकमानले अदुअआ प्रमुखको पदलाई व्यक्तिगत रिसइबी साध्न र लेनदेनको पूर्ति गर्ने माध्यमका रूपमा दुरुपयोग गरे । ती सबैलाई ‘सिध्याउने’ धृष्टता गरे, जो उनका निम्ति शत्रु दरिएका थिए ।

अदुअआ प्रमुखको नियुक्ति उपर परेको मुद्दामाथिको पुनरावलोकन र संसद्मा दर्ता महाअभियोग प्रस्ताव लोकमानका निम्ति पहिरो र बाढी बीच अड्किएको घर जस्तै हो । यद्यपि यो केवल शुरूआत मात्र हो, उनीबाट भएका पदीय दुरुपयोग, गैरकानूनी आर्थिक लाभका काम, इबी साध्न गरिएका कुकर्मको पक्कै हिसाब हुनेछ । सबैभन्दा महŒवपूर्ण चाहिं, अवकाशपछिको व्यक्तिको शान्त र आनन्दमय (ब्लिसफूल) समय उनलाई केवल बिझउने मात्र हुनेछ, किनकि लोकमानको सारा जीवन लोकलाई बिझउनका लागि मात्र प्रयोग भएको छ । जसको जीवन डर, त्रास र शक्तिको आडमा टिकेको हुन्छ, त्यो विनाशशील हुन्छ । मानिसको शरीरलाई नै हेरौं न, दाँत कति कठोर र जड हुन्छ । तर, त्यो एक दिन झ्रिकन छाड्छ, तर नरम र लचकदार जिब्रो जीवनपर्यन्त रहिरहन्छ ।

संसारका अहंकारोन्मादी मानिसलाई बाँकी जीवनका लागि आफ्नो धर्तीसम्म प्राप्य नभएका दृष्टान्त धेरै छन् । अरूको उपयोगितामार्फत अभीष्ट पूरा गर्दै आएका लोकमान स्वयंको उपयोगिता अब सकिंदैछ । लोकमानको कथा पनि एउटा असफलताको कथाको शृंखला हो । शरदचन्द्र शाहको शब्दलाई पैंचो लिने हो भने, उनको कथा कस्तो होला र त्यसको जस र अपजसका भागीहरू को को होलान् ?

प्रतिकृया दिनुहोस