चिनियाँ राष्ट्रपति चिनफिङ दक्षिण अफ्रिकामा
प्रिटोरिया (एएफपी)– दक्षिण अफ्रिका र चीनको कूटनीतिक सम्बन्ध स्थापना भएको २० औं बार्षिकोत्समा आयोजना हुन लागेको विशेष समारोहमा भाग लिन चिनियाँ राष्ट्रपति सि चिनफिङ सोमबार नै दक्षिण अफ्रिका पुगेका छन्।
गत फेब्रुअरीमा दोस्रो कार्यकाल सम्हालेपछि राष्ट्रपति चिनफिङको यो पहिलो दक्षिण अफ्रिकी भ्रमण हो। चिनिया राष्ट्रपतिसँगको भेटमा द्धिपक्षीय हितका विभिन्न एजेण्डामा छलफल हुने दक्षिण अफ्रिकी विदेश मन्त्रालयले जनाएकाे छ।
अफ्रिका पुगेपछि छोटो प्रतिक्रिया दिने क्रममा चिनफिङले वितेको २० वर्षमा चीन र दक्षिण अफ्रिकाबीचको सम्बन्ध प्रगाढ भएको बताए।
‘२० वर्षअघि शुरु भएको सम्बन्ध यहाँसम्म आइपुग्दा राजनीतिक साझेदारीका रुपमा विकास भएको छ। भविष्यमा थप मजबुत हुनेछ,’ चिनफिङले भने, ‘पारस्परिक विश्वास, जनताबीचको सम्बन्ध र अन्य धेरै क्षेत्रमा विश्वासिलो वातावरण निर्माण भएको छ।’
दक्षिण अफ्रिका चीनको सबैभन्दा ठूलो अफ्रिकी व्यापारिक साझेदार हो। दक्षिण अफ्रिकाको पनि सबैभन्दा ठूलो व्यापारिक साझेदार चीन नै हो।
राष्ट्रपति चिनफिङ यसपछि जुलाई २५ देखि २७ सम्म दक्षिण अफ्रिकाको जोहानेसबर्गमा आयोजना हुने ब्रिक्स सम्मेलनमा पनि सहभागी हुने छन्। सम्मेलनमा उनले विभिन्न देशका राष्ट्रपतिसँग द्धिपक्षीय भेटवार्ता गर्ने छन्।