पाकिस्तानको निर्वाचनमा आत्मघाती बम बिस्फोट, २२ को निधन
इस्लामाबाद (एजेन्सी)– पाकिस्तानमा प्रधानमन्त्री चयनका लागि भइरहेको आम निर्वाचनको बेला आत्मघाती बम बिस्फोटको घटना बाहिर आएको छ। पाकिस्तान स्वशाषित प्रान्त बलूचिस्तानको राजधानी क्वेटा शहरमा बुधबार भएको बिस्फोटमा २२ सर्वसाधारणको ज्यान गएको बेलायतबाट प्रकाशित ‘दि गार्डियन’ पत्रिकाको अनलाइन संस्करणमा जनाइएको छ। मृतकको संख्या अझै बढ्न सक्ने बताइएको छ।
घटना केही समय अगाडि ११ बजे भएको थियो। क्वेटाको २ सय ६० नम्बरको चुनावी क्षेत्रमा भएको बिस्फोटमा पुलिसको गाडीलाई लक्षित गरिएको बताइएको छ। पाकिस्तान तारिक–ए– इन्साफ पार्टीका नेता चौधरी मोहम्मद सरवारले घटनाको निन्दा गरेका छन्।
पाकिस्तानमा आज भइरहेको राष्ट्रिय तथा प्रान्तीय निर्वाचनमा ३ लाख ७१ हजार ३ सय ८८ सेना खटिएका छन्।