नेपालविरूद्ध टि–२० का लागि नेदरल्यान्ड्सले बोलायो रिपोनलाई
काठमाडौं (हिमाल)– नेदरल्यान्ड्सले नेपालविरूद्ध आइतबार हुने टि–२० खेलका लागि माइकल रिपोनलाई टोलीमा बोलाएको छ। दक्षिण अफ्रिकामा जन्मिए पनि रिपोन बेलायत र न्युजिल्यान्डमा बसेर क्लब क्रिकेट खेल्छन्। बेलायतको लर्ड्स मैदानमा हुने टि–२० खेलमा अलराउन्डर रिपोन टिममा फर्किएका हुन्।
नेपालले अगष्ट १ मा नेदरल्यान्ड्सविरूद्ध ऐतिहासिक एकदिवसीय खेल्नुअघि टि–२० खेल्दैछ। नेपालको भिड्न्त स्थानीय मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) विरूद्ध पनि हुनेछ। यसपछि नेपाली टोली दुई एकदिवसीयका लागि नेदरल्यान्ड्सतर्फ लाग्नेछ। नेपालले दोस्रो एकदिवसीय अगष्ट ३ मा खेल्नेछ।
लेफ्ट–आर्म ‘चाइनाम्यान’ स्पिनर रिपोन यसै वर्षको सुरुवातमा जिम्बाबेमा भएको आइसिसी क्रिकेट वल्र्डकप छनोटमा टिममा समावेश थिएनन्। न्युजिल्यान्डको घरेलु लिग क्रिकेटमा अनुबन्धित भएका कारण उनी टिममा अनुपस्थित थिए।
पिटर सेलारको कप्तानीमा उत्रिने नेदरल्यान्ड्सको टोलीमा रायन टेन डोएच्से, रोएलोफ भान डेर मार्वे र टिम भान डेर गुइटेनजस्ता स्टार खेलाडी समावेश छैनन्। नेपालविरूद्ध तीन नयाँ अनुहार हिडे ओभरडिक, क्लेटन फ्लोड र टोनी स्टाल मैदानमा उत्रिने सम्भावना बलियो छ। ओभरडिक र डान टेर ब्राक, जो गत वर्ष आयरल्यान्डमा सम्पनन आइसिसी इन्टरकन्टिनेन्टल कपमा पनि समावेश थिए, उनीहरू नेपालविरूद्ध एकदिवसीयका लागि पनि डच टोलीमा समावेश छन्।
टि–२० टोली
पिटर सेलार (कप्तान), वेस्ले बारेसी, स्कट इडवार्ड (विकेटकिपर), क्लेटन फ्लोड, फ्रेडेरिक क्लासन, बास डे लिडे, पाउल भान मिकेरन, म्याक्स ओ’ डोवाड, हिदे ओभरडिक, माइकल रिपोन, शेन स्नाटर, टोनी स्टाल, टोबियस भिसे।