क्लोजले भने– एमबापेले विश्वकपको मेरो कीर्तिमान तोड्न सक्छन
लन्डन (एजेन्सी)– विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने जर्मनी स्ट्राइकर मिरोस्लाभ क्लोजले आफ्नो कीर्तिमान फ्रान्सका युवा स्ट्राइकर केलियन एमबापेले तोड्न सक्ने बताएका छन्। १९ वर्षीय एमबापेले रुसमा सम्पन्न २१ औं संस्करणको विश्वकपमा ४ गोल गरेका थिए। फाइनलमा क्रोएसियालाई ४–२ गोलले पराजित गर्दा उनले एउटा महत्वपूर्ण गोल पनि गरेका थिए।
त्यो गोलसँगै उनी ब्राजिलका महान खेलाडी पेलेपछि कम उमेरमा फाइनलमा गोल गर्ने खेलाडी बनेका थिए। क्लोजले ‘पेरिसयन’ पत्रिकालाई दिएको अन्तर्वार्तामा भनेका छन्, ‘केलियनको उमेरलाई हेर्दा उनले ४ वटा विश्वकप खेल्ने देखिन्छ। र, जुन प्रकारले उनले पहिलो विश्वकप खेले, त्यो हेर्दा उनले मेरो कीर्तिमानको बराबरी वा मलाई उछिन्ने सम्भावना छ।’
क्लोजले २००२ देखि २०१४ सम्म चार वटा विश्वकपमा १६ गोल गरेका थिए। उनले एमबापेको विश्वकपमा सर्वाधिक गोल गर्ने कीर्तिमानका लागि फ्रान्सले पनि राम्रो खेल्नु पर्ने बताए। उनले आगामी ‘बेलन डि ओर’ को सूचीमा उनी पनि समावेश हुने दावी गर्दै भने, ‘तर उनलाई आफ्नै देशका आन्टन ग्रिजमन, क्रोएसियाका लुका मोड्रिच र पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले कडा टक्कर दिनेछन्।’