रिपोर्टबुधवार, श्रावण ९, २०७५

शहरिया बन्दै सन्थाल समुदाय

गोपाल गडतौला

श्रीमती तालामाई मर्डी र छोरी अस्मिताका साथ दिलीपकुमार बास्के । तस्वीरहरुः गोपाल गड्तौला 

आफ्नो नाममा जमीन नहुँदा गरीबीको चपेटाबाट बाहिर निस्कन नसकेका आदिवासी सन्थाल समुदायका सदस्यहरु अवसरको खोजीमा शहर छिर्दैछन्।

देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारभित्र आफ्नो जातको कोही सेवाग्राही छिरेको विश्वदीपलाई सम्झना छैन । तर, उनी हरेक दिन सरकारी पोशाकमा सिंहदरबार छिर्छन् ।

ललितपुरको एकान्तकुनामा बस्ने उनी सिंहदरबार छिर्दै गर्दा कहिलेकाहीं खर र बाँसका घरहरूको बस्ती, मजदूरी गरी गुजारा गर्ने आफ्नै गाउँले जीवन सम्झ्न पुग्छन् । उनी भन्छन्, “मेरा धेरैजसो दौंतरी र आफन्त अर्काको खेत–खलियानमा हली–गोठाला छन्, म भने कसोकसो यहाँसम्म आइपुगें ।”

विश्वदीप बेस्रा, सन्थाल समुदायका एक्ला सरकारी अधिकृत हुन्; जो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, मानवअधिकार शाखामा कार्यरत छन् ।

उनका बाबु सुन्दर र आमा मासोम झापाको राजगढमा खनजोत गरिरहेका छन्, मुश्किलले खान पुग्ने खेतबारीमा । उनका बाबु सुन्दर, समुदायका थोरैमध्ये पर्छन्; जो ३४ वर्षदेखि प्राथमिक तहका शिक्षकका रूपमा कार्यरत छन् ।

बाबु शिक्षक भएकाले उनलाई पढाइको वातावरण मिल्यो । २०५६ मा एसएलसी उत्तीर्ण गरेका उनले २०७० मा कानूनमा स्नातक र १७ मंसीर २०७२ मा लोकसेवाको अधिकृत परीक्षा उत्तीर्ण गरे । “त्यो मेरा लागि खुशीको दुर्लभ क्षण थियो”, विश्वदीप अधिकृतको नियुक्तिपत्र हात परेको दिन सम्झन्छन्।

आदिवासी सन्थाल राष्ट्रिय उत्थान प्रतिष्ठानका अनुसार १०० मा ९७ जना सन्थालसँग आफ्नो नाममा जमीन छैन । यो समुदायमा एसएलसी उत्तीर्ण गर्नेको संख्या १०० भन्दा माथि छैन ।

प्रायः सन्थाल छोरीहरूको १८ वर्ष नपुग्दै बिहेवारी भइसक्छ । आफ्नो नाममा जमीन नहुँदा सन्थालहरू गरीबीको चपेटाबाट बाहिर निस्कन सकेका छैनन् ।

विश्वदीप बेस्रा ।

२०६८ को राष्ट्रिय जनगणना अनुसार ५१ हजार ७३५ जनसंख्या रहेको सन्थाल जातिका करीब १०० जति अवसरको खोजीमा काठमाडौं छिरेको अगुवा सन्थालको भनाइ छ ।

नेपाल सन्थाल आदिवासी उत्थान संघ, झापाका अध्यक्ष बडाराम हेमरम भन्छन्, “भर्खर हामीकहाँ पढ्नुपर्छ भन्ने चेत खुल्दैछ र नयाँ–नयाँ अवसरको खोजीमा सन्थालहरू शहर छिर्न थालेका छन् ।”

विश्वदीप जस्तै सरकारी जागिर खाएर शहर छिर्ने सन्थाल समुदायका अर्का सदस्य हुन्, दिलीपकुमार बास्के (३९) । २०५२ मा एसएलसी उत्तीर्ण गरेपछि दिलीपकुमार झापा र मोरङका गाउँगाउँमा स्वयंसेवकका रूपमा सन्थाली भाषा र लिपि सिकाउँदै हिंड्थे । यो उनले आफ्नै मर्जीले गरेको कर्म थियो ।

जाँडरक्सी खानुहुँदैन, छोराछोरीलाई पढाउनुपर्छ भन्ने सन्देश दिंदै दिलीपकुमार सन्थाल बस्तीका झुप्रा चहार्थे । २०५८ मा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानमा खरिदारको जागिर मिलेसँगै दिलीपकुमार काठमाडौं आए ।

उनकी श्रीमती तालामाई मर्डी पनि प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावलाखेलमा करारमा कार्यालय सहयोगी पदमा कार्यरत छिन् । झापाको राजगढ माइती भएकी तालामाई प्रमाणपत्र तह उत्तीर्ण छिन् । आमा र दुई भाइ भने झापाको हल्दीबारीमा रहेको एक बिघा मोहियानी जग्गाको आयस्ताबाट जीविका चलाउँछन् ।

दिलीपकुमारलाई गाउँको एउटा अप्रिय सम्झनाले नमीठोसँग घोचिरहन्छ । उनी कक्षा ४ मा पढ्दा सबै विद्यार्थीबाट २५ पैसाका दरले उठाएर पानी खानका लागि माटोको घैंटो किनिएको थियो ।

एक दिन उनले कक्षाका अरू विद्यार्थीले झैं घैंटोबाट पानी गिलासमा सारेर पिए । सन्थालको छोरोले घैंटो छोयो भन्ने हल्ला स्कूलभरि फैलियो । विद्यालयका शिक्षकहरू चूप रहे ।

विद्यार्थीले घैंटोको पानी घोप्ट्याए र लाठीले फुटाए । उनले यो घटना घर फर्किएर बाबुलाई सुनाए । “अरूले जतिसुकै अपमान गरे पनि पढ्नु भनेर मलाई बुवाले सम्झाउनुभयो” उनी भन्छन्, “यो समाजमा मेरो हैसियत यही रहेछ भन्ने लागेर त्यो दिन नमज्जासँग रोएको थिएँ ।”

ग्रावियल बेस्रा ।

रोजगारी खोज्दै काठमाडौं आएकामध्येकै हुन्, जोहन टुडु (३९) । मोरङको जहदामा जन्मे–हुर्केका उनी काठमाडौंको एक छापाखानामा काम गर्छन् । गाउँको १० कट्ठा जमीनले ९ जनाको परिवार पाल्न गाह्रो भएपछि परिवारको जेठो सन्तान जोहनले २०६७ मा गाउँ छाडेका हुन् ।

फेरफारे कपडा, केही महीना खान पुग्ने चामल र जसरी पनि काठमाडौंमा अडिने सपना बोकेर उनी शहर पसेका थिए । उनका दुई छोराछोरी एलिना (७) र उज्ज्वल (४) ललितपुरको शंखमूलमा रहेको लिटिल फ्लावर स्कूलमा पढ्छन् ।

दक्षिण पश्चिम झापाको गौरीगञ्ज गाउँपालिका–२ का ग्राबियल बेस्रा ललितपुरको धोबीघाटस्थित एक स्टोरमा काम गर्छन् । ग्राबियलले भारत, बिहारको किसनगञ्जस्थित क्रिश्चियनहरूको मिसनरी स्कूल सेन्ट जेभियर्सबाट माध्यमिक स्तरको पढाइ सकेका हुन् ।

त्यस्तै, मोरङको बाबियाबिर्ता घर भएका मर्कुस मर्डी (२६) क्रिश्चियन संस्था लुथरनको चर्चका लागि काम गर्छन्, बाइबल पढ्छन् । उनले बाइबलकै थियोलोजी विषयमा स्नातक गरेका छन् ।

गरिखाने उपायको खोजीमा शहर पसेका सन्थालमध्ये मोरङ होक्लाबारीका सिमोन सोरेन (२४) पनि एक हुन् । पाँच दाजुभाइमध्येका कान्छा उनी छापाखानामा मजदूरी गर्छन् । उनका जेठो दाइ सन्थाल समुदायलाई दिइने सहुलियतको अध्ययनमा अवसर पाएर सोमई भारतको झारखण्डमा छन् ।

मर्कुस मर्डी र जोहन टुडु ।

आफन्तहरू धेरै उता भएकाले उनलाई झारखण्डको पढाइ सम्भव भएको थियो । उनका तीन भाइहरू जोसेफ, डेविड र हेप्ना भने भारतमै मजदूरी गर्दैछन् । सिमोन भन्छन्, “कसोकसो पढिएछ र यहाँसम्म आइपुगें, नत्र गाउँमै मेला मजदूरी गरेर जुनी बित्थ्यो ।”

शिक्षाको पर्खाइमा
देहातमा पुरानै ढाँचा–ढर्राको जीवन गुजारिरहेका सन्थालका झुप्रासम्म शिक्षाको अवसर पुर्‍याउनुपर्ने शहर पसेका सन्थालको भनाइ छ । संघका झापा अध्यक्ष हेमरम विकासको मूलधारमा ल्याउन सन्थालहरूका लागि सरकारले विशेष कार्यक्रम ल्याउनुपर्ने बताउँछन् ।

उनी भन्छन्, “छिटो रोजगारी मिल्न सक्ने प्राविधिक सीपमा सन्थालको पहुँच बढाउने कार्यक्रम ल्याइनुपर्छ । शिक्षाको वातावरण र रोजगारी भयो भने हामी पनि अरूसँग प्रतिस्पर्धामा जान सक्छौं ।”

यसमा विश्वदीप पनि सहमत देखिन्छन् । भन्छन्, “हरहालतमा शिक्षाको ज्योति सन्थालका बस्तीमै लैजानुछ, राज्य अलिक दाहिना भयो भने सम्भव होला ।”

प्रतिकृया दिनुहोस