एमबापेलाई ७ नम्बर जर्सी
पेरिस (एजेन्सी)– विश्वका उत्कृष्ट युवा खेलाडी फ्रान्सका केलियन एमबापेलाई क्लबले ७ नम्बरको चर्चित जर्सी प्रदान गरेको छ।
फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) मा गत सिजन ऋण समझौतामा प्रवेश गरेका एमबापेले २९ नम्बरको जर्सी पाएका थिए। तर, यसै महिना रुसमा सम्पन्न विश्वकपमा उनको उत्कृष्ट प्रदर्शनपछि क्लब उनीसँग थप लोभिएको थियो। यसअघि पिएसजी क्लबमा ७ नम्बरको जर्सी ब्राजिलका २५ वर्षीय मिडफिल्डर लुकास मोउराले पहिरिएका थिए।
मोउरा २०१३ देखि पिएसजीमा आवद्ध थिए। तर, यही जनवरीमा २ करोड ५० लाख पाउन्डमा पिएसजीले इङ्लिस क्लब टोटेनहमलाई बेचेको थियो।
एमबापेको चाहना पनि ७ नम्बर जर्सीमा उत्रिने थियो। १९ वर्षीय एमबापे पोर्चुगिज स्ट्राइकर क्रिष्टियानो रोनाल्डोका ठूला ‘फ्यान’ हुन्। रोनाल्डो पनि ७ नम्बर जर्सीमा उत्रिने गर्छन। पिएसजीले यसै सिजनमा एमबापेलाई विश्वको दोस्रो ठूलो स्थानान्तरणको रुपमा मोनाकोबाट १ सय ६८ मिलियन पाउन्डमा क्लबमा भित्र्याएको थियो।