टिप्पणीबुधवार, श्रावण ९, २०७५

ठाकुरद्वारामा तीन कर्मशील

चन्द्रकिशोर

खर्के दमाई, महादेवप्रसाद ढकाल र एक पूर्वकमैया युवा यस क्षेत्रका लागि मात्रै होइन, अन्यत्रका लागि समेत उदाहरण हुन् ।

खर्के दमाई, महादेवप्रसाद ढकाल र अर्जुन किरानाका साहु । तस्वीर: चन्द्रकिशोर

पूर्व–पश्चिम राजमार्गको पश्चिमी खण्डमा पर्ने कोहलपुरबाट करीब ५६ किमि पश्चिम र चिसापानी (कर्णाली) बाट १९ किमि पूर्वमा अम्बासा भन्ने ठाउँ छ, जुन बर्दिया जिल्लामा पर्छ ।

त्यहाँबाट दक्षिणतिर लाग्यो भने करीब साढे १३ किमि दूरीमा प्रसिद्ध ठाकुरद्वारा मन्दिर छ । यिनै ठाकुरबाबाको नामबाट अहिले नगरपालिकाको नाम राखिएको छ– ठाकुरबाबा नगरपालिका । 

ओरही र पटुवा खोलाको वरिपरि बसेको ‘ठाकुरद्वारा’ बस्ती बिस्तारै गुलजार हुँदैछ । बर्दिया राष्ट्रिय निकुञ्जसँग जोडिएको कारण ठाकुरद्वारा पछिल्ला वर्षमा चर्चित भएकोे छ । कतिपयले यसलाई पर्यटकीय रूपमा पश्चिमको ‘सौराहा’ पनि भन्छन् । बर्दिया राष्ट्रिय निकुञ्जमा बाघ र बाघका आहारा प्रजाति, दुर्लभ एकसिंगे गैंडा, एशियाली हात्ती, बाह्रसिंगे लगायत महत्वपूर्ण र संकटापन्न वन्यजन्तु यहाँ सहज दर्शनीय छन् ।

ठाकुरद्वारामा पर्यटकहरूको आगमनलाई लक्षित गरी सुविधा सम्पन्न होटल पनि खुल्दै गएका छन् । व्यापार बिस्तारै फस्टाउँदो छ । सडक छेउका जग्गाहरू महँगोमा धमाधम बिक्री हुँदैछन् ।

यसको कारण हो– अम्बासादेखि ठाकुरद्वारासम्म बन्दै गरेको पक्की सडक र यसबीचमा पर्ने निर्माणाधीन दुई पुल, जसले यस क्षेत्रमा चहलपहल बढाएको छ । सँगसँगै ठाकुरद्वारा एउटा नया“ पर्यटकीय गन्तव्यका रूपमा विकसित हुँदैछ । यसले वरिपरिका बासिन्दाको जीवनस्तरमा के–कस्तो फेरबदल ल्याएको होला ? कुनै अर्थ–राजनीतिक शोधकर्ताले यो ठाउँलाई आधार बनाए कैयौं प्रश्नको जवाफ पाउन सक्छ ।

यहाँ भेटिएका तीन उत्साही पात्रको चर्चा गरौं, जो आफ्नो जीवनको प्रतिकूल परिस्थिति बदलेर संघर्षबाट सफलता हासिल गर्दैछन् । र, अरूका लागि पनि उदाहरणीय बनेका छन् । थोरै पूँजीमा केही गर्न सकिन्छ भनी स्थापित गरेका छन् ।

अम्बासाबाट जब ठाकुरद्वारा मन्दिरतिर जाने बाटो सोझिन्छ, त्यही बाटोछेउ एउटा प्रतीक्षालय छ, जहाँ भेटिए, सिलाइ मेशीन राखेर बसेका खर्के दमाई (७२) । सिलाउन व्यस्त उनी भन्दैथिए, “यहाँ समय बितेको थाहै हुँदैन ।”

‘यो बुढेसकालमा किन दुःख गर्दै हुनुहुन्छ ?’ भनी कसैले सोधे उनी प्रतिप्रश्न गर्छन्, “घरमा कमाउने अरू पनि छन् । मैले पनि सक्दासम्म काम गर्दा के बिग्रिन्छ ?” छरछिमेकीले पनि उनले राम्रै कमाइ गर्ने र उनी कसैको भरमा नपर्ने बताए ।

ठाकुरद्वारा मन्दिर र बर्दिया राष्ट्रिय निकुञ्ज मुख्यालय बीचको सडक, जहाँ दुवैतर्फ पसलहरूको लहर थपिंदो छ । त्यही लहरमा खरले छाएको जीर्ण अवस्थाको एउटा पसल छ– ‘न्यू ढकाल नास्ता पसल ।’ भारतमा झण्डै दुई दशक रोजगारी गरेपछि महादेवप्रसाद ढकाल (५२) लाई बोध भएछ, “जति दुःख गर्नुपर्छ, आफ्नै देशमा गर्छु !” पुख्र्यौली घर दैलेख बताउने महादेवको यो अरूको जस्तै सामान्य खाजा पसल हो, तर यहाँ पस्ने जो–कोही नयाँ ग्राहकले नयाँ अनुभव गर्छ ।

यहाँ काठका पाटीमा केही भनाइहरू लेखेर झुण्ड्याइएको छ– “जीवन एक भाडाको ट्रक हो, जुनसुकै समस्या लादिए पनि सहनुपर्छ”, “स–साना खर्चको ख्याल राख, पिंधको प्वाँलले ठूलो जहाज पनि डुबाउँछ”, “भाग्य हाम्रो बैंक हो भने मिहिनेत चेक हो ।”

यस्ता सारगर्भित उक्ति पसलमा झुण्ड्याउनुको कारणबारे उनी भन्छन्, “यो पढ्नेले एकपटक मलाई यसबारे सोध्छन् । कुरा गर्ने बाटो हुन्छ, अनि एउटा आत्मीय सम्बन्ध बन्न जान्छ । यहाँ आउनेहरू भलै ठूला होटलमा बसून्, तर बिहान–बेलुका चिया खान मकहाँ आउँछन् । यो मेरो व्यापारको तरिका पनि हो ।” यति भनेर उनले मुक्त हाँसोका साथ आफ्नो जुँगामा ताउ दिन्छन् ।

ढकालको पसलबाट केही कदम अगाडि ‘अर्जुन किराना पसल र अर्जुन नास्ता पसल’ लेखेको साइनबोर्ड देखिन्छ । नाम सोध्दा यसका सञ्चालक भन्छन्, “मेरो काम नै मेरो चिनारी हो, मेरो पसल नै मेरो परिचय हो ।”

उमेर ३६ वर्ष बताउने यी युवा पूर्वकमैया रहेछन् । यिनले थोरै जग्गा भाडामा लिएर पसल थापेका हुन् । जहाँ किराना पसलसँगै सानो होटल पनि चलाएका छन् । यही आम्दानीबाट उनले एक छोरा र एक छोरीलाई निजी स्कूलमा पढाउँछन् । उनको विश्वास र बुझइ छ, “छोराछोरीसँग शिक्षा र सीप भयो भने आत्मनिर्भर बन्लान् !”

कर्मशील यी तीन पात्र ठाकुरबाबा नगरपालिका क्षेत्रका लागि मात्रै होइन, अन्यत्रका लागि समेत उदाहरण हुन् । काम गर्ने र सफल हुनेहरूको कथा भुईं सतहमा पनि प्रशस्त भेटिन्छन् ।

यिनीहरूले तिनै काम गरिराखेका छन्, जो अरूले पनि गरिराखेका छन् । तर, यिनीहरूको काम गर्ने तरिका फरक छ । यिनीहरू नयाँ तरिकाले सोच्छन्, आफूमाथि विश्वास गर्छन् र आफ्नो काममा केही सिर्जनशीलता पनि प्रयोग गर्छन् । त्यसैले उनीहरू आफ्नो काममा सफल पनि छन् ।

प्रतिकृया दिनुहोस